ट्रम्पले ओक्लोहोमामा गर्न पाउने भए चुनावी र्याली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्यालीका लागि अदालतको तर्फबाट स्वीकृति पाएका छन्। ट्रम्पले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी र्याली गर्दै छन् ।
कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सो र्याली रोक्न माग गरी मुद्दा दायर भएको थियो । त्यसमा सुनुवाई गर्दै ओक्लोहोमाको सर्वोच्च अदालतले र्यालीका लागि हरियो झण्डा देखाएको हो ।
कोरोना भाइरसको संक्रमण ओक्लोहोमामा बढ्दो क्रममा रहेको छ । तर आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः निर्वाचित हुने चाहमा रहेका ट्रम्पले मार्च यता पहिलोपटक र्याली गर्न लागेका हुन् ।
ट्रम्पले आफ्नो चुनावी र्याली संक्रमण बढ्दो क्रममा रहेको आफ्नो क्षेत्रमा आयोजना गरेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।
ट्रम्पको चुनावी अभियानले र्यालीमा सहभागी हुनका लागि १० लाख भन्दा बढी मानिसले टिकटका लागि अनुरोध गरेको बताएको छ । ब्यांक अफ ओक्लोहोमा सेन्टरमा चुनावी सभा हुने छ । त्यहाँको क्षमता १९ हजार मानिस अट्ने रहेको छ ।