पूर्वप्रेमीले तस्बिर सार्वजनिक गरेपछि ‘इन्गेजमेन्ट’को अघिल्लो दिन श्वेताले गरिन् आत्महत्या

विराटनगर – उदयपुर बेलका नगरपालिका २ की २४ वर्षीया श्वेता पोखरेल आइतबार बेलुका विराटनगरस्थित बस्दै आएको घरमा झुण्डिएको अवस्थामा मृत फेला परिन् ।

स्थानीय एक बचत तथा सहकारी संस्थामा कार्यरत पोखरेल असार १५ गते सोमबार बैवाहिक सम्बन्धमा जोडिदै थिइन् । पोखरेल परिवार बैवाहिक सम्बन्ध जोडिने क्रममा उत्साहित बनेको थियो । तर, त्यसपूर्व एकाएक श्वेताले आत्महत्या गर्न पुगिन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गर्यो । विवाहको वातावरणलाई लिएर पोखरेल परिवारभित्रको छाएको उत्साह एकाएक मौनतामा रोकिएको थियो । जब श्वेताले आत्महत्या गरिन् ।

यस विषयमा प्रहरीको सोधपुछ जारी रहँदै गर्दा श्वेताकी बहिनीले प्रहरी समक्ष किटानी जाहेरी दिइन् । विवाहपूर्व श्वेताले दुबईमा कार्यरत दिदी सरितालाई पूर्वप्रेमी सविन पराजुलीले विभिन्न प्रकारका मानसिक तनाव र विवाह भाड्ने म्यासेजहरु पठाएको जानकारी गराएकी थिइन् ।

यद्यपि, दिदी सरिताले श्वेतालाई विवाहका लागि तयार रहन र अन्यकुरामा ध्यान नदिन सुझाव दिएकी थिइन् । यसैबीच श्वेताले पराजुलीको मानसिक तनाव झेल्न सकिनन् र आत्महत्या गर्न पुगिन् ।

सविन पराजुली

अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले श्वेतालाई आत्महत्या गर्नका लागि पूर्वप्रेमी सविनले बाध्य बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

सो क्रममा प्रहरीले सुन्दरहरैंचा नगरपालिका मोरङ १० निवासी पराजुलीलाई मंगलबार पक्राउ समेत गरिसकेको छ । श्वेताकी बहिनी सरिताले दिएको जाहेरीलाई आधार मान्दै प्रहरीले सविनलाई पक्राउ गरेर आत्महत्या गर्न बाध्य पारेको भनेर दुरुत्साहन मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका पराजुलीले अनेक तनाव दिएर र प्रेम सम्बन्धमा रहँदा दुई जनाबीचमा खिचेका फोटा सार्वजनिक गरेर आत्महत्या गर्न बाध्य पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

यसअघि, पूर्वप्रेमी पराजुलीले श्वेतासँग बिहे गर्न नमानेपछि पारिवारिक सल्लाह बमोजिम उनको विवाह विराटनगरकै अर्का युवासँग गर्ने तय भएको थियो ।

सो कुराको जानकारी पाएका सविनले विवाह हुन नदिनका तनाव दिँदै आएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा विराटनगरमा कोठा भाडामा लिएर बसेकी श्वेता सविनसँगै महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत थिइन् । उनीहरुबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको दाबी छ ।

श्वेताले प्रेमलाई अन्ततः विवाहमा परिणत गर्दै अघि बढ्न आग्रह गरिरहेकी थिइन् । तर, सविनले बिहे गर्न अस्वीकार गरेपछि श्वेताको मागी बिहे विराटनगरकै अर्का २८ वर्षीय युवकसँग हुने टुँगो लागेको थियो ।

असार १४ गते बिहे गर्ने तयारी गरेर सोमबार फूलमालाको दिन तोकिएको थियो । तर अघिल्लो दिन आइतबार साँझ ६ बजे नै झुण्डिएको अवस्थामा श्वेताको शव फेला परेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदा अर्कै युवकसँग प्रेमीकाले बिहे गर्न लागेको थाहा पाएका सविनले बिहे भाँड्ने योजना अनुरुप विभिन्न प्रकारबाट मानसिक यातना दिने कार्य सुरु गरेको जनाएको छ ।

विवाह भाड्नका लागि सविनले सँगै खिचेको फोटा सार्वजनिक गरेपछि श्वेताको बिहे हुने नयाँ घरसम्म पुग्यो । उनका हुनेवाला श्रीमान्ले पनि श्वेता पहिले अरुसँगै प्रेममा रहेको थाहा पाएपछि उनलाई झन् तनाव थपिएको प्रहरी नायब उपरीक्षक राईको भनाइ छ।

उनका अनुसार बिहे गर्ने तयारीमा रहेका युवकले श्वेतालाई ‘तिमी यति धेरै मायामा रहिछौ, अब हामी बिहे नगरौं’ भनेको खुलेको छ ।

सोही तनाबका कारण श्वेताले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पीडित परिवारले पोस्टमार्टमपछि श्वेताको शवको दाहसंस्कार गरिसकेका छन् ।

असार १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू