अब कृषि विकास बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

काठमाडौँ-कृषि विकास बैंकले अनलाइनबाट खाता खोल्न सकिने जनाएको छ। बैंकले विज्ञप्ति जारी गर्दै शून्य मौज्दातमा अनलाइन खाता खोल्न सकिने जानकारी दिएको हो।

उक्त अनलाइन बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र सीईओ अनिलकुमार उपाध्यायले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

सरकारी बैंकहरूमा अनलाइनबाट खाता खोल्ने सुविधा दिने पहिलो कृषि विकास बैंक हो।

अनलाइनबाट खाता खोल्ने सुविधा ल्याएसँगै देश तथा विदेशभरका नेपालीहरुले शून्य मौज्दातमा खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजयकुमार रिमालले बैंकको वेबसाइटमा आवश्यक लिङ्क तयार गरी राखिएको हुँदा उक्त लिङ्कमा गई खाता खोल्न सकिने बताए ।

उनले बैंकले प्रयोग गरेको प्रविधि अन्य बैंकको तुलनामा अत्याधुनिक र सरल रहेको बताए।

पछिल्लो समयदेखि कृषि बैंकले आफ्नो सेवाहरु विस्तार गर्दै आइरहेको छ।

असार ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्