कोभिड १९ ले ‘मानव रोकिएपछि’ वन्यजन्तुमा परेको असरबारे घोत्लिदैँ छन् वैज्ञानिकहरु

बर्दिया राष्ट्रिय निकुञ्जको चरन क्षेत्रमा मृगका हुल । समूहमा बस्ने मृग प्रजातिका लागि बदिर्या राष्ट्रिय निकुञ्ज उपयुक्त बासस्थान हो । मृग पाइने भएकाले यहाँ बाघहरु पनि पाइन्छ, किनकी बाघले विशेष गरी मृगलाई आफ्नो आहराका रुपमा लिन्छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

वन्यजन्तु वैज्ञानिकहरुले विश्वमा लकडाउन पूर्व, लकडाउनका अवधि र त्यसपछि वन्यजन्तुमा पर्ने प्रभाव वा परिवर्तनबारे अध्ययन गरिरहेका छन्।

बेलायतका वैज्ञानिकहरुको टोलीले ‘एन्थ्रोपज’ नाम दिएको लकडाउन, जुन बेला विश्वका अधिकांश क्षेत्रमा बिस्तारित तहमा मानवीय गतिविधि रोकियो, त्यसको प्रभाव वन्यजन्तुमा कस्तो रह्यो भन्ने खोजी गरिरहेका हुन् ।

लकडाउनको प्रभाव मावन बाहेकका अरु प्राजातिमा स्पष्ट रुपमा सकारात्मक पर्ने आँकलन गरिए पनि लकडाउनका बेला मानवीय गतिविधि रोकिँदा र सो पूर्व र पछिको अवस्थामा वन्यजन्तुमा कस्तो प्रभाव वा परिवर्तन देखिन्छ भन्ने विस्तृत अध्ययन गर्न थालिएको साइन्टिफिक रिपोर्टस् जर्नलमा प्रकाशित लेखमा उल्लेख छ ।

सो लेखमा अध्ययनको खाका प्रस्तुत गरिएको छ । तत्कालका लागि वैज्ञानिकहरुले विश्वका धेरै क्षेत्रमा अचानक मानवीय गतिविधि अधिकांश रुपमा सीमित वा कम हुँदा वन्यजुन्तुमा परेको प्रभावबारे अध्ययन केन्द्रित गरेका छन् ।

त्यसपछि लकडाउन खुलेपछिको अवस्थामा आउन सक्ने परिवर्तनको पनि अवलोकन भइरहेको छ । यसका लागि एनिमल ट्रयाकिङ्गसहितका माध्यमबाट तथ्यांक तथा सूचनाहरु संकलन भइरहेका छन् ।

अध्ययनमा संलग्न युनिभर्सिटी अफ सेन्ट एन्ड्रियूजका प्राध्यापक क्रिष्टियन रुट्जसहितको नेतृत्वमा अध्ययन भइरहेको हो । उनी इन्टरनेशनल बायो–लगिङ्ग सोसाइटीका अध्यक्ष हुन् । उनका अनुसार वन्यजन्तु तथा पक्षीको चहलपहल थाहा पाउनका लागि उनीहरुमा सानो आकारको ट्रयाकिङ्ग उपकरण (बायो–लगरस्) जडान गरिएको छ ।

कोरोना भाइरसको महामारीका कारण लकडाउन भएका बेला विश्वभरबाट ट्रयाकिङ्गसहितका माध्यमबाट जानकारी संकलन भएको उनले बताए ।

उनले भनेका छन्, ‘अहिले अनुसन्धानको अति नै दुर्लभ अवसर प्राप्त भयो तर यसको संयोग अति कठीन परिवेशले सिर्जना गरेको हो । र पनि हामी मानवीय गतिविधि यति बिस्तारित तहमा एक साथ रोकिएको र त्यस प्रभाव वन्यजन्तुमा कस्तो पर्छ भन्ने थाहा पाउनका लागि अध्ययन नगरी बस्न सक्ने अवस्थामा छैनौँ ।’

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरु, याे तस्बर रेन्जर रिचर्ड सावरीले लकडाउनकाे अवधिमा गएकाे अप्रिल मध्यमा खिचेका हुन् ।

यसअघिका अध्ययनहरुमा मावनको उपस्थितिले वन्यजन्तुमा परेको असरमा केन्द्रित हुन्थे । हालको अनुसन्धान मानवको उपस्थिति नहुँदा पर्ने प्रभाव वा परिवर्तन हेर्नुमा केन्द्रित छ ।

यसले भविष्यमा मानवीय गतिविधि कुन मात्रामा सीमित गर्दा वन्यजन्तुलाई कस्तो प्रभाव पर्छ भन्ने आँकलन गर्न सहयोग पुग्ने प्राध्यापक रुट्जले बताएका छन् ।

लकडाउनका बेला विश्वभर वन्यजन्तुहरु थप स्वतन्त्र भएको र कतिपय अवस्थामा शहरी क्षेत्रमा पनि स्वतन्त्र रुपमा उनीहरु विचरण गरेका तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट भएका थिए ।

तर केही क्षेत्रमा भने चोरी शिकारका घटना पनि बढेका छन् । अधिकांश रुपमा लकडाउनको प्रभाव वन्यजन्तुमा राम्रो परेको देखिएको छ सरसर्ती हेर्दा । यसको अर्थ मानिस स्थायी रुपमा लकडाउनमै बस्नु पर्छ भन्ने नरहेको रुट्जले बताए ।

आफूहरुको अध्ययनले मानिसले चहलपहल गरेर पनि सीमित गर्न सक्ने गतिविधिहरु जसले वन्यजन्तुलाई सकारात्मक प्रभाव पर्ने हुन सक्छ, त्यसबारे थाहा पाउने प्रयास गर्ने उनले बताएका छन् ।

(यो सामग्री बिबिसीको सहयोगमा तयार पारिएको हो ।)

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू