जब राजनीतिज्ञहरु धर्मको बाटो हिँड्दैनन् …

भारतमा महात्मा गान्धी राजनीतिज्ञ हुन की सन्त महात्मा हुन्? उनले राजनीति पनि गरे तर एउटा बेग्लै मार्ग र चरित्रको अवलम्वन गरे त्यसमा। उनी पदमा बसेनन् र जीवनलाई एउटा प्रयोगशालाको रुपमा राखेर सत्यसँगको प्रयोगको रुपमा त्यसलाई व्याख्या गरे। त्यसो गर्दा उनी धार्मिक आचरण, मान्यता र व्यवहारलाई मिसाउँदै गए।
ओशोको भनाइमा जवानीमा गान्धी सुन्दर थिएनन्, तर पछि बुढो हुँदै गएपछि उनी तुलनात्मक रुपमा सुन्दर देखिन्थे। त्यसको आफ्नै रहस्य छ। गान्धीले आफ्नो ध्येयबारे यसो भनेका छन्- ‘म यसै जन्ममा आत्म – साक्षात्कार गर्न र मोक्ष प्राप्तिका लागि अधीर छु। म आफ्नो देशको जुन सेवा गरिरहेको छु, त्यो मेरो साधनाको एउटा अंग हो, जसद्वारा म पञ्चभौतिक देह धारणाबाट आफ्नो आत्मालाई मुक्त गर्न चाहन्छु। यो दृष्टिले मेरो देश सेवालाई खालि स्वार्थ– साधना हो भनेर भन्न सकिन्छ।
‘म त ईश्वरीय सत्ता– मोक्ष पाउने प्रयत्नमा लागिरहन्छु। आफ्नो यो ध्येयको लागि मलाई गुफामा गएर बस्ने कुनै आवश्यकता छैन। गुफा त म आफू सँगसँगै लिएर हिँड्छु,’ गान्धी भन्ने गर्थे।
गान्धीले आफू पवित्र बन्नका लागि प्रयत्न गरेको र नराम्रोको विरुद्धको संघर्ष ईश्वरलाई चिन्नका लागि हो भन्ने सम्मका उनका उद्गारहरु हामी देख्छौँ।
महत्वाकांक्षी र हिंस्रकले विश्वलाई जहिले पनि युद्ध र हिंसातर्फ नै लैजान्छ। अर्थात, अरुलाई पछाडि हटाएर आफू सँधै अघि जान चाहन्छ। ओशो भन्छन् – राजनीतिमा व्यक्ति प्रथम स्थान लिन चाहन्छ र धर्ममा अन्तिम।
भारतमा गान्धीको जस्तै मोक्षलाई नै आफ्नो ध्येय बनाउने राजनीतिक नेता कृष्णप्रसाद भट्टराईलाई हामी पाउँछौँ। गान्धी र उनको बीचमा तुलना हुन्छ कि हुँदैन, त्यो आफ्नो ठाउँमा छ र कति विचार–व्यवहार मिल्छ मिल्दैन, त्यो पनि बेग्लै कुरा छ। तर राजनीति गरे पनि मैले जीवन स्वतन्त्रताको लागि तथा मोक्षका काम गरिरहेको भनेर निर्धक्क बताउने नेता नेपालमा किशुनजी मात्र देखिन्छ। उनले भनेका छन् – ‘वास्तवमा मेरो जीवनको लक्ष्य नेपालको प्रधानमन्त्री हुनु होइन, मेरो जीवनको लक्ष्य मुक्ति हो। र, मुक्तिमा स्वतन्त्रता पनि आउँछ, त्यो स्वतन्त्रताको संघर्ष गर्दा यो कुरा आइपरेको मात्र हो। म भगवानप्रति मात्र जिम्मेवार छु। म त्यही हिसाबले काम गर्छु’, उनले यसपछि भने– मेरो जीवन मुख्य भनेको नै आस्थाको राजनीति हो।
यी दुई महापुरुषले जीवनको ध्येय र आफ्नो राजनीतिक जीवनको बारे जे भने, त्यो विशेष महत्वको छ र अरु नेताहरुका हकमा यो प्रसंग लागू हुँदैन र उनीहरु यस्तो भन्ने हिम्मत पनि गर्दैनन्। गीताको कर्म योगको अभ्यासका रुपमा यिनीहरुको जीवनधारा र कर्म व्यवहारलाई लिन सकिन्छ। दुवैले गीतालाई असाध्यै मानेका छन् र जीवनपर्यन्त बुझ्ने कोशिश र प्रयोग पनि गरेका छन्।
तर राजनीति यिनीहरुले सोचे र व्यवहार गरेजस्तो मार्ग र आदेशमा हिँड्ने चिज चाँहि होइन रहेछ। अध्यात्मका चर्चित एवं प्रसिद्ध गुरु ओशोले राजनीतिबारे खुबै बोलेका छन् र बहुतै छेडछाड पनि गरेका छन्। ओशो भन्छन्– जबसम्म राजनीति सर्वोपरी हुन्छ, तबसम्म मनुष्यको जीवनमा शान्ति र अमनचैन हुँदैन। महत्वाकांक्षी व्यक्ति नै राजनीतिमा हुन्छ र ऊ अन्धो हुन्छ। महत्वाकांक्षी, अन्धो र हिंस्रक व्यक्ति नै राजनीतिमा माथि पुग्छ। विगत तीन हजार वर्षको इतिहासमा साढे चार हजार युद्ध भए पनि पृथ्वीमा जुन दिन युद्ध भएन, त्यो दिन पनि युद्धको तयारीमा नै बित्यो।
महत्वाकांक्षी र हिंस्रकले विश्वलाई जहिले पनि युद्ध र हिंसातर्फ नै लैजान्छ। अर्थात, अरुलाई पछाडि हटाएर आफू सँधै अघि जान चाहन्छ। ओशो भन्छन् – राजनीतिमा व्यक्ति प्रथम स्थान लिन चाहन्छ र धर्ममा अन्तिम। यसको व्याख्या गर्दै उनी भन्छन्– शान्ति चाहनेले अन्तिम पंक्तिमा बस्न रुचाउनु पर्छ, तर राजनीतिमा अन्तिम पंक्तिमा बस्न नचाहने हुँदा ठेलमठेल गरेर भए पनि अरुलाई लडाएर आफू अग्रिम पंक्तिमा बस्न चाहने हुँदा शान्ति हुँदैन र युद्ध नै हुन्छ, लडाइँ– झगडा नै हुन्छ। ओशो यसो पनि भन्छन् – राजनीतिको मौलिक आधार नै बेइमानी, चालबाजी र लुच्चागिरी हो।
ओशोको अर्को पेचिलो भनाइ के छ भने जसले सिर्जनात्मक काम गर्न जाँदैन, संगीत, कला जान्दैन, चित्रकारी जान्दैन, त्यो राजनीतिमा लाग्छ। यो उनको निकै कडा प्रस्तुति छ।
ओशोको यो भनाइसँगै मेल खाने गरी हामीकहाँ पनि भन्ने गरिन्छ – जागिर नपाउने, बन्द व्यापार पनि गर्न नजान्ने, डाक्टर, इन्जिनियर, राम्रा प्रोफेसर तथा व्यवासायी व्यक्ति हुन नसक्नेहरु राजनीतिमा लाग्छन् र तिनले ती दक्षहरुलाई अह्राउँदै देश हाँक्छन्। यो एउटा विडम्बना छ र त्यस्ताहरुले चलाएको देशले के उन्नति गर्ला भन्ने एउटा सामान्य बुझाइको गहिरो भनाइ पनि छ हाम्रो समाजमा । हुन पनि राजनीतिको प्रारम्भिक चरण स्कूल र कलेज लेवलदेखि हेर्ने हो भने यस्तैयस्तै देखिन्छ। विद्यार्थी जीवन र युवा अवस्थामा राम्रो पढाइ, समझ र दक्षता भएकाहरु अधिकांश गैह्रराजनीतिक पेशामा नै जान्छन्। तर देश चलाउने राम्रो नीति बनाउने र दक्ष व्यवसायीहरुलाई निर्देशन गर्ने काम र निर्णयमा पुग्ने काम राजनीति गर्नेहरुले नै गर्छन्।
विश्वभरका राजनीतिज्ञको चरित्र, क्षमता र व्यवहार हेर्दा भेद विचित्रता त पाइन्छ नै र सफलता असफलता पनि सापेक्ष विषय छ। गीतामा प्रकृतिको गुण धर्मबारे उल्लेख छ र यस विषयलाई धेरै महत्व दिइन्छ जीवनको उर्ध्वगति र अधोगतिको मार्ग प्रवृत्तिमा । यसै आधारमा विवेकानन्दले राष्ट्र, समाज र व्यक्तिको उन्नतिका लागि समेत सत्व गुणलाई जगाउन, रजो गुण र तमो गुणलाई दबाउन आवश्यक रहने कुरा बताएका छन्।
सत्वको अंश केही मात्रामा पनि नहुँदा तथा रजोगुण र तमोगुणमात्र बढी, अझ तमोगुणको बाहुल्य बढी हुँदा मानिस स्वार्थी, हिंसक, लोभी, पापी र क्रोधी हुन्छ। यो अध्यात्मको विषय निकै वैज्ञानिक छ। गुण धर्मलाई आहार, विहार, शिक्षा, दिक्षा, संस्कार, संगत र परिवेशहरुले असर गर्छ। सम्पूर्ण पृथ्वीमा नै समय-समयमा नेतृत्व विभिन्न रुपमा देखा पर्नु प्रकृतिको गुण धर्मको ठूलो भूमिका छ। यो विषय सुक्ष्म छ तर सत्यमा आधारित छ।