युगुर मुस्लिममाथिको ज्यादतीलाई लिएर ट्रम्पले थप चिनियाँ अधिकारीमाथि प्रतिबन्ध नलगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिन्जियाङ्ग प्रान्तका आदिबासी युगुर मुस्लिम समुदायका मानिसलाई बन्धक बनाएकोमा अब थप चिनियाँ अधिकारीमाथि प्रतिबन्ध नलगाउने बताएका छन् ।

चीनसँगको व्यापार सम्झौताको तयारी मध्य चरणमा पुगेकाले अब उपरान्त युगुर मुस्लिममाथि भएको ज्यादती वा सो समुदायका मानिसलाई डिटेन्सन सेन्टरमा राखेको अभियोगमा चिनियाँ अधिकारीमाथि थप प्रतिबन्ध नलगाउने ट्रम्पले बताएका हुन् ।

एक्सिओस न्यूज साइटसँगको अन्तर्वार्तामा ट्रम्पले चीनसँग ‘उत्कृष्ट’ सम्झौता हुन लागेकाले थप प्रतिबन्ध नलगाउने बताए ।

चीनले युगुरसहित अरु आदिवासी समुदायका झण्डै १० लाख मानिसलाई शिन्जियाङ्गको डिटेन्सन सेन्टरमा राखेको छ । उनीहरुलाई यातना दिने र ज्यादती हुने गरेको आरोप छ । तर चीनले सो आरोप अस्वीकार गर्दै आएको छ ।

युगुरसहितका आदिवासीमाथिको ज्यादतीलाई लिएर संयुक्त राष्ट्रसंघले समेत चासो र चिन्ता व्यक्त गर्दै आएको छ ।

अमेरिकाले सोही विषयलाई लिएर चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउँदै आएको छ । तर राष्ट्रपति ट्रम्पको प्रशासनमा राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा काम गरेका जोन बोल्टनको प्रकाशन हुन लागेको पुस्तकमा युगुरलाई लिएर ट्रम्पले गरेको विवादास्पद टिप्पणी सार्वजनिक भएपछि यो विषय फेरि चर्चामा आएको हो ।

ट्रम्पले आफू पुनः निर्वाचित हुनका लागि चीनको सहयोग खोज्ने क्रममा युगुर समुदायलाई डिटेन्सन सेन्टर बनाउने काममा अमेरिकाको कुनै अवरोध नहुने बताएको बोल्टनको पुस्तकमा उल्लेख छ ।

त्यसलाई ट्रम्पको पछिल्लो टिप्पणीले पुष्टि गरेको हो । चीनसँगको व्यापार सम्झौताका लागि अब उपरान्त युगुरको विषयलाई लिएर थप चिनियाँ अधिकारीमाथि प्रतिबन्ध नलगाउने ट्रम्पले स्पष्ट पारेका हुन् ।

ट्रम्पले गएको शुक्रबार एक्सिओसलाई अन्तर्वार्ता दिने क्रममा त्यस्तो बताएका हुन् । अमेरिकी न्यूज वेबसाइटले आइतबार सो अन्तर्वार्ता प्रकाशित गरेको छ ।

युगुर डिटेन्सन सेन्टरलाई लिएर चिनियाँ कम्युनिष्ट पार्टीका थप अधिकारीमाथि प्रतिबन्ध लाग्छ या लाग्दैन भन्ने प्रश्नको उत्तर दिँदै ट्रम्पले भनेका छन्, ‘हामी प्रमुख व्यापार सम्झौताको मध्य समयमा छौँ । जब वार्ताको मध्य समयमा हुन्छौँ त्यो बेला थप प्रतिबन्ध लगाउने कुरा हुँदैन । हामीले धेरै प्रतिबन्ध लगाइसक्यौँ । अब लाग्दैन ।’

चीन र अमेरिकाबिच पछिल्लो समय व्यापार युद्ध चल्दै आएको छ । त्यसलाई अन्त्य गर्ने प्रयास स्वरुप दुई देशबिच वार्ता हुँदै आएको छ ।

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्