कोरोना सङ्क्रमित बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा व्यापक परीक्षण हुने

भिक्टाेरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूज । स्राेत : एएपी

सिड्नी – अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ३३ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै सो राज्यमा नवौैँ दिनसम्म लगातार दोहोरो अङ्कले कोरोना संक्रमित बढेका छन् जसमध्ये एकजनाको मृत्यु भइसकेको छ ।

बिहीबार थपिएका ३३ संक्रमितमध्ये ७ जना होटेल क्वारेन्टाइनमा बसिरहेका छन् । त्यसैगरी ९ जना प्रकोप फैलिएको स्थानबाट र ६ जना नियमित परीक्षणबाट पुष्टि भएका थिए भने बाँकी ११ जना व्यक्तिको संक्रमणको श्रोत अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले भिक्टोरिया राज्यका केही सबर्बहरूमा व्यापक परीक्षण गरिने भएपछि आगामी दिनमा संक्रमितको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन् । सो १० सबर्बहरूमा केलर डाउन्स, ब्रोडमिडोज, मेडस्टोन, सनसाइन वेष्ट, अलबानभेल, हालाम, ब्रन्सविक वेष्ट, रेजरभोयर, पाकेनह्याम र फोकनर रहेका छन् ।

त्यसैगरी भिक्टोरिया राज्यमा होटल क्वारेन्टाइनमा सहयोग तथा व्यवस्थापन गर्नका लागि करिब १ हजार सैनिक परिचालन समेत गरिनेछ ।

प्रिमियर एन्ड्रूजले यो अवस्था भिक्टोरिया राज्यका लागि डढेलोभन्दा कम नरहेको बताएका छन् । उनले भने, “अतिप्रभावित क्षेत्रमा यदि कसैले तपाईंको ढोका ढकढक्याएर निःशुल्क कोरोना परीक्षणका लागि आग्रह गर्दछ भने त्यस आग्रहलाई खुशीसाथ मान्नका लागि म सम्बन्धित सबैसँग आग्रह गर्न चाहन्छु । यो हामी सबैको स्वास्थ्यका लागि ठूलो सहयोग ठहरिनेछ ।”

प्रिमियर एन्ड्रूजले ती क्षेत्रहरूमा आगामी दश दिनमा दिनको १० हजारका दरले १ लाख कोरोना परीक्षण गरिने र त्यसका लागि करिब ८ सय जना स्वास्थ्यकर्मीहरूको परिचालन गरिने पनि बताए ।

अस्ट्रेलियाभर हालसम्म ७ हजार ५ सय २१ जना कोरोना संक्रमित भइसकेको सरकारी तथ्याङ्क छ जसमध्ये ६ हजार ९ सय २४ जना निको भइसकेका छन् भने १ सय ४ जनाको मृत्यु भएको छ ।

असार ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू