भारत चीन-सीमा विवाद

स्याटेलाइट तस्बिर सार्वजनिक भएपछि गलवानबारे चीन र भारतबीच तनाव बढ्यो

भारतले सीमा विवादलाई लिएर पछिल्लो पटक देखिएको परिस्थितिको निरन्तरताले सम्बन्ध सुधार तथा बिस्तारका लागि भएका प्रयासहरुलाई धुमिल पार्ने बताएको छ ।

भारत र चीनबिच पूर्व लद्दाखको लगवान उपत्यकासहितका क्षेत्रको सीमालाई लिएर विवाद चुलिएको छ । सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जुन १५ को राति भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको निधन भएपछि दुवै पक्षबिच आक्रोश र तनावको अवस्था छ ।

समस्या शान्तिपूर्ण रुपमा समाधान गर्नका लागि तयार रहेको दुवै पक्षले बताए पनि आरोप प्रत्यारोप भने जारी छ ।

सैन्य तथा बुधबार भएको कूटनीतिक वार्तामा भारत र चीन वर्तमान तनाव शान्तिपूर्ण रुपमा समाधान गर्न सहमत भएका थिए । तर स्याटेलाइट तस्बिरहरुमा जुन १५ को राति भिडन्त भएको क्षेत्रमा ठूलो संख्यामा चिनियाँ सैनिकले निर्माण कार्य गरिरहेको देखिएको दाबीसहितका खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेपछि तनाव थप बढ्ने संकेत देखिएको हो ।

तर भारतको विदेश मन्त्रालयले भने समस्या समाधानका लागि प्रयास भइरहेको र यसलाई धुमिल पार्न नहुने बताएको छ ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, गलवान उपत्यका क्षेत्रमा दुवै पक्षका सैनिकहरु ठूलो संख्यामा तैनाथ छन् । तर सैन्य तथा कूटनीतिक स्तरमा सम्पर्कहरु भइरहेका छन् ।

श्रीवास्तवले जारी गरेको वक्तव्यमा भनिएको छ, यो संकटको जड मे को सुरुदेखि सुरु भएको हो, चिनियाँ पक्षले एलएसीमा ठूलो संख्यामा हतियारसहित सैनिक तैनाथ गर्यो । यो कुरा सन् १९९३ मा भएको सम्झौता विपरित हो ।

उनले वक्तव्यमा अघि भनेका छन्, भारतीय सैनिकको तैनाथी चीनले सेना तैनाथ गरेपछि प्रतिरक्षाका लागि भएको स्पष्ट पार्न चाहन्छौँ ।

जुन २० मा प्रधानमन्त्रीको कार्यालयले चिनियाँ सैनिक एलएसीमा थप ठूलो संख्यामा तैनाथ भएकाले त्यसै अनुरुप भारतको प्रतिक्रिया अघि बढेको बताएको थियो ।

असार १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्