कम उमेरमै मिर्गाैला फेल हुने समस्या बढ्यो

दाङ–दुई वर्ष अघि गढवा गाउँपालिका वडा नं. ६ निवासी फुलकुमारी चौधरी बिरामी परिन् । उपचारको लागि अस्पताल लगियो । अस्पतालले उनको मिर्गौलामा समस्या देखायो । २० वर्षको उमेरमै उनको दुवै मिर्गौलाले काम गर्न छाड्यो ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मिर्गौलाको डायलाइसिस गर्दै आएकी उनी अहिले लमहीबाट डायलाइसिस गराउँछिन् ।

राधा जिसीको उमेर २४ वर्ष पुगेको छ । यो उमेरमा उनको मिर्गौलाले काम गर्न छाड्यो । एक वर्ष देखि मिर्गाैलाको डाइलाइसिस गराउँदै आएकी छन् । पछिल्लो समय कम उमेरका मानिसलाई समेत मिर्गाैलाको रोग लाग्ने गरेको देखिएको छ ।

लमही सामुदायिक डायलाइसिस सेन्टरमा नियमित डायलाइसिस गराउने मध्य १८ वर्ष देखि ३० बर्ष उमेर समूहका ९ जना बिरामी रहेका छन् ।

‘कम उमेरका मानिसमा समेत मिर्गौलाको रोग लाग्ने गरेको अहिले उपचार गराइरहेका बिरामीको संख्याबाट थाहा हुन्छ’लमही सामुदायिक डायलाइसिस सेन्टरका डाक्टर गणेश चापागाईले भने‘खानपानमा ध्यान नदिँदा, मिर्गौलाको जाँच नगराउँदा पनि कतिपय मानिसको मिर्गौला सानै उमेरमा बिग्रेको छ । अर्काे कुरा जन्मजात मिर्गाैला कम विकसित भएको र मानिसको उमेर बढ्दै जाँदा मिर्गौलाले काम गर्न छाड्ने गरेको उदाहरणहरु पनि छन् ।’

रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ लमहीको सहयोगमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले सञ्चालन गरेको लमही डायलाइसिस सेन्टरमा नियमित डायलाइसिस गराइरहेका ४३ जना मध्य ९ जना कम उमेर समूह भित्रका बिरामी छन् ।

१८ वर्ष देखि ३० वर्ष मुनिका ९ जना बिरामी छन् भने ३१ देखि ७२ वर्षका ३४ जना रहेका छन् । अहिले दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुम, सुर्खेत, बाँके लगायतका जिल्लाका मिर्गाैलाका बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् ।

घोराही र तुलसीपुरमा डायलाइसिस सेवा नियमित नहुँदा लमहीमा चाँप


राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मिर्गौलाको डायलाइसिस सेवा छ । तर, त्यहाँ बिरामीले डायलाइसिस सेवा नपाउँदा लमहीमा बिरामीको चाँप बढेको रोटरी क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्यले जानकारी दिए ।

‘घोराही र तुलसीपुरमा सेवा नपाउँदा बिरामीहरु लमही आइरहनु भएको छ । अहिले सम्म त हामीले थेगीरहेका छौं । यो भन्दा बढी संख्या भयो भने डायलाइसिस सेवा पुर्‍याउन गाह्रो पर्छ’उनले भने–‘घोराहीमा डालाइसिस गराईरहनु भएका ९ जना र तुलसीपुरमा डायलाइसिस गराईरहनु भएका तीन जना बिरामीले अहिले लमहीबाट सेवा लिईरहनु भएको छ ।’

बिरामी र कुरुवालाई निःशुल्क खाने–बस्ने सुविधा


लकडाउन सुरु भएपछि मिर्गौलाको डायलाइसिस गराउनुपर्ने बिरामीलाई आउन जान समस्या पर्‍यो । अति विपन्न परिवारका बिरामीलाई झनै समस्या भयो ।

रोटरी क्लव अफ लमहीले देउखुरी उद्योग वाणिज्य संघसहित अन्य संघ संस्था संग समन्वय गरेर बिरामी र बिरामीका कुरुवालाई निःशुल्क बास बस्ने र खाने सुविधा उपलब्ध गराएको रोटरी क्लव अफ लमहीका सचिव केशव घिमिरेले जानकारी दिए ।

लकडाउन थपिँदै जाँदा बिरामीलाई खान खुवाउने व्यवस्था मिलाउन समस्या पर्दै गएपछि दान दाताको सहयोगमा निशुल्क बस्ने र खाने सुविधा उपलब्ध गराउदै आएको बताए ।

‘१३ जना बिरामी र बिरामीका कुरुवा गरी अहिले २३ जना यहाँ बसिरहनु भएको छ । अहिले सम्म सहयोग गर्ने सबै दान दाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौं’उनले भने–‘विपन्न बिरामी र बिरामीका कुरुवालाई खाना, खाजा खुवाउन अझैं सहयोगको खाँचो छ ।’

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू