एक बच्चासहित प्रदेश १ मा ४ जनामा कोभिड १९ संक्रमण

मोरङ-प्रदेश १ मा ३ महिला र १ बच्चामा गरि ४ जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार झापाको हल्दिबारीमा २ जना महिला र विराटनगर महानगरपालिकामा आमा र बच्चामा गरि कुल ४ जनामा कोरोनाभाइरस कोभिड १९ पीसीआर परिक्षणमा पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार विराटनगर १० तिनटोलियाकी ३६ वर्षीया एक महिलामा पीसीरआर रिपोर्ट पोजेटिभ नतिजा आएको हो। करिब चारदिन अगाडि भारतको पश्चिमबंगालस्थित सिलगुढीबाट उनी विराटनगरस्थित घर आएकी हुन्।

उनी घर आए देखिनै होम क्वारेन्टाइनमा रहेकी महानगरले जनाएको छ। सिलगुढीस्थित माइतीबाट उनी आएको जानकारीसंगै वडा कार्यालयले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको वडाध्यक्ष माधवराज वाग्ले जानकारी दिए।

करिब ६ महिना अघि सुत्केरी गराउन उनको परिवार माइती गएको र लकडाउनका क्रममा उतै बसेको वडाध्यक्ष वाग्लेले प्रस्टाए। लकडाउन खुलेसंगै महानगर र वडाको कागजी प्रक्रिया पुराएर उनलाई घरमै रहने गरि आउन अनुमति दिइएको वाग्लेले बताए।

आमाको पीसीआर पोजेटिभ आएपछि आजै बच्चाको समेत पीसीआर परिक्षण गरिएको थियो। जसमा बच्चाको समेत पीसीआर रिपोर्ट पोजेटिभ आएको महानगरका एक कर्मचारीले बताए।

महानगरका अनुसार आमासंगै उनको श्रीमान र बच्चाको पीसीआर परिक्षण गरिएको थियो। श्रीमानको रिपोर्ट नेगेटिभ आएपनि हाल उनलाई सुरक्षित रुपमा महानगरले बनाएको क्वारेन्टाइनमा राखिएको छ। उनको दोस्रो पीसीआर परिक्षण गर्ने तयारी भइरहेको महानगरले जनाएको छ।

यससंगै वडा नम्बर १० मा कोभिड १९ को पहिलो केस आएको बताएका वडाध्यक्ष वाग्लेले हालसम्म संकास्पद करिब ६० जनाको पीसीआर र आरडिटी परिक्षण गरिसकिएको र सबैको रिपोर्ट नेगेटिभ आएको बताए।

असार ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्