त्रिसुली, कालिखोला नजिक लामो समय बस रोकिएपछि बिसाई मार्दै माया गाहा। तस्बीरहरु दीपा दाहाल
लकडाउनमा सडक यात्रा

मातृभूमि छिरेपछि धर्मराएका गर्भवतीहरु

सबेरैदेखि सुरु भएको बर्खे झरी रोकिएको थिएन। हिलाम्मे सडक पेटीमा मानिस मुश्किलले आउजाउ गर्दै थिए।

सुर्खेत यात्राका लागि शुक्रबार साँझ ६ बजे कंलकी पुगेकी म कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेपछि सरकारको समन्वयमा त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलमा झरेर, होल्डिङ सेन्टर हुँदै गन्तव्य (विभिन्न प्रदेशहरु) मा जान तयार नागरिक बोकेका लामबद्ध बसहरु देखेपछि रोकिएँ।

ती नागरिकलाई गन्तव्यमा पुर्याउन ‘स्कर्टिङ’ का लागि सैनिक तैनाथ थिए । सुरक्षार्थ खटिएका केही सैनिक यात्रुको विवरण पुनः जाँच गर्दै थिए।

सबैभन्दा अघिल्लो बसको ढोकाको दायाँबायाँ समातेर अर्घाखाँचीकी ९ महिने गर्भवती माया गाहा मुश्किलले तल झरिन्।

नजिकैको किराना पसलका साहुजीलाई शौचालयबारे सोधिन् । कोरोना भाइरस सर्ने डरले होला, साहुजीले छेउमै शौचालय हुँदाहुँदै पनि नभएको संकेत गरे। वास्तवमा त्यहाँ ताला मारिएको थियो।

त्यसपछि उनी शौचका लागि पसलको छेउतिरको चिप्लोओरालो बाटो लागिन्। घरीघरी पेट सुम्सुमाइरहेकी उनले लामो सुस्केरामा आफ्नो पीडा बिसाउने प्रयास गरिन्।

निर्धारित समयमा बस अघि नबढेपछि उनको छट्पटी बढ्दै गएको थियो । सुरक्षार्थ खटिएका सेनालाई उनले पटकपटक भनिन्, ‘छिटो जाउँ । मलाई गाह्रो भइरहेको छ। मेरो भन्दा बच्चाको पीर लाग्न थाल्यो।’

दुबईबाट काठमाडौँ उत्रिएकी माया दुई दिनदेखि भोकै थिइन्। पानीसम्म राम्ररी पिउन नपाएकी उनको नियमितरुपमा खानुपर्ने औषधि खान छुटेको थियो।

पट्यारलाग्दो उडानको प्रतिक्षा, विमानस्थलमा ओर्लेपछि लगेजको प्रतिक्षा, स्वास्थ्य परीक्षण, होल्डिङ सेन्टर पुगेपछि व्यक्तिगत विवरण पेश गर्ने जस्ता प्रक्रिया पार गर्दा माया गलिसकेकी थिइन्।

कंलकी पुग्दासम्म उनको स्वर मलिनो भइसकेको थियो। उनले भनिन, ‘पेटमा बच्चा चल्न छोडेको छ। बाटोमा झन दुःख होला जस्तो छ?’

हुन पनि मायाको पूर्वानुमान वास्तविकतामा परिणत भयो। माया चढेको बस अघि बढ्न चार घण्टा लाग्यो।

बिहान  साढे सात बजे विमानस्थल ओर्लिएका यात्रु चढेको सवारी साधनलाई साँझ ६ बजे ‘स्कर्टिङ’ गर्न तयार भए पनि सेना अघि बढ्न सकेन।

बरु सेनाका जवानहरु पानीमा रुझेर आफ्नो डियुटी गरिरहे।  साँझ ओर्लेकाहरुलाई पनि सँगसँगै लैजानु पर्ने सरकारको दबाबपछि कंलकी पुगेका बस पनि रोकिए ।

खपिनसक्नु भएपछि मायासँगै त्यो बसमा रहेका २० जना गर्भवति र अन्य यात्रु सडकमा ओर्लिए।

ड्यिुटीमा रहेका सैनिकप्रति उनीहरुको आक्रोश थियो, ‘बाटोमा भोकभोकै अलपत्र पार्नुभन्दा हामीलाई होल्डिङ सेन्टरमा किन नराखेको?’

निर्धारित समयमा बस अघि नबढेपछि बसबाट ओर्लिएर आक्रोशित बनेका यात्रुहरु।

विदेशबाट आएका अधिकांशमा संक्रमण भएको भन्दै उनीहरुलाई व्यवस्थित र सुरक्षित घर पुर्याउन सेना खटाइएको थियो।

तर यात्रुहरुले निकै बेर सैनिकलाई र्याखर्याख्ती पारे। मौन रहनु सेनाको बाध्यता थियो। राति १० बजे स्कर्टिङका लागि कंलकीबाट सेनाको अर्को टोली खटियो।

नागढुंगा पुग्दा जाम निकै ठूलो थियो। नेपाली सेनाले स्कर्टिङ गरेर लगेको यात्रुको विवरण फेरि त्यहाँ खटिएका नेपाल प्रहरी, ट्राफिक, सशस्त्र र अनुसन्धान विभागका प्रतिनिधिले छुट्छुट्टै राखे।

एकद्धार प्रणालीबाट विवरण राखेको भए चार निकायबाट खटिरहेका सुरक्षाकर्मीलाई पनि संक्रमणको जोखिम हुने थिएन। लामो जाम पनि हुने थिएन। उनीहरु पानी पानीमा यात्रुको नजिकै पुगेर बिना मास्क चर्को स्वरमा यात्रुको विवरण लेखिरहेका थिए। कतिपयको घाँटी नै सुकेको थियो।

नागढंगाबाट ती बसलाई सेनाको अर्को टोलीले स्कर्टिङ सुरु गर्यो। पानी रोकिएको थिएन। गर्भवती महिलाले शौचालय खोजे। त्यहाँका शौचालय पनि बन्द थिए।

बाटोमा स्कर्टिङका लागि सेनाको टोली बदल्ने क्रम चलिनै रह्यो । तर मुङलिङदेखि अघि बढेर कालीखोला नजिक पुग्नासाथ बस रोकियो ।

पहिरोले गर्दा बाटो एकतर्फीमात्र चलाइएका कारण अघिल्लो दिनदेखिकै सवारीसाधनहरुको ताँती लागेको थियो । त्यहीँ ठाउँमा शनिबार बिहान ती बसहरु करिव चार घण्टासम्म रोकिए।बिहानको ५ बजिसकेको थियो।

पहिरोका कारण बस रोकिएको होला भन्ने बुझाई ती गर्भवती महिलालाई परेको थियो। तर विदेशबाट आएका नागरिक बोकेर काठमाडौँबाट अघि बढेका बसहरुलाई कुर्नुपर्ने बाध्यता फेरि सेनलााई आइपरेको थियो। यात्रुको आक्रोश सहेर भएपनि उनीहरु सुरक्षा दिइरहे।

बसभित्र टोलाउँदै सुस्मिता सिंह।

यता माया बोल्ने अवस्थामा थिइनन्। सुस्साइरहेको त्रिशूली नदीको किनारमा छेउ लागेर माया टोलाइरहिन्। उनको खुट्टा सुन्निएका थिए।

बस चल्ने प्रतिक्षामा रहेका अन्य गर्भवती महिलाको छटपट्टी पनि मायाको जस्तै बढ्दै थियो। दुबईबाटै स्वदेश फर्किएकी बर्दियाकी ६ महिने गर्भवती सुस्मिता सिंहले गुनासो गरिन्, ‘आफ्नो ठाउँमा आएर सुरक्षित हुन्छौँ भन्ने विश्वास थियो। तर झन् झन् जोखिम बढ्यो।’

लामो समय बस रोकिएपछि त्रिसुलीको किनारमा गर्भवती महिला र अन्य यात्रहरु।

सुस्मिताले दुबईबाट हिड्नु पहिले पीसीआर परीक्षण गरेकी थिइन्। सम्बन्धित दूतावासका कर्मचारीले नेपाल पुगेपछि काठमाडौँमै केही दिन आराम गर्न मिल्ने व्यवस्था गरेको उनलाई सुनाएका थिए।

त्यसैअनुसार काठमाडौँमा केही दिन आराम गर्ने अनि निजी गाडी बुक गरेर बर्दिया पुग्ने योजना बनाएकी सुस्मितालाई काठमाडौँ ओर्लिएपछि नै सरकारको व्यवस्थापन देखेर तनाव बढेको सकेको थियो।

होल्डिङ सेन्टरमा आराम गर्ने ठाउँ थिएन। प्याकेटमा बाँडिएको ‘फ्राइ राइस’ उनलाई स्वस्थकर नलागेपछि खाइनन्। तीनदिनको भोको पेटमा उनी पनि बोल्ने अवस्थामा थिइनन्।

मात्र उनको प्रश्न थियो, ‘संकटका बेला हामीलाई सरकारले केही न केहीमा त हेर्न पर्ने हो। तर हामीले जहाजदेखि बस भाडासम्म चार गुणा मंहगो तिर्नु पर्यो किन?’ ९ महिनाकी अर्की गर्भवती नवलपरासी सुनवलकी अनिता भुर्तेल भट्टराईको पनि ओठमुख सुकेको थियो।

बुटवल पुगेपछि सुस्मिता सिंह।

उनका पीडा माया र सुस्मिता भन्दा फरक थिएन। चिकित्सकबाट यही असारको अन्तमा ‘डेलिवरी’ को समय पाएकी उनलाई निकै पिर छ। नेपालमा कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु भएको खबर सुनेकी उनले कहाँ गएर डेलिवरी गर्ने भन्ने सोच्न सकेकी छैन्। माया, सुस्मिता र अनिताका श्रीमान दुबईमै छन्।

लामो प्रक्रियाबाट शनिबार २ बजे मात्रै बुटवल पुगेका उनीहरु त्यहाँ झनै चिन्तित देखिए, कारण उनीहरुलाई सेनाले त्यहाँसम्म मात्रै स्कर्टिङ गर्ने नियम थियो।

माया र अनिताले अब लामो यात्रा गर्न नपरेपनि सुस्मिताले निकै लामो यात्रा गर्नु पर्ने थियो। अझै करिब तीन सय किलोमिटरको यात्रा तय गर्न बाँकी थियो।

उनले भनिन, ‘यसबारे पहिल्यै जानकारी भएका भए सायद यति धेरै दु:ख पाउने थिएनौँ। हामीलाई सरकारले सहुलियत हैन सास्ती दियो। यो एक एकसिमले यातना हो यस्तो बेला हाम्रा लागि।’ अनिता भन्दै थिइन, ‘प्रेसर लो भएको छ। रिंगटा चलिरहेको छ। अब के हुने हो थाहा  छैन ।’

मैले उनीहरुको पीडामा हौसला बढाउने र सान्त्वना दिने बाहेक अरु के पो गर्न सक्थे थिए र ? त्यसैले मौन रहेरै उनीहरुबाट बिदा भए।

बुटुवलमा बसबाट ओर्लिदै गर्भवति महिला र अन्य यात्रु।

ढिलै भए पनि कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिक ल्याउने सरकारको निर्णयलाई सबैले सकारात्मक रुपमा लिएका थिए । त्यसमाथि बालबालिका, अशक्त, वृद्ध र गभवर्तीहरुलाई पहिलो प्राथमिकतामा राखिएको थियो ।

जसले गर्दा दुबईबाट काठमाडौं आउने यात्रुहरुको सूचिमा माया, सुष्मिता र अनिताजस्ता ६० प्रतिशत गर्भवती अटाएका थिए । तर, उनीहरु काठमाडौँ ओर्लेपछि आ-आफ्नो गन्तव्यमा पुगिन्जेलसम्मको व्यवस्थापनमा कमजोरी देखियो।

कोरोना भाइरस सर्ने डरमा राजमार्गका अधिकांश होटल बन्द छन्। फाट्फुट चलेका नास्ता पसलेहरु अत्यन्तै डराएको पाइयो। उनीहरुले पैसा आगोमा सुकाएर मात्रै लिए। शौचालय बन्द राखेका छन्। खाने कुरा पाउन मुश्किल परेको छ।

त्यसमा ध्यान दिएको भए सरकारले थप वाहवाही पाउने थियो । तर, त्यसो भएन । जसले गर्दा माया, सुस्मिता र अनिताले स्वदेश ओर्लन त पाए तर, घर पुग्दासम्म नसोचेको पीडा खेप्नु पर्यो ।

र, यो पीडाले स्वदेश फर्कँन पाउँदा उनीहरुमा पलाएको खुशीलाई लामोसमयसम्म थिचिरहनेछ । शायद उनीहरुका लागि काठमाडौँबाट बाहिरिएपछि बाटोमा भोगेका पीडाले पछिसम्म पछ्याइ रहने छ ।