हाम्रो आवाज पनि सुन्नुहोस्- १०

कक्षामै पढाइ हुँदा ट्युसन टिचर चाहिन्थ्यो, अनलाइन र टेलिभिजनबाट पढाइ हुँदा हामीले कसरी बुझ्ने?

म आमाको गर्भबाट ७ महिनामा जन्मेको ‘प्रि- माच्युर बेबी’ हुँ। ९ महिना भन्दा अगाडि जन्मिएको शिशुलाई ‘प्रि-माच्युर बेबि’ भनिन्छ। यस्तो अवस्थामा शरीरको धेरै अंगहरु बिकास भईसकेको हुँदैन। शायद यसको असर मेरो कानमा पर्याे र मेरो सुनाई शक्तिमा कमजोर भएको होला।म २ वर्षको हुँदा मेरो कान कमजोर भएको पत्ता लागेको भए पनि मलाई ७-८ वर्ष हुदाँ सम्म आफ्नो मान्छे, घर छिमेकी, नातेदारसँग कुराकानी गर्दा खासै समस्या थिएन किनकि बच्चा भएर कुनै पनि मतलब भएन। लगभग ५० मिटर परसम्मको आवाज सुन्थेँ। एक तल्ला माथि पूजा कोठा र भान्सा कोठाको आवाज सुन्थेँ।

घर परिवारले मैले अरु बच्चा जस्तो राम्रोसँग सुन्न नसकेको भएर ४ वर्ष पुरा भए पछि मात्र स्कूलमा पढ्न पठाउनु भयो। त्यस बेला म अलि अलि बोल्थे। म सुन्नेहरु पढ्ने मूलधारको स्कूलमा पढ्न थालेको थिएँ। तर, बैशाख महिनामा, म अलि नसुन्ने भएको थाहा पाएर एक जना छिमेकीले मेरो घरमा आएर ‘कान नसुन्नेहरु पढ्ने एउटा स्कूल नक्सालमा छ, त्यस स्कूलमा भर्ना गरिदिनु होला’ भनेर सुझाव दिनु भयो। तर मेरो हजुरबुवा र हजुरआमाले कहिले पनि उक्त बहिरा स्कूलमा मलाई राख्ने कुरामा सहमति दिनु भएन।

मेरो बाबा कामको सिलसिलामा धेरै जसो बाहिर नै बस्नु हुन्थ्यो। जब बाबा बिदामा घर आउनु भयो, त्यस बेला मलाई नक्सालको बहिरा स्कुलमा भर्ना गरिदिनु भयो। म त्यो स्कूल जान थाले। जब म विद्यार्थीहरुसँग बोल्न खोज्दा कोहि पनि बोलेनन् मेरो मुख अध्याँरो भयो। अनि मैले बाबा र ममीलाई साथिहरू किन मसँग नबोलेको?  म यहाँ नपढ्ने भनेर जिद्दी गरेँ। अनि मात्र मैले थाहा पाँए कि मलाई थाहा नदिई बाबा ममीले मलाई बहिरा स्कूलमा भर्ना गर्नु भएको रहेछ भनेर। स्कूल भर्ना गर्ने बेलामा बाबा ममीले ‘छोरीले सबै अक्षर चिनिसकि र वाक्य पनि बिस्तार पढ्न सक्छे त्यसैले उसलाई कक्षा १ मा भर्ना गरिदिनु’ भनेर अनुरोध गर्नु भयो तर शिक्षक तथा शिक्षिकाहरुले मान्नु भएन। किनकि मलाई सांकेंतिक भाषा आउँदैन थियो। उक्त बहिरा स्कूलमा सांकेतिक भाषाबाट नै पढ्न पर्ने अनिवार्य थियो। त्यस पछि मलाई १ वर्षको सांकेतिक भाषा सिक्ने कोर्समा भर्ना गरिदिनु भयो।

तर मेरो हजुरबुवा हजुर आमाले बारम्बार मलाई बहिरा स्कूलमा नराख अन्य स्कूलमा राखिदेउ भन्नु हुन्थ्यो। तै पनि मैले त्यही बहिरा स्कूलमा ५ वर्षसम्म पढेँ। बहिरा स्कूलमा सांकेतिक भाषामा ध्यान दिएकोले मेरो सुनाईमा ध्यान गएन। जसको असरले मेरो बोल्ने क्षमता तथा सुनेर बुझ्ने क्षमता पनि कमजोर हुदैँ गयो। किनकि उक्त बहिरा स्कूलमा बोलिमा भन्दा सांकेतिक भाषाबाट मात्र सञ्चार हुने गर्दथ्यो र बोलेर सञ्चार गर्ने अवसरको कमि थियो। केहि गरेर बोल्न परेमा बोल्न सक्ने शिक्षक खोज्न जान पर्थ्यो तर मेरो उमेर सानै भएकोले होला वा कोहि पनि नबोल्ने भएकोले होला बोल्ने आँट पनि आउँदैन थियो। त्यसैले उक्त बहिरा स्कूल जान थालेपछि छिट्टै नै म बोल्न पनि लगभग छोडिसकेको थिए।

मेरो सुनेर बुझ्ने क्षमतामा पनि असर पर्दै गयो। मलाई केहि आवाज सुने पनि नसुनेको जस्तो भान हुन थाल्यो। बहिरास्कूलमा पढेकोले धेरै कुरा राम्रोसँग सुन्न र बुझ्न मैले सकिन। बाबाको साथिले मलाई ‘हेरिङ एड’ लगाउन र सुन्नेहरू पढ्ने स्कूलमा राखिदिन सल्लाह दिनुभयो। त्यसपछि मेरो परिवारले मलाई बहिरा स्कूल छुटाएर कक्षा ५ देखि सुन्नेहरु पढ्ने स्कूलमा राखिदिनु भयो। सुरुमा स्कूलमा पढ्दा केहि समयसम्म ‘हेयरिङ एड’ नलगाई पढ्न गएँ। १२ वर्षको उमेर देखि ‘हेयरिङ एड’ लगाउन शुरु गरे। ‘हेयरिङ एड’ लगाएपछि मैले धेरै आवाजहरु सुन्न थाले, बोल्न मन लाग्न थाल्यो, रमाईलो लाग्दथ्यो अनि जे बोल्न आउँछ, त्यहि बोल्थे। मेरो वाक्य शुध्द भने हुँदैनथ्यो। जे पायो त्यै आवाज तथा शब्दहरु पनि निकाल्थे बेला बेलामा। कुराकानी गर्दा शब्द शब्द मात्र बोल्थेँ। यसरी ‘हेयरिङ एड’ लगाएको पहिलो २ वर्षसम्म ममीसँग कसरी बोल्ने र केकस्तो आवाज निकाल्ने भन्ने कुरा सिकें। त्यहि स्कूलबाट मैले एसएलसी पास गरेँ।

अझ बोली शुध्दताको लागि कक्षा ७ मा पढ्दा ६ महिनासम्म हप्तामा २/३ पटक स्पिच थेरापी गर्न जान्थेँ। लगातार थेरापी गर्दा निकै गाह्रो पनि हुन्थ्यो दिक्क पनि लाग्थ्यो। त्यस पछि भने बाबा कामको शिलशिलामा बाहिर जानु भयाे। घरदेखि थेरापी गर्ने ठाउँसम्म जान आउन गोदावरीबाट गाह्रो भएकोले महिनामा ३-४ पटक मात्र स्पिच थेरापी गर्न जान्थेँ।

अझ बोलि शुध्दताको लागि कक्षा ७ मा पढ्दा ६ महिनासम्म हप्तामा २/३ पटक स्पिच थेरापी गर्न जान्थे। लगातार थेरापि गर्दा निकै गाह्रो पनि हुन्थ्यो दिक्क पनि लाग्थ्यो। त्यस पछि भने बाबा कामको शिलशिलामा बाहिर जानु भयाे। घर देखि थेरापी गर्ने ठाउँसम्म जान आउन गोदावरीबाट गाह्रो भएकोले महिनामा ३-४ पटक मात्र स्पिच थेरापि गर्न जान्थे। तर यो पनि ४-५ महिना सम्म मात्र गए। मेरो बोलि सुधारको लागि मेरो परिवार अनि म आफैले धेरै नै मेहनत गर्याै। कक्षा ८ देखि पढाईको बोझ पनि थपिएको स्पिच थेरापीलाई निरन्तरता दिन सकिन।

त्यसपछि फेरी ममा अर्को बिडम्बना थपियो। म १५ वर्ष हुदाँ निमोनिया भयो जसको असर फेरी मेरो सुनाईमा पर्न गयो र सुन्न सक्ने क्षमता झन् झन् कमजोर हुँदैँ गयो। पहिला जस्तो शान्त कोठामा फोनमा कुरा गर्न पनि नसक्ने भयो। फोन रिंङ्गटोन, घण्टी, कुकरको सिटि जस्ता आवाजहरु पनि राम्रोसँग सुन्न नसक्ने भए।

शुरूका ५ वर्षसम्म बहिरा स्कूलमा सांकेतिक भाषाका सिमित शब्दहरूमा पढेकोले मलाई पढाई तथा लेखाइ भाषामा समस्या भएको थियो। तर ममीले मलाई नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो होस् भनेर २ दर्जन जति बालकथाका किताबहरू किनेर पढ्न दिनु भयो। मलाई पढ्नलाई धेरै नै हौसला दिनु हुन्थ्यो। जसले गर्दा म अहिले आफै शुध्द लेख्न पढ्न सक्छु। मैले सामान्य विद्यालयमा पढ्दा पूर्ण रुपमा बुझ्न नसकेता पनि बहिरा स्कूलमा पढ्दाको बेला भन्दा भाषामा शुध्दता र पढाईमा भने औसत नै कायम गर्न सकेको थिए। तर स्कूलमा शिक्षकहरुमा सुनाई क्षमतामा कमि भएका विद्यार्थीलाई पढाउने ज्ञानको कमी, कक्षामा धेरै विद्यार्थी भएकोले मलाई ध्यान पुर्याउन नसक्ने अवस्था थियाे। पढाई पनि अलि गाह्रो हुँदै गईरहेकाे थियाे।  मेरो पढाई अझ राम्रो होस् भनेर ममीले मलाई कक्षा ८ मा पढ्दा स्कूलमा ट्युसन राखिदिनु भएको थियो।तर मलाई स्कूलमा ट्युसन पढ्न भने गाह्रो भयो।

त्यसैले ममीले घरमै सबै विषयको लागि ट्युसन राखिदिनु भयो। त्यसपछि पनि लगातार ९ र १० कक्षा पढ्दा घरमा ‘साइन्स’ विषयमा ट्युसन राखिदिनु भयो। सरले आवश्यक पर्दा कहिले काहिँ अरु विषयमा पनि मद्दत गर्नु हुन्थ्यो। स्कूल जिवन हुदाँ साथीहरुले मलाई धेरै सहयोग गरेका थिए। खास धेरै समस्या थिएन्। त्यसपछि पनि मलाई ‍‌‌कक्षा १२ मा पनि ४-५ महिनासम्म ‘बेजिनेस म्याथ’ को ट्युसन राखिदिनु भयो। यसरी मेरो पढाईको निम्ति मेरो ममिको सहयोगको कारणले मेरो पढाइमा राम्रो हुदैँ गयो। अहिले पनि बेला बेलामा गार्हो परेको बेलामा घर परिवार र साथीहरुबाट सहयोग गरेका छन् । अहिले म मास्टर पढ्दै छु। मलाई अब भने म आफ्नो भविष्यको लागि केहि गर्न सक्छु कि भन्ने आशा पलाएको छ।

अहिले कोरोना भाइरसले गर्दा शिक्षण संस्थाहरूपूर्ण रुपमा पठन पाठन बन्द भएको अवस्था छ। यो बन्दाबन्दी लम्बिएको अवस्थामा सरकार द्वारा बैकल्पिक पध्दति (अनलाईन, टेलिभिजन तथा रेडियो) बाट पठनपाठन गराउन सुरू गरेको छ। यसरी अनलाईन तथा टिभि रेडियोबाट पढाई हुँदा सुन्ने विद्यार्थीहरुलाई त खासै समस्या नहोला, तर हामि जस्ता सुस्त श्रवणहरूलाई सुन्न र बुझ्न निकै समस्या हुन्छ। यस्तो बेलामा स्कूल कलेजहरूले क्याप्सनिङको सुबिधा दिएर हामिहरूको शिक्षामा पहुँच गरादिन अनुरोध गर्दछु।

(लेखिका श्रुति संस्थामा आवध्द हुनुहुन्छ।)

 

असार ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्