एकान्तवास

कोरोना कहरले देश ठप्प छ । दिन सुनसान, रात निस्तब्ध । मैले मेरा गुरु कवि दुर्गालाल श्रेष्ठको कविता सम्झेँ–

रात गयो
बिहान आउला,
के–के न गरुँ झैं कत्रो आस ।
तर खै?

न मिर्मिर, न चिर्बिर
न गतिमा गति छ
न जीवनमै जीवन
विरक्तिको बर्कोभित्र
चिहानी सन्नझैं
चुपचाप छ वातावरण ।

भतिजा पुण्यशीललाई फोन गरें । वीरगञ्जमा रहेछन् । काठमाडौंको अपार्टमेन्टमा कोच्चिएर घरै बस्नु पर्दा आमालाई गाह्रो होला भनेर बन्दाबन्दी शुरु हुनु भन्दा पहिले नै बीरगञ्ज आएको भन्थे । यहाँ फूल फुलेको भएपनि हेर्न पाइन्छ, घर भित्र र बाहिर आगँनमा भएपनि डुल्न पाइन्छ । अनि खुशी हुँदै भने,

यहाँ महामारीको त्रास छैन ।
यहाँ त टेलिभिजन पनि छैन ।
त्यसैले यहाँ
त्रासको महामारी पनि छैन ।।

हुन पनि हो कोभिड–१९ को डर छ, त्योसँग लड्न सूचना आवश्यक छ तर सत्य असत्य सूचनाहरु बग्रेल्ती छन् ।

यसो हेर्दा सबैजना डाक्टर भएझैं लाग्छ – कसैले नून पानीले कुल्ला गर्नु भन्छन्, कसैले अदुवा र मह खानु भन्छन् ।

अल्कोहल भएको स्यानिटाइजरले हात धुनु भन्ने सुनेर जीवाणु मारिहाल्छ भन्ने विश्वासमा भारतमा कतिले स्यानिटाइजर नै खाइदिएछन् । भाइरस त मरेन, बिचराहरु आफैं चाहिं बितेछन् । अमेरिका जस्तो शक्तिशाली देशका राष्ट्रपतिले समेत स्यानिटाइजरको प्रयोगबारे अवान्छित बक्तव्य दिएर बिबादमा परे । हामीलाई किन सर्बज्ञानी छु भन्ने भ्रम ?

प्लेगको महामारी पश्चात् सन् १९४८ मा फ्रान्सका प्रसिद्ध लेखक अल्बर्ट कामुले लेखेको पुस्तक “द प्लेग” को अंग्रेजी संस्करण पाएँ । छोरी सुचेतासँग रहेछ । पढेर मन भारी भयो । त्यसबाट सिकेका केही कुराहरु लेख्ने इच्छा लागेर लेख्दैछु ।

द प्लेग पुस्तक अल्जेरियाको सानो काल्पनिक शहर ओरानको कथा हो । पुस्तकमा त्यहाँको सामान्य जनजीवनको चर्चा छ, स–साना खुशीहरु, जनजीविका, क्याफेमा बसेर गरिएका रमाइला भेटघाट, छलफल, चर्चहरुमा गरिएका प्रार्थना सबै नियमित छन् । लाग्छ शहर शान्त छ, आफ्नै धूनमा मस्त हामीलाई केही हुँदैन भन्ने भ्रममा ।

तर मरेका केही मुसाहरु सडकमा, फोहरका डुङ्गुरमा देखा पर्न थालेपछि यस्तो शान्त शहर कसरी र कस्तो छटपटाहटमा पर्‍यो भन्ने कुराको वर्णन छ । यो त एउटा शहरको कथा हो, तर यसले प्लेगको महामारी भएका सबै ठाउँलाई प्रतिविम्वित गर्छ । साँच्चै भन्ने हो भने अहिलेको कोरोना संक्रमित शहरहरुको पनि प्रतिनिधित्व गर्छ भन्न सकिन्छ।

आज हामी ठूलो महामारी भोगिराखेका छौं, विश्व परिवेश फेरिएको छ, निदान र उपचारका प्रविधिमा धेरै विकास भएको छ, तैपनि महामारीलाई जित्न सकिएको छैन ।

पुस्तकको शुरुमै डेनियल डेफोको उद्धरण रहेछ –

It is as reasonable to represent one kind of imprisonment by another as it is to represent anything that really exists by that which exists not.

“इट् इज याज रिजनेबल् टु रिप्रेजेन्ट वन काइन्ड अफ इम्प्रिजनमेन्ट बाइ अनादर, याज इट इज टु रिप्रेजेन्ट एनि थिङ्ग द्याट् रियलि एग्जिस्टस् बाइ द्याट् व्हिच् एग्जिस्टस् नट्”

अर्थात् एक किसिमको झ्यालखानामा बन्द हुनुलाई अर्को खालको बन्दसँग दाज्न सकिन्छ होला, भएका कुराले नभएको कुराको प्रतिनिधित्व गरे झैं ।

बन्दाबन्दीको कठीन घडीमा हामी आफ्नो घर भित्र छौं, हामीलाई आधारभूत आवश्यकताका सबै कुराहरु छन् । दूध, तरकारी, पानी, औषधि, फलफूल किराना सामान सबै किन्न पाइएका छन् । घर नजीकै पसलहरु छन् – बिहानको समयमा खोल्छन् । तैपनि घरभित्र मात्र बसिरहन गाह्रो छ ।

यो बन्दाबन्दीले कारागारमा रहेका बन्दीको जीवनलाई प्रतिनिधित्व गर्नै सक्दैनन् । कारागारमा धेरैजना कोचिएर बस्नुपर्दाको पीडा, स्वजनबाट टाढा रहनुको पीडा, औषधि उपचार समयमा नपाउनुको पीडा, रुखो सुखो खाएर सास मात्रै भएपनि जोगाउनुको पीडा – उफ कति कहालि लाग्दो हो त्यो जीवन ।

पुष्पा बस्नेतलाई सम्झन्छु र श्रद्धाले नतमस्तक हुन्छु ।

अल्कोहल भएको स्यानिटाइजरले हात धुनु भन्ने सुनेर जीवाणु मारिहाल्छ भन्ने विश्वासमा भारतमा कतिले स्यानिटाइजर नै खाइदिएछन् । भाइरस त मरेन, बिचराहरु आफैं चाहिं बितेछन् । अमेरिका जस्तो शक्तिशाली देशका राष्ट्रपतिले समेत स्यानिटाइजरको प्रयोगबारे अवान्छित बक्तव्य दिएर बिबादमा परे । हामीलाई किन सर्बज्ञानी छु भन्ने भ्रम ?

बिभिन्न कारणले कारागारमा रहेका बाबुआमासँगै जेलभित्र रहन बाध्य भएका बालबालिकालाई उनले बाहिर ल्याएर बात्सल्य प्रदान गरेकी छन् । ती बालबालिका भोलि सक्षम र सबल नागरिक हुने छन् । २१ बर्षको कलिलो उमेरमा उनले आफै बालगृह सञ्चालन गर्ने निर्णय गर्नु र सयौं बालबालिकालाई उचित शिक्षा दिन सक्नु जस्तो प्रशंसनीय कार्य शायदै अरु केहि होला ।

भाव बिभोर हुँदै पुष्पा बस्नेत र उनका बालबालिकालाई सम्झें र मनमनै सोचें – कारागार भित्र रहेका ती बाबुआमाले कति सन्तोषको सास फेर्न पाए होलान् । उनीहरुका आ–आफ्ना अपराधको सजाय पाउने या प्रायश्चित गर्ने त गर्ने नै छन्, तर बालबालिका माथि उनीहरुको अपराधको छाँया नपर्नु ठूलो कुरा हो ।

राज्यले नै त्यस्ता बालबालिकाको लालन पालनको जिम्मा लिनु पर्ने हो, तर हाम्रो राज्यको प्राथमिकतामा यस्ता कुरा परेका छैनन् भन्दा दुःख लाग्छ अनि पुष्पा बस्नेत र उनीजस्ता युवाहरु प्रति आभार व्यक्त गर्न मनलाग्छ ।

“द प्लेग” को मुख्य सिकाइ– वातावरणीय स्वच्छता प्रमुख हो ।

मरेका मुसाहरुको शरीरमा भएका उपियाँहरुद्वारा मानिसमा प्लेग रोग सरेको थियो । अनि यो रोग पनि खोक्दा, हाछिऊँ गर्दा एकबाट अर्कोमा सर्छ । १४ औं शताब्दीमा यो महामारीले करोडौं मान्छेको ज्यान लियो । अहिले यो रोग सुसुप्त छ तर आजभन्दा ३ बर्ष अगाडी (सन् २०१७) पनि कङ्गो, अमेरिकाका केही गाउँहरु लगायतका ठाउँबाट ६ सय जनामा यो संक्रमणको जानकारी प्राप्त भएको रहेछ ।

अहिले यस रोगको प्रभावकारी औषधिहरु विकास भएकाले ठूलो प्रकोपको रुप लिन पाएको छैन, तर “ड्रग रेजिस्ट्यान्स” अर्थात् औषधिले काम नगर्ने अवस्था नआउला भन्न सकिन्न ।

हामीले औषधि पसलबाट जथाभावी “एन्टिबायोटिक” लगायतका औषधि किनेर खाइदिंदा औषधिको प्रभावकारिता घट्दै जान्छ । “रेजिस्ट्यान्ट स्ट्रेन” अर्थात “अटेरी जातका” जीवाणु विकास हुन्छन् र भविष्यमा सबैलाई पिर्न सक्छन् । हामीलाई सामान्यजस्तो लाग्ने झाडा पखाला, रुघा खोकी, पिसाबको संक्रमण आदिमा यस्ता अटेरी जातका जीवाणुलाई औषधिले नछोएर धेरै मानिसले अहिले नै पनि ज्यान गुमाइरहेका छन् ।

त्यसैले औषधिको जथाभावी प्रयोग नगरौं ।

प्रत्येक वर्ष डेन्गी, मलेरिया, रिकेटसिया जस्तो रोगले ठूलो धनजनको नोक्सानी हुन्छ । यी सबै दूषित वातावरणका कारण लामखुट्टे, उपियाँ लगायतका “भेक्टर” अर्थात् रोगका सम्बाहकबाट मानिसमा सर्ने रोग हुन् ।

स–सानो निहुँमा फोहर मैला व्यवस्थापनमा अवरोध सृजना गर्ने व्यक्तिहरुले यो कुरा बुझ्न जरुरी छ । आफूलाई या आफ्ना परिवारलाई परेपछि मात्रै चेत्ने हाम्रो सोच परिवर्तन हुनु अपरिहार्य छ ।

सरकारले फोहरमैला व्यवस्थापनको स्थायी समाधान खोज्नु अत्यावश्यक छ । रोगको प्रकोप भएपछि साधनश्रोतको दुरुपयोग गरेर छट्पटाउनुको कुनै अर्थ छैन । बेलैमा रोग नलाग्ने उपायहरु गर्नु बुद्धिमानी हुन्छ ।

द प्लेगको दोश्रो सिकाइ – मानिसको व्यवहार परिवर्तन गर्न गाह्रो छ, त्यसैले यसमा निरन्तरको प्रयास अनिवार्य छ । कोरोनाले पनि हामीलाई यही सिकाएको छ । कतिपय व्यक्तिहरु आदतले या डरले या “ओभर कन्फिडेन्स”ले रोगको गाम्भीर्य बुझेर पनि व्यवहार परिवर्तन गर्दैनन् । मानिसले बुझे होलान् भनेर सरकारको प्रयास काम हुनु हुँदैन ।

किराना पसल बन्द हुँदा या थोरै समयको लागि बिहान मात्र खुल्दा पनि थाहा नपाइने गरी कार्टुनमा प्याक गरेर या ‘होम डेलिभरी’ मार्फत रक्सीको खरीद बिक्री कायमै रहेको देखियो । मैले मनमनै सोचें- “ती घरका बालबालिकाले कस्तो संस्कार सिक्दै होलान् ?”

प्लेगको महामारी हुँदा स्वास्थ्यकर्मीले आफूलाई धेरै असहाय महसूस गरेका थिए । चारैतिर चित्कार, क्रन्दन, भोक, प्यास र छटपटाहट देखेर जस्तोसुकै कठोर मन पनि द्रवित हुँदो हो । स्वास्थ्यकर्मी त सम्बेनदनशील हुन्छ, अनि उसलाई आफैलाई सम्हाल्न गाह्रो हुन्छ । कोरोनाको प्रकोपमा पनि त्यस्तै भइरहेछ ।

ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । धेरैको मृत्यु भएको छ । चीनमा यो रोगका बारे सबैभन्दा पहिले सूचना दिने डाक्टर र अर्का अस्पताल निर्देशकको मृत्यु भयो । इटालीमा ६१ डाक्टर र अमेरिकामा २ जना नर्सको मृत्यु भएका खबरहरु छन् । अरु कति मरे होलान् – मैले धेरै समाचारहरु त सुन्दै सुन्दिन ।

मेरो मन पनि उद्वेलित हुन्छ – अनि लेख्ने हात नै चल्दैन । नेपालमा स्वास्थ्यकर्मीहरु त्रसित छन् । उनीहरुको सुरक्षाका उपायहरु अपर्याप्त छन् ।

फेब्रुअरी १ तारिखका दिन राइजिङ्ग नेपालमा पर्यटन मन्त्रीको भनाइ छापिएको थियो । वहाँ भन्दै हुनुहुन्थ्यो नेपालमा कोरोना भाइरसको खतरा छैन । यसबाटै थाहा हुन्थ्यो सरकारले कोभिड–१९ को संक्रमणको गम्भीरता बुझेर पर्याप्त तयारी गरेको थिएन ।

मार्च २ तारिख मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अघि प्रधानमन्त्रीले उप–प्रधानमन्त्री एवम् रक्षामन्त्रीको नेतृत्वमा उच्चस्तरिय समिति गठन गरिदिनु भएको सुनेर नेपाली जनता खुशी भएका थिए । समितिले फटाफट निर्णयहरु गर्छ र कोरोनाको रोकथाम तथा उपचारको यथोचित प्रबन्ध गर्छ भन्ने पढेर नेपाली जनता थप ढुक्क भए ।

सरकारले फटाफट तयारी गरेको पनि देखियो । बुहानबाट आएका बिद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखी, परिक्षण गराई, सकुशल घर फर्काउन सफल पनि भयो । जनताको आशा र विश्वास चुलिंदै थियो ।

चीनमा त प्रकोप फैलिएकै थियो । भारत लगायत मध्य पूर्वका देशहरुमा कोरोनाको प्रकोप बढ्दै गएको देखिएपछि सरकार कडा कदमहरु चाल्न बाध्य भयो । मार्च २४ तारिख देखि सरकारले बन्दाबन्दीको घोषणा गर्‍यो। क्रमिक रुपमा अन्तर्राष्ट्रिय, राष्ट्रिय उडानहरु, यातायातका साधनहरु, र व्यक्तिको आवत जावतमा रोक लाग्यो ।

अत्यावश्यक सेवा र खाद्यबस्तुको उपलब्धतामा सरकाले कडाइ गर्‍यो, कालोबजारी नियन्त्रण गरेका घटनाहरु सार्वजनिक भए र अपर्याप्त नै भएपनि राहतको प्याकेज घोषणा गरेर जनतालाई आशा र भरोसा दिने प्रयास पनि कायमै राख्यो ।

मैले पढेको द प्लेग भन्ने पुस्तकमा पनि महामारीको बेलामा संक्रमण रोक्न शहरलाई नै बन्दाबन्दी गरिएको घटना र खानेकुरा, रोजगारी, औषधिमूलोको अभावमा इटली, स्पेन र अमेरिकामा प्रकोपले लाखौं व्यक्ति प्रभावित भए, हजारौंको मृत्यु भयो । मानिसहरुको व्याकुलताका चरम गाथाहरु वर्णन गरिएका छन् ।

नेपाल सरकारका सकारात्मक प्रयासहरुलाई धेरैले प्रशंसा गरेका छन् । केही बरिष्ठ चिकित्सक लगायत समाजका अगुवाहरुले नकारात्मक कुरा गरिरहँदा मैले आफ्नो फेसबुकमा सरकारको आलोचना नगर्न र सकारात्मक कुरा गर्न आह्वान समेत गरें ।

एउटा कुराले मलाई साह्रै उद्विग्न तुल्याएको छ । स्वास्थकर्मीका लागि चाहिने सुरक्षाका सामानहरु जस्तै मास्क, सुरक्षा कवच, जुत्ता, टोपी, चश्मा आदि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टको ठूलो कमी देखियो । स्वास्थ्यकर्मीहरु डराए । सरकारले धेरै ढीलो गरेर मात्र खरीद प्रकृया शुरु गर्‍यो। तर प्रकृयागत रुपमा नगई रातारात धेरै महँगो मुल्यमा पिपिई खरिद भयो भनेर धेरै आलोचनाहरु भए लगतै सरकारले ठेका सम्झौता रद्द गर्‍यो। नेपाल एयरलाइन्सको जहाजबाट एक खेप सामान आएको थियो । यसलाई बिभिन्न प्रदेशमा पठाइएको छ, तर अति नै न्यून संख्यामा पठाइएका सामानहरुको व्यापक दुरुपयोग भएको छ ।

अनावश्यक रुपमा ती सामग्रीहरुको प्रयोग गरेर फेसबुकमा फोटो टाँस्ने होड्बाजी नै चलेजस्तो छ । नेपाल सरकारका मन्त्रीहरुले समेत अनावश्यक रुपमा एन–९५ मास्क प्रयोग गरेको देखियो ।

बिरामीको प्रत्यक्ष उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि अपर्याप्त रहेका यस्ता मास्क लगायत पिपिइहरुको दुरुपयोग नियन्त्रण गर्ने तर्फ सरकारले प्रभावकारी कदम चालेको देखिएन । महङ्गोमा किनेका यस्ता मास्क लगायतका साधनहरुको दुरुपयोग पनि नेपाली जनताले कर तिरेको रकमको दुरुपयोग हो भन्ने नबुझेको त पक्कै होइन होला ।

धेरै निजी अस्पतालहरुले आफ्ना सेवाहरु सुचारु राख्न नसकेको र कोरोनाको शंकामा अन्य धेरै बिरामीले दुःख पाएका समाचारले धेरैको मनमा समबेदनाका लहरहरु उठेका छन् । अस्पताल व्यवस्थापनलाई भन्दा स्वास्थ्यकर्मीलाई दोषी देख्दै स्वास्थ्य मन्त्रालयले सेवामा अवरोध पुर्‍याउने स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने सम्मको धम्की दियो ।

सरकार अझैपनि पिपिइ ल्याउने कुरामा सम्बेदनशील देखिएको छैन । ठेक्का सम्झौता रद्द गरी सेना मार्फत ल्याउने निर्णय गरेको सरकार आफ्नो निर्णयबाट पछि हट्दै सरकार – सरकार (जी टु जी) मोडलबाट सामान ल्याउने निस्कर्षमा पुगेको सुनियो, तर यो लेख्दासम्म (सरकारी निर्णयको सातौं दिन) सम्म सामानहरु आइपुगेको समाचार छैन ।

कोरोना महामारीले पार्न सक्ने अर्थिक असर र त्यसका समाजिक प्रभावहरुको अध्ययन गरी प्रभावित व्यक्तिहरु र समाजलाई माथि उकास्न सकारात्मक कदमहरु चालिनु पर्छ । जर्मनीका वित्त मन्त्रीले आत्महत्या गरेछन् । प्रारम्भिक अनुसन्धानले भनेको छ उनी कोरोनाले राष्ट्रिय अर्थतन्त्रमाथि पार्ने संकटबाट गहिरो चिन्तामा थिए रे ।

मन्त्रालयले किनेका कोभिड–१९ को संक्रमण पत्ता लगाउन चाहिने रिएजेन्टको गुणस्तर माथि प्रश्न उठेका छन् । चाइना सरकारले गुणस्तर प्रमाणित गरेका कम्पनीबाट खरीद गरेको नभई तिनीहरु संकास्पद कम्पनीबाट खरीद गरिएको आशंकामा तिब्बत नेपाल सीमामानै रोकिएका रहेछन्, तर तिनीहरु कसरी कसरी नेपाल भित्रिए ।

द प्लेग किताबको अर्को महत्वपूर्ण शिक्षा भनेको मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । धेरै व्यक्तिहरुमा डिप्रेशनको समस्या देखा पर्नेे र सुशुप्त रुपमा रहेका कडा खालका मानसिक रोगका समस्याहरु टड्कारो रुपमा देखा पर्ने अवस्था रहयो ।

कोभिड–१९ ले मानसिक स्वास्थ्यमा पारेको या पार्न सक्ने प्रभाव आगामी दिनहरुमा देखिदै जाने छन् । हामीले मनोसामाजिक परामर्शको क्षमता बढाउनु पर्छ । मृत्यु भएका व्यक्तिका परिवारले कस्तो अनुभब गर्दा होलान भनेर सोच्दा माधव प्रसाद घिमिरेले गौरी महाकाव्यमा लेख्नु भएका हरफहरु सम्झन्छु ।

“यी रोए पनि दुःख लाग्छ – यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन – यिनले बिर्से नि आमा भनी”

मृत्यु भएका परिवारजनको पीडा कसरी कम गर्न सकिन्छ, त्यस तर्फ हामीले सोच्नु पर्ने हुन्छ ।

कोरोना महामारीले पार्न सक्ने अर्थिक असर र त्यसका समाजिक प्रभावहरुको अध्ययन गरी प्रभावित व्यक्तिहरु र समाजलाई माथि उकास्न सकारात्मक कदमहरु चालिनु पर्छ । जर्मनीका वित्त मन्त्रीले आत्महत्या गरेछन् । प्रारम्भिक अनुसन्धानले भनेको छ उनी कोरोनाले राष्ट्रिय अर्थतन्त्रमाथि पार्ने संकटबाट गहिरो चिन्तामा थिए रे ।

प्लेग प्रकोपको त्यो बेला र अहिलेको समयमा उपलब्ध प्रविधि र क्षमतामा फरक छ – अहिलेका प्रविधिहरु धेरै बिकसित छन्, तैपनि हजारौंको संख्यामा मृत्युहरु भएका छन् । मानसिक स्वास्थ्यको कुरा गर्दा बिभेद खप्न नसकेर आत्महत्यासम्म गरेका घटनाहरु सार्वजनिक भएका छन् ।

भारतको हिमाचल प्रदेशका ३७ बर्षिय मुहम्मद दिलशादले आफ्नै घरमा आत्महत्या गरेछन् । दिलशादका भाइ गुलशन मुहम्मदले भने रे “दिलशादको गल्ती यति मात्रै थियो कि उनी हालै तबलीगी जमातबाट फर्केका एक युवाको सम्पर्कमा आएका थिए, तर गाउँलेहरुले उनी माथि मानवीय व्यवहार गरेनन् (देशसञ्चार चैत्र २४, २०७६)। पछि उनी कोरोना टेष्ट नेगेटिभ रहेछन् भन्ने बुझियो ।

कोरोना भाइरसको संक्रमणबाट चारैतिर त्रास र निरासा फैलिरहँदा केही सकारात्मक प्रयासले पनि मानिसहरुको मनोबल बढाइरहेका देखिए ।

नेपालमा होम डेलिभरी मार्फत खाद्यान्न आदि पुर्‍याइरहेका प्रशस्त उदाहरणहरु भेटिए । स्वयंसेवक युवाहरु समुदायमा असंक्रामक औषधिहरु छर्किएर हिंडिरहेका भेटिए । एम्बुलेन्स चालक हिंडेपछि बाग्लुङका चिकित्सकले आफ्नै गाडीमा राखेर संक्रमित महिलालाई अस्पताल पुर्‍याएको देखियो ।

दिलभुषण पाठकले घरैबाट युट्यूब र फेसबुक लाइभ मार्फत प्रत्येक दिन बेलुका ९ देखि १० बजेसम्म कोभिड–१९ सम्बन्धि बिशेष कार्यक्रम सञ्चालन गरी सही सूचना प्रवाह गर्ने र गलतफहमीहरु हटाउने काम गरे । फेसबुक लाईभ र अन्य माध्यमबाट धेरै कार्यक्रमहरु संचालन भएका छन् ।

बैंकिङ्गको धेरै काम डिजिटल प्रविधिले धानेको छ । इ–लर्निङका माध्यम्बाट धेरै युवाहरुले बालबालिकाका लागि कक्षा सञ्चालन गरेका छन् – पठनीय, श्रवणीय सामग्रीहरु तयार पारेका छन् ।

लेखक खगेन्द्र संग्रौला भन्छन् “मानिस गतिमा जीवनको उमङ्गबोध गर्छ र दृश्य एवम् कृयाकलापको बिबिधतामा ऊ रम्छ।”

एक बुबाले आफ्ना डाक्टरलाई खुला पत्र लेख्दै भने, “बिरामीलाई बचाउन सकियो भने तिमी भित्रको मानव बाँच्ने छ, उसप्रति कहिल्यै लापर्वाही र अपहेलना नगर्नु, अन्यथा ईश्वर जिउँदै मर्ने छ।” (देशसञ्चार चैत्र १८ गते)

कोभिड–१९ नभएको अवस्थामा पनि सद्गुरुले भन्नुभएको सम्झेँ, “मृत्यु अवश्यम्भावी छ । बिश्व भरिमा आज राति सुतेका दश लाख मानिस भोलि बिहान ब्यूझिँदैनन्।” प्रत्येक क्षण, प्रत्येक दिन, आफ्नो जीवनको अन्तिम दिन हो भन्ने जसरी भर्पूर जिउँ। ईश्वरलाई जिउँदै मर्न नदिउँ।

कोभिड–१९ का कारण मृत्यु भएका हजारौं व्यक्तिहरुका बारेमा सोच्दा सोच्दै कवि विप्लव प्रतीकको कविताका केहि हरफहरु सम्झें ।

तर, एक्कासि सेलाएँ भने म ?
हँ, अचानक म मरेँ भने, भरे राति नै ?
कहाँ बात मार्छन् होलान्
यी मभित्रका मेरा अन्तद्र्वन्द्व
आर्तनाद अनि अनुभवहरु ?
साँच्चै, म मरेँ भने, के हुन्छ होला, भरे राति नै ?

(डा. सुधा शर्माले लकडाउनका बीच लेख्नुभएका आलेख नियमित रुपमा देशसञ्चारमा प्रकाशित हुनेछन्।) 

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्