तपाईँमा पनि छ इन्टरनेटको कुलत? कोभिड १९ ले झन् बढाउँदै छ समस्या

विभिन्न देशहरु पछिल्लो ८५ दिनभन्दा लामो समयदेखि कोभिड १९ का कारण लकडाउनमा छन्। लकडाउन र सामाजिक दुरीको बेलामा व्यक्तिहरुले घरमै बसेर अफिसको काम इन्टरनेटको सहयोगले गरिरहेका छन्। यसले समान्य भन्दा बढी समय इन्टरनेटको प्रयोग भइरहेको वेलामा स्मार्टफोन, आइप्याड, ल्यापटप तथा टेलिभिजनमा युट्युब, टिकटक, कार्टुन, गेम, फेसवुक लगायत सामाजिक सञ्जालमा हेरेर समय बिताइरहेका छौं।

अझै विश्वको ४०% भन्दा कममा मात्र इन्टरनेट पहुँच छ। अमेरिकी तथा यूरोपेली देशमा जनसंख्याको ८ दशमलब २ प्रतिशतसम्ममा यो समस्या देखिएको विभिन्न अध्ययनले देखाएका छन् । ८८ % अमेरिकीहरू इन्टरनेट प्रयोगकर्ता छन्। १८ देखि २४ वर्ष उमेर समुहका युवा वयस्कले बाथरूममा सामाजिक मिडिया प्रयोग गर्दछ ।
विश्वका प्रत्येक सयमा ६ जना अर्थात् १८ करोड २० लाख मानिस ग्रसित रहेको हालैको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ हङकङका शोधकर्ता सिसेलिया चेंग र एन्जेल यी लाम ली ले यसअघिका इन्टरनेटको लत सम्बन्धिका प्राज्ञिक अध्ययनको ८० वटा अध्ययनपत्रहरु छनोट गरी अध्ययन गरेका थिए जसमा विश्वका विभिन्न ७ क्षेत्रका ३१ देशका मानिसहरुको इन्टरनेटको लतका बारेमा शोध गरिएको थियो । उनीहरुका अनुसार मध्यपूर्व एसिया विश्वमा सबैभन्दा धेरै इन्टरनेट अम्मलीको क्षेत्र बनेको छ । त्यसक्रममा अध्ययनमा समावेश गरिएका देशहरुमा इन्टरनेट अम्मलीको संख्या कुल जनसंख्याको औषतमा ६ प्रतिशत रहेको पाइयो । सबैभन्दा उच्च इन्टरनेट लत भएको क्षेत्र मध्यपूर्व रहेको छ । त्यहाँ इन्टरनेट लतको दर १०.९ प्रतिशत रहेको छ, त्यसमा इरान, इजरायल, लेवनान र टर्की समावेश छन् । इन्टरनेट अम्मल उच्च रहेको दोश्रो क्षेत्र उत्तर अमेरिका परेको छ । त्यहाँ इन्टरनेट अम्मलीको संख्या ८ प्रतिशत छ । समग्र एसियामा इन्टरनेट एडिक्सन ७.१ प्रतिशत रहेको छ । दक्षिण तथा पूर्वी युरोपमा ६.१ प्रतिशत, ओसेनियामा ४.३ प्रतिशत र उत्तरी तथा पश्चिमी युरोपमा २.६ प्रतिशत रहेको छ । यसैबीच फ्रन्ट रेन्ज नामक संस्थाले गरेको अध्ययन अनुसार विश्वका ५३ प्रतिशत मोबाइल फोन प्रयोगकर्ताहरु आफ्नो मोबाइल चलाउन नपाउँदा निकै नै निरास बन्ने गरेको पाइएको छ ।

मरहटा र साथीहरुले (२०१७) र प्रमानिक र साथीहरुले (२०१२) गरेको दुई वटा अध्ययनले नेपालमा मेडिकलका विद्यार्थीहरुमा गरेका ४०% देखि ५०.८% सम्म सामान्य, ४०.७ % देखि ४२% सम्म अलिकति समस्या १.३% देखि ३.७% सम्म इन्टरनेटको लतसमस्या भएको पाइयो । झा र साथीहरुले(२०१६) गरेको अध्ययनले ९८% फेसवुक प्रयोग गर्ने अत्यधिक इन्टरनेटको लतले २१% मा आखामा सुक्कापनको समस्या, १९% मा निन्द्रामा समस्या र १६% मा टाउको दुख्ने समस्या देखियो ।

जब इन्टरनेटको प्रयोग हप्तामा ४० देखि ४२ घण्टा भन्दा बढी प्रयोग गरिन्छ र त्यसको असरले हाम्रो दैनिक जीवन, सम्बन्ध वा पढाइमा नकारात्मक असर गर्न थाल्छ, त्यसवेला हामी इन्टरनेटको लतमा फस्यौँ भनेर बुझ्नुपर्छ । इन्टरनेटसम्बन्धी लतमा फसेका व्यक्तिले इन्टरनेट चलाउन नपाउँदा अक्सर नकारात्मक भावना अनुभव गर्छन् । यसलाई विभिन्न नामले सम्बोधन गरिन्छ, जस्तै– कम्प्युटर लत, बाध्यकारी इन्टरनेट प्रयोग, समस्यापूर्ण इन्टरनेट प्रयोग, इन्टरनेट निर्भरता आदि । इन्टरनेट दुर्व्यसनको कुनै एक मात्र परिभाषा छैन । यद्यपि, इन्टरनेटको दुर्व्यसन भएका मानिसलाई उनीहरूका अनलाइन गतिविधिका कारण व्यक्तिगत र व्यावसायिक दायित्व पूरा गर्न समस्या हुन्छ । परिवार र साथीहरूसँगको सम्बन्धमा तनाव उत्पन्न हुने गर्छ ।

कसरी थाहा पाउने समस्या ? यस्ता व्यवहार देखिए इन्टरनेटको लत

-तपाईं इन्टरनेटमा धेरै समय भिडियो गेम खेल्नमा बिताउनु हुन्छ ?
-के तपाईं बाध्यात्मक हिसाबले अनलाइन सपिङ्ग गर्नु हुन्छ ?
-के तपाईं आफ्नो फेसबुकमा आउने सूचनाहरू घरिघरि हेर्नबाट आफुलाई रोक्न सक्नु हुन्न ?
-के तपाईंको यस्तो किसिमको बानीले दैनिक जीवन–काम, सम्बन्ध अथवा पढाईमा असर त परिरहेको छैन ?
-इन्टरनेट चलाउन धेरै समय खर्चिनका लागि तपाइँले अन्य कामलाई त्याग्ने वा बेवास्ता गर्ने त गर्नुहुन्न ?
-अफलाइन हुँदा पनि अनलाइन हुनेबारे सोँचिरहनुहुन्छ ?
-तपाइँले अनलाइनमा धेरै समय बिताएको भनि कतै अरुले तपाइँको आलोचना गर्न सुरु गरेका त छैनन् ?
-अनलाइनमा आउन तपाउँदा कतै तनाव तथा नमज्जा अनुभुति त हुँदैन ? अनलाइनमा आउँदा बित्तिकै त्यस्तो तनाव स्वात्तै हराइहाल्ने हुन्छ की ?
-के तपाइँ इन्टरनेट चलाएरै राति अबेरसम्म जागै बस्नुहुन्छ ?
-इन्टरनेटमा एकक्षण पनि जोडिन नपाउँदा निरास त बन्नुहुन्न ?

यदि तपाईंको उत्तर ‘हो’ भने तपाईंलाई इन्टरनेटको लत छ । यदि यस्तो हो भने पक्का हुनुहोस,तपाइँमा इन्टरनेटको लत लागिसकेको छ ।

बालबालिकामा उदासीनता, तनाव, रिस, स्वनियन्त्रण कम हुनु, अत्यन्त जोखिम लिने,सानैमा शारीरिक सम्बन्ध, डराउने तथा, सामाजिक परिस्थितिमा समायोजनमा समस्याजस्ता उत्पन्न हुन सक्छ ।

बालबालिका बढी जोखिममा

लकडाउनको वेलामा बालबालिकाहरुको विद्यालय बन्द भएर घरमै बसिरहेको वेलामा स्मार्टफोन, आइप्याड, ल्यपटप तथा टेलिभिजनमा युट्युब, टिकटक, कार्टुन, गेम, फेसवुक लगायत सामाजिक सञ्जालमा हेरेर समय बिताइरहेका छन् । लकडाउनको वेलामा वालवालिकाको स्क्रीनमा वस्ने समय विद्ध सँगै इन्टरनेटको लतको जोखिम बढेको छ । शहरी क्षेत्रमा इन्टरनेटको उपलव्धताले बालबालिकाहरु विद्यालयले दिएको गृहकार्य गर्ने र पढ्नेभन्दा मोबाइल, ल्यापटप र कम्प्युटरमा इन्टरनेट चलाउने गर्छन् समस्या बढिरहेको छ । अहिले साइकडेस्क फाउन्डेसनमा मनोविमर्शको लागी १० वर्षदेखि १७/१८ वर्षसम्मका किशोरकिशोरीका अभिवावकले इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकामा पढाइप्रतिको वितृष्णा भएको,एकोहोरो हुने बानी, निन्द्रा कम हुने, पढाइमा कमजोर हुने, आमाबाबुले बोलाउँदा नसुन्ने र झर्को मान्ने गरेको लगायतका समस्या लिएर आउने गरेका छन। त्यसै गरेर दश वर्षभन्दा साना उमेरका बालबालिकासमेत चाहेको समयमा इन्टरनेट नपाउँदा झिँजो मान्ने र झगडालु बन्ने गरेको अभिभावकले बताउने गरेका छन । इन्टरनेटको अत्यधिक प्रयोगकै कारणले बालबालिकामा साइबर अपराध र लागुऔषध प्रयोगकर्ताको सम्भावना पनि अधिक रहेको छ । बालबालिकामा पार्ने असर जस्तै उदासिनता, तनाव, रिस, स्व नियन्त्रण कम हुनु, अत्यन्त जोखिम लिने,सानैमा शारीरिक सम्बन्ध, डराउने तथा, सामाजिक परिस्थितिमा समायोजनमा समस्या उत्पन्न हुन सक्छ ।

इन्टरनेटको लतका लक्षण

मानसिक/भावनात्मक लक्षणमा उदासीनता (डिप्रेसन) झुटो बोल्नु वा बेइमानी गर्नु, आफू दोषी महसुस हुनु,चिन्ता लिनु र नर्भस हुनु, कम्प्युटर प्रयोग गर्दा खुसीको अनुभूति, कुनै कामलाई प्राथमिकता दिन वा तालिका राख्न असमर्थता, एक्लोपनको भावना आउनु वा एक्लिनु, समयको अनुभूति नहुनु, कामको बेवास्ता, मुड परिवर्तन, डर, काम वा गतिविधिमा ढिलाइ, तनाव तथा बेचैनी हुनु, निद्रामा समस्या, थकान महसुस हुनु, मदिराको लत लाग्नु वा यसको दुरुपयोग गर्नु, कुनै कुरामा ध्यान केन्द्रित गर्न समस्या हुनु वा नयाँ रचनात्मक काम गर्न गाह्रो पर्नु ।

शारीरिक लक्षणहरुमा पीठको दुखाइ हुनु, टाउको दुख्नु, घाँटी र गर्दन दुख्नु, आँखा सुक्खा हुनु र दृष्टिसम्बन्धी अन्य समस्यासमेत बढ्नु, तौल घट्नु, कार्पल टनेल सिन्ड्रोम हुनु, टाउको दुख्नु, अनिद्रा,खान मन नहुने वा अत्यधिक खाना खाने,व्यक्तिगत सरसफाइमा ध्यान नदिनु।

समाधान र रोकथाम

केही मनोविद् वा पेसेवरहरूले इन्टरनेट लतलाई बाध्यकारी विकारको रूपमा वर्गीकृत गर्ने गर्छन् । अन्यले भने यसलाई आवेग नियन्त्रण विकारसँग तुलना गरेका छन् । त्यसकारण इन्टरनेट दुव्र्यसनको कुनै एउटा खास उपचार पद्धति छैन । इन्टरनेट लत समस्याको उपचारको उद्देश्य यसलाई पूर्ण रूपमा मेटाउनु भन्ने होइन । बरु, यसको सट्टामा इन्टरनेट प्रयोगको सीमा र सन्तुलन सिर्जना गर्नु हो । यदि, कोही मानिस एक निश्चित खेलको एपको प्रयोग वा साइटको लतमा केन्द्रित देखिन्छ भने त्यो रोक्न सम्भव हुन सक्छ । इन्टरनेट दुव्र्यसनको उपचारका लागि व्यायाम पनि प्रभावकारी माध्यम हो । यसबाहेक समस्याको अवस्था हेरी आवश्यकताअनुसार कग्निटिभ बिहेवियर थेरापीजस्ता मनोवैज्ञानिक उपचार विधिको प्रयोगसमेत गर्नुपर्ने हुन्छ ।

(मनोविज्ञानमा विद्यावारिधि गरेका डा. ठगुन्ना पिके क्याम्पसमा अध्यापन गर्छन्। उनी द स्कुल अफ साइकलोजी नेपालका अध्यक्ष पनि हुन्।)

असार ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्