ट्रम्पको चुनावी सभामा अपेक्षाकृत सहभागी आएनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनका लागि लागु गरिएको लकडाउन खुकुलो भएपछि पहिलो चुनावी सभा गरेका छन् ।

तर ट्रम्पका लागि शनिबार बेलुका (नेपाली समय अनुसार आइतबार बिहान) ओक्लोहोमामा भएको ¥यालीपछिको सो चुनावी सभा त्यति उत्साहप्रद देखिएन ।

१९ हजार क्षमताको टल्सा स्थित ब्यांक अफ ओक्लोहोमा सेन्टरमा हुने सभाका लागि १० लाख भन्दा बढीले टिकटका लागि आवेदन दिएको दाबी गरिए पनि सहभागिता भने अपेक्षाकृत भन्दा न्यून देखिएको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

सभा भएको ब्यांक अफ ओक्लोहोमा सेन्टरका अधिकांश सिटहरु खाली नै देखिएका थिए । सहभागी अधिक हुन सक्ने आंकलन गरी ट्रम्पले सेन्टर बाहिर खुला स्थानमा सम्बोधन गर्ने व्यवस्था गरिएको थियो । तर सहभागिता कम भएपछि सो योजना कार्यान्वयनमा आउन सकेन ।

कोरोना भाइरसको महामारी कायमै रहेका बेला सार्वजनिक स्थानमा हजारौँ मानिसको सहभागितामा चुनावी सभा गर्न लागिएको प्रति विभिन्न क्षेत्रबाट चासो र चिन्ता व्यक्त भएको थियो ।

यस्ता सभाबाट संक्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य विज्ञ र स्थानीय अधिकारीले चासो व्यक्त गरेका थिए । सभा विरुद्ध अदालतमा मुद्द पनि परेको थियो ।

रिपब्लिकनको वर्चश्व रहेको ओक्लोहोमामा भएको चुनावी सभामा ट्म्पले झण्डै दुई घण्टा लामो सम्बोधन गरे । सो क्रममा उनले विभिन्न विषयमा कुरा गरे । उनले सम्बोधनको क्रममा कोभिड–१९ को परीक्षण कम गर्न आग्रह गरे ।

परीक्षण धेरै हुँदा संक्रमणका केसहरु धेरै थाहा भएकाले परीक्षण कम गर्न ट्रम्पले आग्रह गरेका हुन् । उनको सो भनाईलाई पछि उनको टिमले व्यंग्यको रुपमा परिभाषित गरेको छ ।

ट्रम्पको सभामा सहभागी हुन आएकाहरु भने ट्रम्पलाई जोगाउनका लागि आफ्नो स्वास्थ्यको पर्वाह नै नगरेको देखिएको थियो । स्थानीय अधिकारीका अनुसार सभा सुरु हुनु भन्दा केही पूर्व मात्रै आयोजक टिमका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर अधिकांश सहभागीहरु ट्रम्प जस्तै मास्क नलगाइ सहभागी भएका थिए ।

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुने होडमा छन् । उनलाई डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चुनौति दिने छन् ।

असार ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्