भारत–चीन सीमा विवाद: शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने सहमति

गलवान उपत्यकाबाट भारतीय सैनिक हट्नु पर्ने चीनको माग

चीनले गलवान उपत्यकाबाट भारतीय सैनिक तथा पोस्टहरु हटाउनु पर्ने माग गरेको छ । चीनले यो माग जुन ६ र २२ मा भएको सैन्य कमाण्डर तहको वार्ता तथा बुधबार भएको विदेश मन्त्रालय तहको वार्तामा प्रस्तुत गरेको जनाइएको छ ।

बुधबार भएको वर्किङ्ग मेकानिजम फर कन्सलटेशन एण्ड कोअर्डिनेशन अन इन्डिया–चाइना बोडर अफिअर्स (डब्लुएमसिसी) को वार्तामा दुवै पक्ष अहिलेको तनाव शान्तिपूर्ण रुपमा समाधान गर्न सहमत भएका छन् ।

चीनको तर्फबाट गलवान उपत्यकाबाट भारतीय सैनिक हटाउने पर्ने माग प्रमुखताका साथ उठाइएका बेला डब्लुएमसिसीको बैठकमा शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने सहमति भएको भारत र चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

भारतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘डब्लुएमसिसीको बैठकमा दुवै पक्षबिच सीमा क्षेत्रमा भएको पछिल्लो घटनाक्रमबारे बिस्तारमा छलफल भयो । विशेष गरी पूर्वी लद्दाखको अवस्थाबारे कुरा भयो । भारतले जुन १५ को राति भएको भिडन्तबारे चासो व्यक्त गर्‍यो । दुवै पक्षले एलएसीको नियमलाई पूर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दियो ।’

तर चीनले जारी गरेको वक्तव्यमा भने शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने सहमति भएको उल्लेख भए पनि एलएसीलाई लिएर भने फरक धारणा प्रस्तुत भएको छ । चीनले गलवान उपत्यकाबाट भारतीय सेना हट्नु पर्ने माग गरेको छ ।

चीनले गलवान उपत्यका आफ्नो रहेको दाबी गर्दै आएको छ । भारतले सो दाबी खारेज गरेको छ । तर प्रधानमन्त्री नरेन्द्र मोदीले गएको शुक्रबार भएको सर्वदलीय बैठकमा जुन १५ को भिडन्तमा भारतीय सैनिक एलएसी पारी नगएको र कुनै पनि चिनियाँ सैनिक भारतीय भूमिमा प्रवेश नगरेको बताएपछि विवादमा छन् ।

असार ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्