अमेरिकाको प्रमुख आप्रवासी कार्यक्रम डाका अन्त्य नहुने, ड्रिमर्सको पक्षमा सर्वोच्चको फैसला

अमेरिकाको सर्वोच्च अदालतले युवा आप्रवासीलाई डिपोर्टेशनबाट रोक्ने प्रमुख आप्रवासी कार्यक्रम अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको विपक्षमा फैसला गरेको छ ।

डिफेर्ड एक्सन फर चाल्डहुड अराइभल्स (डाका) अर्थात सानै उमेरमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकामा रहने सहयोग गर्ने व्यवस्थाको पक्षमा तल्लो अदालतले फैसला गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशले पनि डाका कार्यक्रम अन्त्य गर्नु गैरकानूनी हुने फैसला गरेका हुन् । राष्ट्रपति ट्रम्प आप्रवासीप्रति अति कठोर देखिँदै आएका छन् । तर आप्रवासी विरोधी उनका अधिकांश निर्णयहरुलाई अदालतले चुनौति दिएको छ ।

डाकाले सानै उमेरमा कागजात बिना अमेरिका प्रवेश गरेकाहरु स्वप्नजीवि अर्थात ड्रिमर्सहरुको सुरक्षा गर्छ । अमेरिकामा हाल सानै उमेरमा बिना कागजात अमेरिका प्रवेश गरेका ६ लाख ५० हजार भन्दा बढी आप्रवासी रहेका छन् ।

बाराक ओबामा राष्ट्रपति हुँदाको डाका कार्यक्रम अन्त्य गर्ने प्रयासमा ट्रम्प प्रशासन सन् २०१७ देखि थियो ।

बिहीबार सर्वोच्च अदालतले तल्लो अदालतको फैसला सही रहेको पक्षमा आफ्नो निर्णय सुनाएको हो । सर्वोच्चका ९ मध्ये पाँच न्यायाधीश डाका कार्यक्रमको पक्षमा उभिएपछि ट्रम्पको प्रयास असफल भएको हो ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका उमेदवार जो बाइडेनले सर्वोच्चको फैसलापछि ट्वीट गरी अमेरिका स्वप्नजीविहरुको पनि रहेको बताएका छन् ।

असार ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्