उपाधि भन्दा मात्रै दुई अंक पर लिभरपुल

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि भन्दा अब दुई अंक मात्रै पर रहेको छ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि ४–० को जित निकालेको लिभरपुलले अब दुई अंक जोडेमा ३० वर्ष भन्दा बढी समयमा पहिलोपटक लिगको उपाधि जित्ने छ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा पनि थप दुई गोल गरेको हो।

उसका लागि २३ औँ मिनेटमा एलेक्सान्डर–अर्नोल्ड, ४४ औँ मिनेटमा मोहम्मद सालह, ५५ औँ मिनेटमा फाबिन्हो र ६९ औँ मिनेटमा साडिओ मानेले गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानको लिभरपुलको ३१ खेलबाट ८६ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलबाट ६३ अंक छ । पराजित भएको क्रिष्टल प्यालेस नवौँ स्थानमा छ र उसको ३१ खेलबाट ४२ अंक रहेको छ ।

असार ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्