सम्पादकीय

चीन-भारत युद्ध र मानववाद

२१ औँ शताब्दीको युद्ध प्रविधिको युद्ध हुने र त्यसले ‘जनधन’ भन्दा अन्य धनको क्षति हुने, प्राकृतिक र सामरिक महत्वका वायु, जल, थल र अन्तरिक्षमाथिको नियन्त्रणबाट त्यस्ता युद्ध निर्देशित हुने अड्कलबाजी या बहस सुन्न सकिन्छ, अन्तर्राष्ट्रिय मामिला र भोलिको विश्वको चर्चा गर्नेहरुबीच।

सीमा जोडिएका मुलुकहरुबीच सीमा विवाद सामान्य विषय हुन्। ती विवादको समाधान प्रयास शक्तिशाली र ठूला मुलुकहरुबीच हुँदा उनीहरुका प्रस्तुतीका शैली उस्तै हुन्छन्, तर शक्ति र आकारमा अन्तर भएका मुलुकहरुबीचको प्रस्तुति एकदम फरक। अववाद हुन्छन् त्यहाँ पनि। चीन र नेपालबीच सन् १९६१ मा सहज र सौहाद्रपूर्ण तरिकाले सीमा सहमति बन्नुको कारण त्यही थियो। त्यहाँ उच्चतम तहमा दृढ इच्छा शक्तिको प्रभाव सहजै देख्न सकिन्थ्यो।

सीमा विवाद ‘भावनात्मक’, स्वीकार्य राष्ट्रवाद तथा अन्ध राष्ट्रवादको कारण बन्न सक्छ। र, त्यसको शान्तिपूर्ण समाधान नखोजिँदा या त्यस्ता प्रयत्न अपर्याप्त र प्रभावकारी नहुँदा त्यसले द्वन्द्व, भिडन्त र युद्धको पनि स्वरुप लिन सक्छन्।

शक्ति र संवादमा विश्वासका साथ मानव सभ्यतालाई अँगाल्दै देखिएको दानवीय शैली र हिंसालाई त्यहीँ पूर्ण विराम दिएमा विश्वमा मानववाद विजयी हुनेछ।भारत र चीन दुवै विजयी हुनेछन्।

लद्धाखको गलवान क्षेत्रमा सीमा विवादलाई लिएर विभत्स घटना घटेको छ। कुनै आधुनिक हतियारको प्रयोगबिना कमसेकम २० भारतीय सेनाको ज्यान गएको छ भने चीनतर्फ पनि त्यस्ता हताहतीको अड्कलबाजी गरिएको छ। नेपाल चीन र भारतबीचको मित्र राष्ट्र हो। शान्ति प्रक्रिया मार्फत नै सबै आपसी समस्याको समाधान हुनुपर्छ, खोजिनुपर्छ भन्ने उसको परम्परागत,सामाजिक र विदेश नीतिको मर्म हो।

भारत र चीन दुवै प्राचीन सभ्यता बोकेका अणुशक्ति सम्पन्न राष्ट्रहरु हुन् र अन्तर्राष्ट्रिय जगतमा उनीहरुबीच ‍सहयोग र प्रतिस्पर्धा मिश्रित भूमिका रहिआएको छ। तर मंगलबार भएको विभत्स भिडन्तले र त्यसको शैलीले सभ्यता र मानवीय पक्ष पराजित भएको, क्रुरताले भावी कूटनीतिको स्वरुप लिएको देख्न सकिन्छ, यदि यस्ता शैलीले निरन्तरता पाए भने। २१ औँ शताब्दीको विश्व या क्षेत्रीय नेतृत्व युद्धमा वर्वरता या सफलता प्रदर्शन गरेकै आधारमा कसैले लिन सक्दैन। प्राचीन सभ्यता, पूर्वीय दर्शन, युद्ध मानसिकता र साध्यको अन्त्य– यी महान सम्भावना बोकेका मुलुकहरुले प्रदर्शन गर्न सकेनन् भने नेपालले आफ्ना छिमेकीहरुको विशालताप्रति गर्व गर्ने ठाउँ रहने छैन।

भारत र चीनबीच युद्धको र त्यसको परिणामको तिक्तताको अनुभव छ। युद्धका १५ वर्षपछिका प्रयास अहिलेको चरणसम्म आइपुग्दा साझा विकास, समृद्धि, आपसी व्यापारमा वृद्धिमात्र हैन, विश्वको स्थायित्वमा सहयोगी बन्ने प्रचुर सम्भाव्यता साथ नेतृत्व क्षमता उनीहरुले देखाए पनि दुई मुलुकबीचको तनाव र मंगलबारको घटनाले विश्वसमुदायका ती आशाहरुमा क्रुरता र सम्भावित युद्ध विभिषिका ग्रहण लागेका छन्। शक्ति र संवादमा विश्वासका साथ मानव सभ्यतालाई अँगाल्दै देखिएको दानवीय शैली र हिंसालाई त्यहीँ पूर्ण विराम दिएमा विश्वमा मानववाद विजयी हुनेछ।भारत र चीन दुवै विजयी हुनेछन्।

असार ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्