आत्महत्या कायरताको उपज कि मानसिक दुर्घटना?

०७६ सालको १२ महिनामा काठमाडौँ जिल्लामा सबैभन्दा बढी १ हजार ८९ जनाले आत्महत्या प्रयास गरेका थिए, ३ सय ४७ जनाको ज्यान गयो । यस्तै मोरङमा ५ सय ८६ मध्ये २५४ को मृत्यु भयो।

०७७ सालको वैशाख र जेठमा काठमाडौँभन्दा मोरङ अगाडि देखियो । ९२ जनाले आत्महत्या प्रयास गरेकोमा ५० जनाको ज्यान गयो । काठमाडौँ उपत्यकाका तीन जिल्लामा वैशाख र जेठमा १२८ जनाले प्रयास गरेकोमा ३६ जनाले ज्यान गुमाए ।

अस्पतालको रोजगारी गुमेपछि अछामका २७ वर्षीय एक युवाले जेठ २६ गते आत्मदाहको प्रयास गरे । यो घटनापछि आत्महत्याको विषयले सबैको ध्यान खिच्यो । लकडाउनका कारण उत्पन्न विभिन्न समस्या झेल्न नसकेर मानिसहरुले आत्महत्या गर्नेगरेको सुनिन्छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिले समेत आत्महत्या गरेका छन् ।

वर्तमान परिस्थितिका कारण आत्महत्या गर्नेको संख्या उल्लेख्य हुनसक्छ । त्यो प्रहरीको अनुसन्धानले देखाउला नै । तर आत्महत्याका लागि कुनै यस्ता आपतकालीन अवस्था र अभावको जिन्दगी मात्रै कारक हुँदैन भन्ने कुरा जेठ ३२ बत्तीस गते भारतीय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याले पनि पुष्टि गर्छ ।

कारण जे भएपनि गाउँघर, अभाव र अशिक्षामा भन्दा काठमाडौँ, विराटनगर, रुपन्देही लगायतका शहर र विकसित ठाउँमा नै आत्महत्या बढी हुने गरेको छ ।

प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार नेपालमा लकडाउनको अघिल्लो दिनसम्म एक महिनामा ४१४ जनाले आत्महत्या गरेका थिए ।

लक डाउन भएको चैत ११ देखि ०७७ वैसाख १० सम्म एक महिनामा ७३ जना बढेर ४८७ पुगे आत्महत्या गर्ने ।

भारतमा मार्च १९ देखि मे २ को करिब डेढ महिनामा ३३८ जनाले लकडाउनकै कारण आत्महत्या गरेको अनुसन्धानले देखायो । कोरोना अवधिको आत्महत्याको कारण गरिबी, बेरोजगारी, ऋण र टाट पल्टिने सम्भावना लगायत आर्थिक कारण नै मुख्य हुनसक्छ ।

विभिन्न अध्ययन अनुसार संसारभर युवाहरुको रोजगारी गुम्ने संख्या अनगिन्ती हुनेछ । उनीहरुलाई आत्महत्याबाट बचाउन विश्वभरका सरकार र समाजका लागि ठूलो चुनौति हुँदैछ ।

तसर्थ आत्महत्या कोभिड १९ र लकडाउनसँगसँगै महामारी बनेर विश्वव्यापीरुपमा समानान्तर यात्रा गरिरहेको छ ।

आत्महत्या सम्बन्धित समाजले बुझेजस्तै कायरताको उपज हो कि कुनै रोग वा दुर्घटना ? किन यसरी प्रेरित भएका छन् मान्छे आत्महत्याका लागि ?

लामो समय नेपाल प्रहरीमा रहेर यसै विषयमा अध्ययन, अनुसन्धान गर्नुभएका पुर्व प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीका अनुसार आत्महत्या मनोवैज्ञानिक, सामाजिक र जैविक दुर्घटना हो । यसलाई कलंकको रुपमा बुझ्नु हुँदैन ।

तथ्यांक हेर्दा नेपालमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट करिब ६ महिनामा २२ जनाको मृत्यु भएको छ भने आत्महत्याबाट ०७७ जेठ ३२ गते एकै दिनमा २१ जनाको ज्यान गएको छ । ज्यान जानेमा बृद्ध र बालबालिकासहित १० महिला र ११ पुरुष छन् । आत्महत्या पयास गर्ने १३ जना घाइते भए ।

सबैजसो आत्महत्या झुण्डिएर र बिष सेवनबाट भएको देखिन्छ । ०७७ साल वैसाख १ गतेदेखि जेठ ३२ गतेसम्म ६१३ जनाले विष सेवन गरेर आत्महत्या गर्न खोजेकोमा १४६ जनाको ज्यान गयो । सोही अवधिमा झुण्डिएर आत्महत्या गर्न खोज्नेहरु ८ सय ५५ जनामध्ये ७ सय ७५ जनाको ज्यान गयो ।

गम्भीर घाइते भएका धेरैको उपचारकै क्रममा ज्यान गएको पनि हुनसक्छ । आफुलाई मार्न खोज्नेहरु केही बाँच्न सफल भए पनि ती सबै १४ सय ६८ जनाको उद्देश्य ज्यान फाल्नु नै थियो, संयोगले बाचेका हुन । खतरा अझै बाँकी हुनसक्छ ।

दुई महिनाको तथ्यांक हेर्दा एकदिनमा २३ जना भन्दा बढीले आत्महत्या गर्न खोजेको देखिन्छ । र, मृत्यु हुनेको संख्या संख्या ९२१ छ । यो दैनिक झण्डै १५ जना हो ।

अघिल्लो साल वैसाख १ देखि चैत मसान्तसम्म बाढीपहिरोबाट ७९ जनाको ज्यान गयो, ६६ जना बेपत्ता भए, चटयाङबाट ८९ र सवारी र्दुटनाबाट २२ सय १६ जनाले ज्यान गुमाए । यो सबै जोडदा २४सय ५० हुन्छ । तर यस वर्ष दुई महिनामै ९२१ जना अर्थात महिनाको ४६० भन्दा बढीले आत्महत्या गरे । यो तथ्यांक अनुसार वार्षिक ५५सय २६ हुन आउँछ । नेपालका अरु सबै प्राकृतिक प्रकोप र सवारी दुर्घटनाको दुईगुना भन्दा बढी आत्महत्या एक्लै हुन आउँछ ।

आत्महत्याको उल्लेखित तथ्यांक प्रहरीको १० नम्बर डायरीमा दर्ता भएका मात्र हुन् । दर्ता हुनबाँकी संख्या थपिनसक्छ ।

ज्यान फाल्न विष सेवन गर्नेहरुभन्दा पासो लाग्नेनेहरु धेरैको ज्यान जानेको गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय भोजपुर अपराध अनुसन्धान समुहका प्रहरी नायब निरीक्षक चिरन्जीबी रेग्मीका अनुसार विष सेवन गर्नेहरुलाई तत्काल अस्पताल पुर्‍याउन सक्दा बचाउन सकिन्छ तर व्यक्ति झुण्डिएको केही बेरमै ज्यान जाने भएकाले पासो खोलेर बचाउन सकिने सम्भावना कम हुन्छ र अधिकांसको मृत्यु हुने गरेको हो ।

हास्य कलाकार मनोज गजुरेलले भारतीय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यामाथि श्रद्धान्जली व्यक्त गर्दैँ यस्ता मृत्युलाई आत्महत्या नभनेर स्वमृत्युवरण भन्नुपर्छ भनेका छन्। नाम जे दिए पनि बालकदेखि बृद्धसम्म आफुले आफैँलाई मार्न चाहनेको संख्या बढदो अवस्थामा छ ।

परिवार, समाज, यस सम्बद्ध विज्ञ र देशका निमित्त चुनौति हो यो ।

चर्चा भएजस्तै कोरोनाभाइरस र लकडाउनबाट उत्पन्न समस्याले नै मान्छेले आत्महत्या गरेका हुन त ?

नेपाल प्रहरीको तथ्यांक अनुसार ०७६ वैसाख र जेठमा ८३० जनाले आत्महत्या गरेका थिए । यसवर्षको दुई महिनामा ९२१ जनाले आत्महत्या गरेका छन । अघिल्लो वर्षको भन्दा अहिले ९१ जना बढी देखिन्छ । अनुसन्धानबाट एकीन संख्या नआउन्जेल यो संख्यालाई कोरोना कहरको आत्महत्या मान्न सकिन्छ ।

नेपाल लगायत विश्वभरको रेकर्ड हेर्दा आत्महत्या हुन एउटै मौसमी कारण मात्र देखिँदैन । संसारभर हरेक वर्ष ८ लाखभन्दा बढीले आत्महत्या गर्नेगर्छन र हरेक चालीस सेकेण्डमा एकजनाले आत्महत्या गर्छन । नेपालमै पनि ०७६ साल वैसाखदेखि चैत मसान्तसम्ममा ४ हजार ४ सय ६७ जनाले आत्महत्या गरेका छन ।

विभिन्न अध्ययन अनुसार संसारभर युवाहरुको रोजगारी गुम्ने संख्या अनगिन्ती हुनेछ । उनीहरुलाई आत्महत्याबाट बचाउन विश्वभरका सरकार र समाजका लागि ठूलो चुनौति हुँदैछ ।

व्यक्तिमा तीब्र महत्वकांक्षा, योजनामा असफल, कुनै पनि कारणले समाजमा लाज सरमको महसुश गर्नु, आफुबाट भएका कतिपय कुकर्म वा अनैतिक कर्मबाट पश्चाताप वा बेइज्जतको सामाना गर्नुपर्ने अवस्था, चिन्ता, फिक्री, दीर्घरोग, अन्तरसंबन्धमा आँच, प्रेममा मृत्यु वा बिछोड, मानसिक असन्तुलन, बेरोजगार, टाट पल्टिँदाको पीडा, धोका, आरोप, जीवन र मृत्युसम्बन्धि मानसिक द्वन्द्व लगायत थुप्रै कारणबाट मानिसले आत्महत्या गर्नेगरेको देखिन्छ । कतिपय आत्महत्या तत्कालको पारिवारिक झगडापछिको आवेशमा पनि हुने गरेका छन ।

र कतिपय साना अबोध बालबालिकाहरुले बालीमा छर्न राखेको बिषादी अन्जानमा सेवन गरेर पनि ज्यान जाने गरेको छ ।

यसरी विविध र सामान्य कारणबाट समेत आत्महत्यासम्म पु्ग्ने अवस्थाको समाज यतिबेला लकडाउनले पारेको आर्थिक अधोगति, पारिवारिक किचलो, दुई छाककै समस्या, विभिन्न खाले ऋणको भार आदि कारण आत्महत्या हुनु अस्वाभाविक लाग्दैन ।

कुनै पनि समस्याको समाधान आत्महत्या कहिल्यै हुन सक्दैन । तर पनि आत्महत्या भइरहेका छन । एक दिनमा करिब १५ जनाको ज्यान जानेगरि आत्महत्या हुनु ठूलो महामारी हो । यसका जराहरु पत्ता लगाएर समयमै समाधान नखोजिए अवस्था बिकराल बन्दै जानेछ । किन कि यो महामारी बालबालिकामा समेत फैलिइरहेको छ ।

एकदशकदेखि काठमाडौका विभिन्न प्रहरी कार्यालयमा अपराध अनुसन्धान समुहमा रहेर काम गरिरहेका प्रहरी नायब निरीक्षक विष्णु खतिवडाको अनुभवमा आत्महत्याको कारण उमेर अनुसार फरक देखिएको छ । किशोरावस्थामा प्रेम, शिक्षा लगायत असफलताका कारण आत्महत्या गर्ने गरेको देखिन्छ भने तीसदेखि पचाससम्मका व्यक्तिहरु घरव्यवहार, पारिवारिक किचलो, आर्थिक र सामाजिक कारणबाट समेत आत्महत्या गर्ने गरेका छन् । ५० भन्दा माथिका धेरै मान्छेहरुमा लामो तर असफल जीवनबाट असन्तुष्टि, पछिल्ला दुई पुस्ताबिचको बेमेल, चाहेजस्तो आर्थिक सम्पन्नता हासिल हुन नसक्नु लगायतका कारणहरु देखिने गरेका छन् ।

कतिपय आत्महत्याका विषय भूगोल र समाज अनुसार फरक पर्ने उहाँको अनुभव छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुर अपराध अनुसन्धान समुहका प्रहरी नायब निरीक्षक चिरन्जिबी रेग्मीका अनुसार आत्महत्याको एउटा कारण वैदेसिक रोजगारीले उत्पन्न पारिवारिक बिखण्डनसमेत जोडिएको छ ।

वि.सं २०७५ देखि लागुभएको मुलुकी अपराधसंहिता परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८५ मा आत्महत्या गर्न बाध्य पारेको कसुरमा सजायको व्यवस्था गरिएको छ । उक्त दफा अनुसार कसैलाई आत्महत्या गर्न बाध्य पारेमा पाँच वर्षसम्म कैद र पचासहजार रुपैयासम्म जरिवाना हुने व्यवस्था छ । उक्त परिच्छेदले कल्पना गरेका कसुरबाट कसैको जीउ, ज्यान, वा सम्पतिमा हानी नोक्सानी भएको रहेछ भने कसुरदार व्यक्तिबाट पीडित वा पीडित नभए निजको हकवालालाई क्षतिपूर्ति भराइने व्यवस्थासमेत रहको छ ।

आत्महत्या रोक्ने पमुख उपाय कानुन मात्र होइन । तर कतिपय आत्महत्या पारिवारिक, सामाजिक हिँसा र दुव्र्यवहारका कारण हुने गरेकाले कानुन आवश्यक परेको हो ।

अस्पतालले कामबाट निकालेका कारण, कमाइ गरेर खान नपाएका कारण, व्यापारमा टाट पल्टेका कारण, देखासिकी वा बाबुआमाले गाली गरेर आत्महत्या गर्नेहरुलाई न त यो कानुले बचाउन सक्छ न न्याय दिनसक्छ । दुबै कठीन मात्र छैन असम्भव पनि छ ।

दुरुत्साहन गर्नेलाई कारबाही गर्दैमा मरेको मान्छे फर्किँदैन । र सबै आत्महत्या दुरुत्साहनबाट भएको पनि हुँदैन । त्यसैले आत्महत्याको समाधान कानुनी बाटो होइन भन्नुहुन्छ पूर्व प्रहरी महानिरीक्षक पिताम्बर अधिकारी ।

विज्ञका अनुसार आत्महत्या गर्नेहरुमध्ये पन्चानब्बे प्रतिसत व्यक्ति कुनै न कुनै मानसिक रोगबाट ग्रसित हुन्छन् । आत्महत्या अर्को व्यक्तिका कारणबाटभन्दा पनि स्वयं व्यक्तिको मानसिकताको उपज भएकाले यो दफा खारेज हुनुपर्ने माग नउठेको होइन ।

नेपालमा सामाजिक र पारिवारिकरुपमै दाइजो लगायत अन्य कारणबाट मानसिक यातना दिएर मर्न बाध्य पारेका घटना हेर्दा यस्ता तर्क जायज मान्न सकिन्न । कानुनको दुरुपयोगमा भने सचेत हुनैपर्दछ ।

धेरै आत्महत्याको पहिल्यै छनक पाइन्छ । घर परिवार, साथीभाइ, आफन्त, स्वास्थ्यकर्मी र प्रहरी मिलेर त्यसका विभिन्न अवस्थामा विभिन्न प्रयासले रोक्न सकिने देख्नुहुन्छ पिताम्बर अधिकारी ।
आत्महत्या आकस्मिक वा तत्कालीन दुर्घटना होइन भने उहाँले भनेझै सबैको सहकार्य भयो र ‘एकपल दिउँ एउटा जीवन बचाऔँ’ भन्ने सिद्धान्त सबैले अनुसरण गर्ने हो भने यसलाई हटाउन नसके पनि घटाउन सकिन्छ । आत्महत्या गर्ने व्यक्तिलाई मात्र दोष दिएर यो महामारीको समाधान निस्किँदैन ।

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्