राष्ट्रियसभामा प्रधानमन्त्री ओलीका दाबी : भ्रम र यथार्थ

बिहीबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७७ माथि सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले असार ४ गते कोरोना नियन्त्रण, अमेरिकी सहयोग, बजेट विनियोजन लगायतका विषयमा आफ्ना भनाइ राखेका थिए ।

कोरोना भाइरसका कारण फैलिएको महामारी नियन्त्रणको विषयमा बोल्ने क्रममा प्रधानमन्त्रीले केही अपुष्ट, अप्रमाणित र भ्रामक दाबी पेश गरेका थिए । जेठ २८ गते प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने क्रममा उनले बेसारको सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताएका थिए जसको व्यापक आलोचना भएको थियो । तर त्यसको एक साता पछि असार ४ गते उनले उस्तैखाले दाबी गरेका थिए ।

प्रधानमन्त्री ओलीले गरेका दाबीमध्ये तीन दाबीमाथि साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

पहिलो दाबी:

“डिप्रेसनको एउटा, अनेक लक्षणहरु हुन्छन् डिप्रेसनका । त्यो लक्षण मध्ये एउटा लक्षण हो, मरुँ मरुँ लाग्ने । एउटा डिप्रेसनको लक्षण हुन्छ, मरुँ मरुँ लाग्ने । त्यो डिप्रेसनको लक्षणबाट मानिसहरुले आत्महत्या गर्छन् । सद्दे मान्छेले आत्महत्या गर्न सक्दैन । जबसम्म मान्छे डिप्रेसनमा गाको छैन या सद्दे छ, ज्यानको माया लाग्छ ।”

प्रधानमन्त्री ओलीले कोरोनाले मानिसहरुमा त्रास फैलिएको र उनीहरुको मानसिक स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको सन्दर्भमा टिप्पणी गर्ने क्रममा डिप्रेसन (मानसिक चिन्ता) को बारेमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१२ मा सार्वजनिक गरेको डिप्रेसन : अ ग्लोबल पब्लिक हेल्थ कन्सर्न शीर्षक रिपोर्टमा डिप्रेसनका अनेक लक्षण हुने र यसको पराकाष्ठाका रुपमा बिरामीले आत्महत्यासम्म गर्नसक्ने उल्लेख छ । यसैगरी एन्जाइटि एण्ड डिप्रेसन एसोसियसन अफ अमेरिका नामक संस्थाले प्रकाशित गरेको ‘डिप्रेसन’ नामक रिपोर्टमा यसका अनेक लक्षणमध्ये एक मृत्यु वा आत्महत्याको विचार वा आत्महत्या प्रयास हो भनी उल्लेख गरिएको छ । यी रिपोर्टका आधारमा हेर्दा प्रधानमन्त्रीको यो दाबीको पहिलो अंश सही देखिन्छ ।

डब्लुएचओले प्रकाशित गरको “प्रिभेन्टिङ सुसाइड : अ ग्लोबल इम्परेटिभ” शीर्षक रिपोर्टमा आत्महत्याको कारण एउटैमात्र नहुने उल्लेख छ । “कुनै व्यक्तिले आत्महत्या गर्नुको एउटै मात्र कारण हुँदैन । आत्महत्यासम्बन्धी ब्यबहार एक जटिल घटना हो । त्यो धेरै अन्तर्निहित कारणबाट प्रभावित हुन्छ जस्तै व्यक्तिगत, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक, जैविक र वातावरणीय,”  रिपोर्टमा भनिएको छ । यसैगरी अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले प्रकाशित गरेको “अन्डर्स्ट्यान्डिङ् सुसाइड” नामक रिपोर्टले पनि आत्महत्याको एक मात्र कारक नहुने उल्लेख गर्दै अघिल्लो आत्महत्या प्रयास, डिप्रेसन वा अन्य मानसिक रोगको इतिहास, रक्सी वा लागुपदार्थको दुर्व्यसन, आत्महत्या वा हिंसाको पारिवारिक इतिहास, शारीरिक बिरामी, एक्लो महसुस हुनुजस्ता जोखिमपूर्ण घटनाका कारण मानिस आत्महत्यातर्फ उन्मुख हुने उल्लेख गरेको छ । यी विभिन्न कारणले आत्महत्या निम्त्याउन सक्ने तथ्यले ‘सद्दे मान्छेले आत्महत्या गर्न सक्दैन, जबसम्म मान्छे डिप्रेसनमा गाको छैन या सद्दे छ, ज्यानको माया लाग्छ’ भन्ने प्रधानमन्त्रीको दाबी गलत ठहर्छ ।

दोस्रो दाबी:

“बेसार पनि कोही कोही अवस्थामा खानु हुँदैन । रक्त अल्पता भएको छ भने बेसार खानु हुँदैन । जण्डिस लागेको छ भने बेसार खानु हुँदैन । गर्भवती महिलाले बेसार खानु हुँदैन, सुत्केरी महिलाले बेसार खानु हुँदैन । यदि आइरनको कमी, ब्लडको कमी छ भने खानु हुँदैन । यस्ता अनेक स्थिति हुन्छन् जस्मा बेसार खानु हुँदैन । अप्रेसन गर्नुछ भनेदेखि ४८ घण्टा अगाडिदेखि, त्योभन्दा अझ ७२ घण्टा वा त्यो भन्दा २-४ दिन अगाडिदेखि बेसार अप्रेसन गर्न जाने मान्छेले खानु हुँदैन किनभने त्यसले रगतलाई पात्ल्याउने (पातलो पार्ने) काम गर्छ ।”

नेपालीको खानपानको अभिन्न अंग बनेको बेसारको फाइदाका बारेमा यसको बढी प्रयोग गरिने नेपाल, भारतजस्ता मुलुकमा पर्याप्त चर्चा भएको छ । घरेलु औषधिका रुपमा सदियौदेखि यसको प्रयोग हुँदै आएको छ । तर यसले केकस्ता रोग निको पार्न मद्दत गर्छ र यसका फाइदा के छन् भन्ने बारेमा वैज्ञानिक परीक्षण भई निर्क्योल भइसकेको छैन ।

केही साना अध्ययन र जनावरहरुमा गरिएको अनुसन्धानबाट बेसारको फाइदा बेफाइदाबारे सीमित जानकारी उपलब्ध भएकाले यसबारे थप अनुसन्धान हुनुपर्नेमा वैज्ञानिकहरुमा मतैक्य छ । उच्च कोलेस्ट्रोल, हे फिभर, डिप्रेसन, महिनावारीसम्बन्धी समस्या र ‘ह्याङ् ओभर’ को रोकथाममा बेसार प्रभावकारी हुने दाबी गरिएको न्यु योर्क टाइम्समा गत वर्ष प्रकाशित लेखमा जनाइएको छ ।

यसैगरी पाेषणविद डा. अरुणा उप्रेतीले बेसारमा रोगसँग लड्ने क्षमता भएको, उमेरसँगै हुने समस्या कम गराउने तत्व भएको,  मस्तिष्क र मुटुका मांसपेशी सक्रिय पार्ने तत्व रहेको र यसको प्रयोगले हड्डी कमजोर हुने समस्याबाट पनि बच्न सकिने उल्लेख गरेकी छन् ।

जण्डिसको उपचारमा बेसार प्रभावकारी हुने भएकोले बिरामीहरुको खानामा यस्लाई समावेश गर्न सुझाव दिइएको तथ्य  सन् २००७ मा प्रकाशित “टर्मरिक: द जिनस कर्कमा” नामक पुस्तकको १२ अध्यायमा छ । आर रेमादेवी, ई सुरेन्द्रन र ताकियात्सु किमुराले लेखेको ‘टर्मरिक इन् ट्रेडिसनल मेडिसिन’ शीर्षक उक्त लेखमा पौराणिक स्रोतहरु उद्धृत गर्दै यसको प्रयोगबाट जण्डिस भगाउन सकिने उल्लेख गरिएको छ । कलेजो राेग विशेषज्ञ डा सुधांशु केसीले ट्विटरमा  प्रधानमन्त्रीको भनाइमाथि टिप्पणी गर्दै लेखेका छन्, ‘यसरी गलत सुचना जनतालाई दिन हुन्न प्रधानमन्त्रीज्यू । कुन किताबमा लेखेको छ जण्डिसमा बेसार खान हुन्न भनेर ?’ जण्डिसको उपचारमा बेसार प्रयोग गर्न उपयुक्त हुने माथिका तथ्यका कारण जण्डिस लागेको छ भने बेसार खानु हुँदैन भन्ने प्रधानमन्त्रीको दाबी गलत ठहर्छ ।

अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनमा सन् २०१९ मा प्रकाशित एक शाेधमूलक लेखका अनुसार एक ६६ वर्षिय चिकित्सकले दैनिक छ वटा ५३८ मिलिग्रामको बेसार ‘सप्लिमेन्ट’ प्रयोग गरेका थिए । त्यस अवधिमा उनको हेमोग्लोबिनका मात्रा १२ भन्दा माथि नलागेको र आइरनको मात्रा कम भएको पाइएको तथ्य उल्लेख गरिएको छ । यो एक सानो अनुसन्धान मात्र रहेकोले यसमा थप अनुसन्धान हुनुपर्ने विचार सोहि लेखका लेखकहरुले व्यक्त गरेका छन् ।

यसैगरी अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अर्काे शाेधमूलक लेखका अनुसार मुसामा गरिएको अध्ययन (मुसालाई बेसारमा पाइने कर्क्युमिन नामक तत्व ६ महिना दिइएको थियो) ले तन्तुमा आइरनको मात्रा ५०% ले कम भएको र रगतमा आइरनको कमी पाइएको थियो । डा. अरुणा उप्रेतीले पनि ‘कतिपय वैज्ञानिकले रगत पातलो पार्ने एस्पिरिन, वारफारिन जस्ता औषधि आदिको प्रयोगमा कर्क्युमिन (बेसारमा पाइने तत्व) कम खाने सल्लाह पनि दिन्छन्’ भनी उल्लेख गरेकी छन् । केही घटना र अनुसन्धानले बेसारका कारण रक्तअल्पता र आइरनको कमी हुने देखाएता पनि शोधकर्ताहरूले ती अध्ययन वैज्ञानिक रुपमा सही र विश्वसनीय नहुनसक्ने उल्लेख गर्दै थप अनुसन्धान हुनु जरुरी भएको बताएका छन् ।

यूनिभर्सिटि अफ वासिङ्टन मेडिकल सेन्टरले प्रकाशित गरेकाे ‘मेडिकेसन्स टु अभोइड बिफोर सर्जरी’ शीर्षक रिपोर्टमा बेसारलाई रगत बग्ने (ब्लिडिङ्) समस्या निम्त्याउन सक्ने प्राकृतिक पूरकहरू र जडिबुटीहरू मध्येमा राखी कुनै पनि शल्यक्रिया हुनुभन्दा ७ दिन अघिदेखि नखाने सल्लाह दिइएको छ । यसैगरी स्ट्यान्फर्ड यूनिभर्सिटि स्कुल अफ मेडिसिनले पनि ‘मेडिकेसन्स एण्ड हब्र्स द्याट अफेक्ट ब्लिडिङ्’ नामक रिपोर्टमा सोही तथ्य उल्लेख गरेको छ । यसरी हेर्दा प्रधानमन्त्रीकाे शल्यक्रिया अघि बेसार खानु हुँदैन भन्ने दाबी सही ठहर्छ तर बेसारकाे प्ररयाेगका कारण रगत पातलाे हुने भएकाले शल्यक्रिया अघि बेसार सेवन गर्नु हुन्न भन्ने दाबी चाहिँ गलत सावित हुन्छ ।

गर्भवती महिलाले बेसार खानु हुँदैन भन्ने ओलीको दाबी आंशिक रुपमा सही रहेको पाइएको छ । अमेरिकन प्रिग्नेन्सि एसोसियसनले प्रकाशित गरेको ‘हब्स एण्ड प्रिग्नेन्सि’ शीर्षक लेखमा अदुवा, लसुन, बेसारजस्ता जडिबुटी धेरै प्रयोग गरियो भने हानि गर्नसक्छ भने खानामा प्रयोग गर्ने मात्रा प्रयोग गर्दा सुरक्षित हुने उल्लेख गरिएको छ ।

तेस्रो दाबी:

“यो २० जनाको जुन निधन भएको छ, त्यसमध्ये कोरोनाकै कारणले निधन भएको भन्दा पनि यो २० जनाको संख्या हामीले किन भन्नुपर्‍यो भने, जुनसुकै कारणले निधन भएको भए पनि यदि कोरोना संक्रमित भेटियो भने, पाइयो भने त्यस्तो अवस्थामा कोरोनाबाटै निधन भएको भनेर मान्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको त्यो निर्देश छ । त्यो मापदण्ड बनाएको छ, विश्व स्वास्थ्य संगठनले ।”

विश्व स्वास्थ्य संगठनले अप्रिल १६, २०२० मा कोभिड-१९ का कारण मृत्यु भएकाहरुको प्रमाणिकरण गर्नका लागि तयार पारेको अन्तर्राष्ट्रिय निर्देशिकामा कोभिड-१९ बाट संक्रमितको मृत्युलाई कोभिड-१९ कारण मृत्यु भएको भनी प्रमाणित गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन । उक्त निर्देशिकाका अनुसार कोभिड-१९ बाट संक्रमितको मृत्युमा अन्य कारण प्रष्ट छन् भने त्यसलाई नै मृत्युको कारण मान्नुपर्छ । कोभिड-१९ सँग असम्बन्धित जस्तै ट्रमा अर्थात् मानसिक आघात मृत्युको प्रष्ट कारणका रुपमा देखिएमा त्यसलाई कोभिड-१९ बाट मृत्यु भएको नमानिने विश्व स्वास्थ्य संगठनको निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरी मृत्यु हुँदा मृतकमा भएका सबै रोग उल्लेख गर्नुपर्छ भन्ने निर्देशिकामा जनाइएको छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकामा कोभिड-१९ बाट संक्रमित व्यक्ति अन्य रोग वा दुर्घटनाबाट समेत मर्नसक्ने हुनाले त्यस्तो कारणले भएको मृत्युलाई कोभिड-१९ का कारण मृत्यु भएको भन्न नमिल्ने र प्रमाणित गर्न नमिल्ने उल्लेख छ । यसमा दुईवटा उदाहरण दिइएको छ: सवारी दुर्घटना र म्योकार्डीएल इन्फार्क्सन (हृदयघात) ।

यसर्थ जुनसुकै रोगबाट मृत्यु भएपनि कोभिड-१९ देखिएमा कोभिड-१९ बाटै मृत्यु  भएको भन्नुपर्छ भन्ने प्रधानमन्त्री ओलीको दाबी गलत रहेको छ ।

(यो सामग्री साउथ एसिया चेकबाट साभार गरिएको हो ।)

असार ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्