विदेशबाट नागरिकको उद्धार

साउदीबाट मातृभूमि टेकेका युवक संकटको सहारा बने

काठमाडौँ– संकटका बेला मानिसका लागि सानो साथ या सहयोग पनि अमूल्य बन्छ। त्यो उनीहरुको मनमा सदा रहन्छ पनि।

नागरिकको अभिभावक सरकारमाथि हाल उत्पन्न प्रतिकूल परिस्थितिमा बाँच्न बाध्य आफ्ना नागरिकलाई सहयोग र हेरविचार गर्नुपर्ने थप दायित्व थपिएको छ। तर सरकारका जिम्मेवारी अधिकारीहरु संवेदनशील नबन्दा त्यसको दायित्व नागरिकहरु आफै बोक्न बाध्य बनेका छन्।

कोरोना भाइरसको संक्रमणका विदेशमा अलपत्र परेका नागरिकलाई उद्वार गर्ने सरकारको नीति आफैमा स्वागत योग्य थियो। तर, स्रोतसाधनको अभाव देखाउँदै सरकारले आफ्नो दायित्व समन्वयमा मात्र सिमित राख्यो, हवाईदेखि स्थलमार्गको यात्राको खर्च यात्रुले नै व्यहोर्ने गरी।

तीन/चार महिनादेखिको लकडाउनमा फसेका नेपाली नागरिकले आफ्नो जीवन बचाउन ऋण नै गरेर भए पनि सरकारको नीतिलाई पालना गरे र मातृभूमिमा पाइला टेके।

स्वदेश फर्किसकेपछि कम्तिमा आफ्नो जन्मस्थलसम्म सुरक्षित पुग्न सरकारले सवारी साधनको व्यवस्था गर्दिएको होला भन्नेमा उनीहरु ढुक्क थिए। तर आफैले गाडी भाडादेखि खाना खर्च व्यहोर्नु पर्ने अवस्था आएपछि कैयौँ युवाको ओठमुख सुक्ने गरेको छ।

यात्राका लागि ‘दलाल’ले ‘बार्गेनिङ’ गरिरहेकोबारे सरकार बेखबर छ या उसैको मिलोमतोमा त्यसो भइरहेको छ त्यसबारे नागरिक अनविज्ञ छन्। निरुपाय छन् । तर, तिनै युवाको सहारा बनेका छन् महेन्द्रनगरका दिनेश बोगटी।

साउदीको स्मालबर्गरमा ‘सिनियर अप्रेटर’ का रुपमा कार्यरत बोकटीका लागि करिब दुई दशकदेखि कामकै सिलसिलामा ६ महिना नेपाल ६ महिना साउदी यात्रा अनिवार्य बनेको छ।

पछिल्लो पटक उनको नेपाल आउने समय परेकै बेला कोरोनाले विश्वव्यापी महामारीको रुप लियो। लकडाउनलाई संक्रमण नियन्त्रणको औजारका रुपमा हेरियो।

चार महिनासम्म साउदीमै रोकिएका बोगटीलाई उनको कम्पनीले नेपाल नफर्किउञ्जेलसम्मका लागि खान बस्नको व्यवस्था गरिदियो।

तर यस्तो सुविधा खाडी मुलुकमा गएका अन्य युवाहरु उनी जस्तो भाग्यमानी थिएनन्। चर्को घाममा २४ घण्टा जस्तो खटिएर बचत गरेको उनीहरुको रकम लकडाउनका बेला सकियो।

साथीभाइ र आफन्तसँग गरेको ऋण र अभिभावकले जोहो गरिदिएको रकम तिरेर उनीहरु नेपाल छिरे।

अघिल्लो शुक्रबार त्रिभुवन विमानस्थलमा दुबई, साउदीलगायत बाट विमानस्थल ओर्लिएका सुदूरपश्चिमका १६ जना युवाहरुलाई अन्य नेपाली नागरिकसँगै सेनाले चक्रपथका विभिन्न स्थानमा सञ्चालित होल्डिङ सेन्टरसम्म पुर्‍यायो।

त्यहाँबाट प्रदेश सरकारले व्यवस्था गरेको गाडीमा आफ्नो जन्मथलो पुगिने उनीहरुको बुझाई थियो। तर कोरोना भाइरसको ‘स्क्रिनिङ’ गर्न नपाउँदै सवारी सञ्चालकहरु बार्गेनिङ गर्न आएपछि उनीहरु अत्तालिए।

आफूहरुसँग गाडी भाडाका लागि निकै कम रकम भएको सुनाउने या गुनासो पोख्नका लागि उनीहरुले होल्डिङ सेन्टरमा कोही भेटेनन्।

सरकारले विदेशबाट नागरिक ल्याउन तयार पारेको कार्यदेशमा हरेक प्रदेशका मन्त्री होल्डिङ सेन्टरमा पुग्ने र आफ्ना नागरिकका समस्या सम्बोधन गर्ने स्पष्ट व्यवस्था छ।

तर सुदूरपश्चिमका दुई जना केन्द्रीय मन्त्री बिना मगर र लेखराज भटट् दुवै अनुपस्थित थिए। पैसा नभएकाले तीयुवाले बसमा नजाने निधो गरे।

दुई वटा सिट खाली राखेर सामाजिक दूरी कायम राखेर सरकारले बसमा घर पुर्‍याउन मन्त्रीहरुले सहयोग गर्छन् भन्ने सुनेका उनीहरु तनावमा परे। केही सीप नलागेपछि उनीहरुले माइक्रोमा जाने योजना बनाए।

तर माइक्रोवालाले प्रतिव्यक्ति ३५ सय लिने अडान लिए। त्यति रकमदिन उनीहरुले सकेनन्। नेपाल छिरेर पनि आफ्नो घर पुग्न नसकिने भयो भन्दै निराश बनेका उनीहरुका लागि बोकटी देउता नै बन्न पुगे।

बोगटीले भने, ‘तिमीहरुसँग जति पैसा हाल । बाँकी म तिरिदिन्छु।’ ती युवाहरुले मुस्किलले प्रतिव्यक्ति २८ सय निकाले। बाँकी करिब १९ हजार बोगटीले तिरिदिए। तर माइक्रो भरिभराउ भएपछि बोगटीलाई नै ठाउँ भएन।

आफू जान उनले छुट्टै ३० हजार तिरेर ‘स्कार्पियो’ बुक गर्नुपर्‍याे। होल्डिङ सेन्टरबाट माइक्रो गुडयो। पछि पछि बोकटी चढेको स्कर्पियो।

तर सरकारको लामो प्रक्रियाले उनीहरुलाई सुदूरपश्चिमको कैलालीको अत्तरिया पुग्न करिब तीन दिन लाग्यो। भाडामै पकेट रित्याएका उनीहरुलाई बाटोमा पानीदेखि खाजासम्म बोकटीले नै खुवाए।

कोहलपुर र अत्तरिया झरेर छुट्टिएका युवालाई फेरि घरसम्म पुग्ने रकम पनि बोकटीले नै दिए। बोकटीले उनीहरुलाई अबर परेका आर्थिक सहयोग मात्रै गरेनन्।

घरमा पुगेपछि अव्यवस्थित र असुरक्षित क्वारेन्टिनमा बस्नु पर्ने तनावमा परेका ती युवाहरुलाई बाटोभरी सम्झाउने र बुझाउने पनि गरिरहन्थे। आफूलाई नै जोखिममा पारेर भए पनि।

नेपाल आउनुअघि कोरोना भाइरसको परीक्षण गरेका उनले संक्रमणको परीक्षण नगरी आएका युवाहरुलाई निरन्तर सहयोग गरे। लामो प्रक्रिया र प्रतिक्षाले आजित भएका युवाहरुले कलंकी, मुग्लिङलगायत स्थानमा सेनासँग आक्रोशित बन्न पुगेका बोकटीनै गएर उनीहरुलाई शान्त बनाउँथे।

बुटवलबाट सेनाले ‘स्कटिङ’ गर्न छोड्यो। त्यहाँसम्म मात्रै उसको डियुटी थियो।  त्यसपछि आफू स्वतन्त्र भएको अनुभव गरेका केही युवाहरु राजमार्गमा खुलेका होटलमा गएर खाना खान खोज्दा उनीहरुलाई बोकटीले नै रोक्थे। बरु आफैले अलग्गै प्याक गर्न लगाएर माइक्रोमै पुर्याइदिन्थे ।

बाँकेको कोहोलपुर पुगेपछि दिनेश बोगटी। तस्बीहरु दीपा दाहाल।

उनले भने, ‘सेनाले स्कर्टिङ गर्न छोड्यो भन्दैमा हामीले लापरवाही गर्नहुन्न। हाम्रो पनि त दायित्व हो यो बेला अरुलाई जोगाउने। बरु मलाई संक्रमण फैलियोस् अरु निर्दोषलाई जानी जानी फैलाउनु राम्रो होइन।’

माइक्रोमा केही गर्भवति समेत थिए। उनीहरुलाई पनि परेको सहयोग गरे बोकटीले।

बोकटी भन्छन्, ‘आफ्नो क्षमताले भ्याएसम्म संकटमा परेका मानिसलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। यसरी सहयोग गर्दा मलाई आनन्द प्राप्त हुन्छ।’

कैलालीको चिसापानी पुगेपछि उनीहरुलाई फेरि सेनाले ‘स्कटिङ’ गर्‍यो। अत्तरिया पुर्‍याएर छाडिदियो।

मध्यरातमा ती युवाहरु आफ्नो गतन्व्य जान कठिन थियो। समन्वयमा उत्रिने फेरि उनै बोकटी। ती युवाहरु सेनासँग निकै डराएका थिए। घरीघरी सेनाले कहाँ पुगियो भन्दै फोन गर्थे। घरमा पुगेपछि के हुने हो भन्ने डर थियो उनीहरुमा।

तर दिनेशले उनीहरुलाई धाप मार्दै भने, ‘सेना पनि हाम्रै दाजु भाइ हुन्। हाम्रो स्वास्थ्यको चिन्ता गरेर फोन गरेर सोधेका हुन्। हाम्रो स्वास्थ्यबारे सोधपुछ गर्ने जिम्मा सरकारबाट उनीहरुले पाएका छन्।’

आफूसँगै यात्रा गरेका सबै युवाको सूची बनाए, फोन नम्बर राखे। १४ दिन क्वारेन्टिनमा बस्ने र केही असहज भए आफूलाई फोन गर्ने सर्तसहित उनी युवाहरुसँग बिदा भए।

करिव तीन दिनको सहयात्री मात्रै होइन,सहयोगी बनेर  आफू पनि क्वारेन्टिनमा बस्ने शर्तमा बिदा भए। भोलिपल्ट उनलाई फोन गर्दा उनले विदेशबाट आएका अन्य साथीभाइको पनि विवरण बटुलिरहेको सुनाए।

त्यसो त उनी आफूलाई बाल्यकालदेखि नै मनकारी भएको बताउँछन्। रोजिरोटीका लागि विदेशिएपछि उनीमा सेवाभाव झन् बढ्दै गयो। उनी भन्छन्, ‘मानिसको मनमा सेवाको भाव अवश्य हुनुपर्छ। तर कसले कति गर्नसक्छ भन्नेको ख्याल गर्नुपर्छ।’

अधिकांश मानिसहरुमा आफ्नो स्वतन्त्रता र आफ्नो खुसीमा बढी केन्द्रीत हुने प्रवृत्ति देखिन्छ। तर, उनी आफू केही फरक रहेको बताउँदै भन्छन्, ‘तर म त्यस्तो हुन सकिनँ। मलाई आफ्नोभन्दा पनि अरुको चिन्ता लाग्छ। आफू त जसोतसो संघर्ष गर्न सक्छु जस्तो लाग्छ। तर सबै संघर्ष गर्न सक्दैनन्। पाँच रुपैयाँ नहुँदा आत्तिन्छन्।’

बाँकेको कोहलपुरमा विदेशबाट आएका युवाहरुलाई परामर्श गर्दै दिनेश बोगटी। तस्बीहरुः दीपा दाहाल।

बोकटी पहिले नेपाल छिर्दा र अहिले छिर्दा परिवेश नै फरक छ, त्यसैले उनलाई थप संवेदनशील र चिन्तित पनि बनाएको छ।

यसपटकको नेपाल बसाईमा कोरोना नियन्त्रणका लागि युवाहरुलाई परिचालन गर्ने र संकटका परेकालाई सहयोग गर्ने उनको योजना छ।

बोकटीलाई सरकारको विश्वास छैन। सरकारको भर पर्दा नागरिकको ज्यानजान सक्ने उनको बुझाई छ। ‘अब आफ्नालागि मात्रै होइन अरुका लागि पनि काम गर्ने दिन आएका छन्। सरकारले हाम्रो दुःख देख्ला भन्नु नै गलत हो’, उनले भने।

हुनपनि उनले काठमाडौँबाट महेन्द्रनगरसम्म सडक यात्रागर्दा जे देखे, जे भोगे त्यसबाट सरकारको भरपर्नु व्यर्थ हो भन्ने नै निष्कर्ष निस्किन्छ।

राजमार्गमा अहिले कोरोनाका कारण अधिकांश होटल, नास्ता पसल बन्द छन्। खुलेकाहरुमा पनि चर्को मूल्य असुल्ने होड छ।

विदेशबाट होस् या स्वदेशबाट आफ्नो गन्तव्य तय गरेकाले सास्ती पाएका छन् तर त्यहाँ बोकटीले भनेजस्तै राज्यको उपस्थिति शून्य छ।

असार ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू