कोरोनाको असर

‘पश्मिनाको निर्यात ठप्प, पछिल्लो तीन महिनामा ७५ करोड रुपैयाँको निर्यात रोकियो’

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि गरेको लकडाउन सरकारले झण्डै तीन महिनापछि केही खुकुलो गर्‍यो। लकडाउनका कारण व्यापार, व्यसाय, उद्योग, कलकारखाना लगायत सबै क्षेत्र ठप्प भए। जसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ।

लकडाउन तथा कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालबाट हुने निर्यातमा पनि व्यापक असर परेकाे देखिएको छ। पछिल्लाे तीन महिनाको अवधिमा पश्मिनाको नियार्तमा ७५ करोड रुपैयाँ बराबरको कमि आएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा विक्रम थापाले जानकारी दिए।

उनले कुल एक अर्ब २५ करोड रुपैयाँको तत्कालिन असर परेको बताए। ‘यो तत्कालिन असर हो। यसको दिर्घकालिन असर हेर्न भने बाँकी छ’, अध्यक्ष थापाले भने।

थापाले सामान्य अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मासिक २५ करोड रुपैयाँको पश्मिना निर्यात गर्ने गरेको बताए। उनले भने, ‘मासिक २५ करोडको निर्यात हुन्थ्यो। तर लकडाउनले ७५ करोडको निर्यात रोकियो। हामी वार्षिक रुपमा ३ अर्बको निर्यात गछौँ।’

उनले विश्वका ८० वटा मुलुक पश्मिना निर्यात हुने भएपनि सबैभन्दा बढी अमेरिका तथा युरोपमा निर्यात हुने गरेको बताए। ‘अमेरिका, युरोप लगायतका मुलुकमा बढी माग हुन्थ्यो’, अध्यक्ष थापाले भने, ‘तर अहिले ती मुलुकमा कोरोना कहर निकै भएकाले जनधनको क्षति भएको छ। जसका कारण पश्मिना रोकिएको छ।’

उनले अन्य मुलुकको तुलनामा नेपालमा कम क्षति देखिएकाले कोरोनापछि पश्मिनाको माग बढी हुनसक्ने बताए।

‘यस्ता विपत्ति सँगसँगै हामी कहिलेकाहीँ आशावादी पनि हुन्छौँ’, अध्यक्ष थापाले भने, ‘अब अन्य मुलुकहरुको निर्यात कस्तो हुन्छ भन्दा पनि त्यसको साटो अहिले हामी दुबै पक्षलाई हेरिरहेका छौँ। र अन्य मुलुकको तुलनामा हालसम्म नेपालमा कोरोना कम देखिएको छ। जसका कारणले पश्मिनाको अर्डर बढी आउने सम्भावना छ।’

अन्तर्राष्ट्रिय बजारमा मात्र नभइ आन्तरिक बजारमा पनि पश्मिनाको माग राम्रो भएको उनले बताए।

‘पश्मिना निकै मुलायम हुने र यसको सबै वर्गले प्रयोग गर्छन्। र नेपाल घुम्न आउने पर्यटकको पनि पश्मिना पहिलो रोजाइ हो। पर्यटकहरुले पश्मिना बढी मन पराउने भएकाले ठमेल क्षेत्रमा ५० करोड रुपैयाँ बराबरको कारोबार हुन्छ। तर अहिले व्यापार ठप्प छ’, अध्यक्ष थापाले भने।

नेपालमा कोरोना भाइरसकाे असरबाट अर्थतन्त्र तहसनहस हुने अवस्था आएको उनको भनाइ छ।

पश्मिना उत्पादनका लागि वार्षिक साढे दुई अर्ब रुपैयाँ बराबरको कच्चा पदार्थ आयात गर्ने गरेको उनले बताए। ‘हामीले साढे दुई अर्बको आयात गछौँ’, थापाले भने, ‘आयात गर्दा ३० प्रतिशत भ्याट तिर्छौँ।’

उनले नेपालमा एक सय ३५ वटा पश्मिना उद्योगहरु रहेको बताए। ‘करिब ७० उद्योगको पश्मिना विदेश निर्यात हुन्छ’, थापाले भने ‘उद्योगहरुमा २५ हजारदेखि ३५ हजार जनाले रोजगारी पाएका छन्।’

लकडाउनका कारणले उत्पादनमा पनि कमि आएको उनले बताए। ‘लकडाउनले गर्दा उद्योग बन्द भए र कामदारहरु पनि आ–आफ्नो घर गए। कामदार फर्किन पनि मुस्किल छ। जसका कारणले उत्पादनमा समस्या आएको छ’, उनले भने।

दुई दशकअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा पश्मिना थियो। केहि समय पश्मिना उत्पादनमा गिरावट आएपनि पछिल्लो समयमा पश्मिना निर्यात बजारमा सुधार आएको थापाले बताए।

अध्यक्ष थापाका अनुसार केही समयका लागि गिरावट आएपनि पछिल्ला केही वर्षयता पश्मिनाको ५/१० प्रतिशतले उकालो लाग्दैछ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा पश्मिनाको व्यापार बढ्दै गएको देखिन्छ।

संघको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा दुई अर्ब ४८ करोड ५१ लाखको पश्मिना निर्यात भएको थियो भने आव २०७५/०७६ मा दुई अर्ब ५१ करोड ४१ लाख रुपैयाँको निर्यात भएको थियो।

यस्तै आव २०७६/०७७ को नौ महिनामा एक अर्ब ८६ करोड ७३ लाखको पश्मिना निर्यात भएको संघले जनाएको छ।

असार ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्