भारत–चीन सीमा विवाद

वक्तव्य सच्याएपछि थप प्रश्नहरुको घेरामा मोदी

भारत–चीन सीमा विवादलाई लिएर गएको आइतबार भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीको टिप्पणीलाई लिएर आलोचना भइरहेको छ ।

कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले मोदीको टिप्पणमाथि प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीले सर्वदलीय बैठकमा किन भन्नु भयो कि चीनका कुनै पनि सेना भारतीय सीमा भित्र छैनन् या आएका छैनन् ? त्यसपछि प्रधानमन्त्री कार्यालयले उनको आधिकारिक बयानमा सो शब्द किन हटायो ? यदी भारतीय सीमामा कसैले प्रवेश गरेका थिएनन् भने २० सैनिकको मृत्यु कसरी भयो र ८५ सैनिक कसरी घाइते भए ? चिनियाँ सैनिकले हाम्रा १० सैनिकलाई कसरी बन्धक बनाए ?’

गएको शुक्रबार भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री भनेका थिए कि कोही पनि भारतीय क्षेत्रमा प्रवेश नगरेको र कुनै पनि पोस्ट कब्जा गरेको छैन । गएको सोमबार राति गलवान उपत्यकाको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सेनाबिच भिडन्त हुँदा २० भारतीय सैनिकको निधन भएको थियो ।

प्रधानमन्त्री मोदीले भारतले चीनसँग कूटनीतिक सम्पर्क गरी घटनाप्रति आपत्ति जनाएको बताएका थिए । यस्तै उनले देशको सीमा रक्षाका लागि आवश्यक कदम चाल्नका लागि छुट दिएको पनि मोदीले सर्वदलीय बैठकमा बताएका थिए ।

तर त्यसको भोलिपल्ट शनिबार प्रधानमन्त्री कार्यालय (पिएमओ) ले मोदीको टिप्पणीमा स्पष्टिकरण दिँदै चिनियाँ सैनिकले एलएसी नजिक निर्माण कार्य गरिरहेको र सो निर्माण रोक्न गरिएको आग्रह अस्वीकार गरेका कारण भिडन्त भएको बतायो ।

कांग्रेस नेता राहुल गान्धीले एउटा भिडियो ट्वीट गरेर चिनियाँ सैनिक एलएसीको भारत तर्फ रहेको र स्याटेलाइट तस्बिरले यसलाई पुष्टि गर्ने बताएका छन् ।

पैंगोंगमा चिनियाँ सैनिकले कब्जा गरेको उनले बताएका छन् । सो क्षेत्रलाई भारतले आफ्नो भन्दै आएको छ ।

कांग्रेस नेता पवन खेडाले प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीको वक्तव्य आयो कि हाम्रो क्षेत्रमा कोही पसेको छैन । त्यसको दुई घण्टापछि बयान आयो कि गलवान उपत्यका चीनको हो । प्रधानमन्त्री मोदी र चीनको एउटै भनाई कसरी आइरहेको छ ?’

राहुल गान्धी र कांग्रेसको आरोपमा भारतीय जनता पार्टीका नेताहरु चुप भने बसेका छैनन् । भाजपाका राष्ट्रिय प्रवक्ता जीभीएल नरसिम्हा रावले भनेका छन्, ‘विदेश मामिलाको सल्लाहकार समितिमा मसँगै राहुल गान्धी र शशि थरुर पनि छन् । तर उनीहरु चीनको झुठलाई फैलाइरहेका छन् र सीमा विवादलाई लिएर प्रोपोगाण्डा चलाइ रहेका छन् ।’

गलवान उपत्यका

भाजपाको आइटी सेलका प्रमुख अमित मालवीयले इन्डिया टूडेको एउटा लेख ट्वीट गर्दै चिनियाँ सेनासँग तीनपटक झडप भएको थियो, पहिलो झडपपछि भारतीय सैनिकले केही चिनियाँ सैनिकलाई पक्राउ गरेको उल्लेख गरेका छन् । तेस्रो पटकको भिडन्तको लागि भारतीय सैनिक एलएसीलाई पार गरेर चिनियाँ क्षेत्रमा गएको उनले दाबी गरेका छन् । तर उनको यो भनाई भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यसँग मेल खाँदैन ।

शनिबार विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको वक्तव्यमा भारतीय सेनाले कहिल्यै पनि एलएसीको उल्लंघन नगरेको उल्लेख थियो ।

असार ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्