कान्तिपुर मिडिया ग्रुपद्वारा कान्तिपुर र काठमाडौँ पोष्टबाहेक आफ्ना सबै प्रकाशनहरु बन्द

काठमाडाैँ – कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट बाहेक आफ्ना सबै प्रकाशनहरु बन्द गरेको छ । कान्तिपुर ग्रुपले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको हो ।

कोरोना कहरका कारण धान्न नसकिने आर्थिक स्थतिलाई कारण देखाउँदै कान्तिपुरले यी तीनवटै सहप्रकाशनहरु बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

‘तत्कालका लागि १० महिनासम्म यी तीनवटै प्रकाशनहरु बन्द गर्ने निर्णय भएको छ’, कान्तिपुर श्रोतले भन्यो ।

तर ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिकमा कार्यरत पत्रकारहरुको व्यवस्थापन के हुने भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन । श्रोतका अनुसार कान्तिपुर व्यवस्थापनले यसबारे केही निर्णय गरेको छैन । यी तीन प्रकाशनमा गरी करिब ५० पत्रकार कार्यरत छन्।

कान्तिपुर व्यवस्थापनले यो निर्णय लिनुअघि पत्रकार महासंघका पदाधिकारीसँग पनि छलफल गरेको बुझिएको छ ।

कोरोना रोकथामका लागि जारी लकडाउनकैबीच कान्तिपुरले सबै प्रकाशनहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । त्यसको एक हप्तापछि कान्तिपुर र काठमाडौँ पोष्ट प्रकाशन सुरु भए पनि अन्य प्रकाशनहरु सुचारु भएका थिएनन् ।

असार १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्