म्यानचेस्टर सिटीको प्रभावशाली जितले लिभरपुलको उपाधि यात्रा पछि धकेलियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० ले परजित गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो  उसका लागि फिल फोडिन र रियाद महरेजले दुई–दुई गोल गरे। यस्तै डेविड सिल्भाले एक गोल गरे ।

फोडिनले २२ र ६३ औँ तथा महरेजले ४३ र पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । सिल्भाले ५१ औँ मिनेटमा गोल गरे ।

म्यानचेस्टर सिटीको यो जितले लिभरपुलको चाँडै नै उपाधि पक्का गर्ने यात्रा केही पर धकेलिएको छ। यो जितका कारण आउँदो खेलमा विजयी हुँदैमा लिभरपुलले उपाधि पक्का गर्न नपाउने भएको छ।

दोस्रो स्थानको सिटीको जितपछि ३० खेलबाट ६३ अंक भएको छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट २० अंक बढी रहेको छ। ११ औँ स्थानको बर्नलीको ३० खेलबाट ३९ अंक रहेको छ ।

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्