मकवानपुरमा सुरु भयो नमूना जनगणना

पर्सा-राष्ट्रिय जनगणना–२०७८ को पूर्वतयारी स्वरुप नमुना (पाइलट) जनगणना मकवानपुरमा सुरु भएको छ।

केन्द्रीय तथ्याङ्क विभागको पूर्वनिर्धारित तालिकाअनुसार गत चैतमा पाइलट जनगणना सम्पन्न हुनुपनै भएपनि कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीन महिना ढिलो गरी नमुना (पाइलट) जनगणना गत असार १ गतेदेखि मकवानपुरमा सुरु भएको तथ्याँक कार्यालय मकवानपुरका तथ्याँक अधिकृत राजेश दासले जानकारी दिए।

कोरोना भाइरसको त्रास जारी रहेपनि भौतिक दूरी कायम गरेर कर्मचारी, गणक र सुपरीवेक्षक खटाइएको दासले बताए । ‘मेरो गणना, मेरो सहभागिता’ नारा सहित राष्ट्रिय जनगणना आउँदो २०७८ जेठ २५ गतेबाट असार ८ गते सम्पन्‍न हुनेछ।

अघिल्ला जनगणनामा लगत–१ र लगत–२ गरी दुईखाले प्रश्नावली फरक ढंगले सोधिएको थियो ।अहिले ती दुवै मिलाएर एकीकृत प्रश्नावली निर्माण गरिएको अधिकृत दासले बताए।

‘एकीकृत प्रशनावलीका आधारमा पूर्ण जनगणना गर्नु पर्ने भएकाले नमुना (पाइलट) जनगणना अनिवार्य गरिएको हो, दासले भने, ‘पूर्वनिर्धारित तालिका अनुसार छनोट गरिएका क्षेत्रमा नमुना (पाइलट) जनगणनाका निम्ति जनशक्ति खटाइसकेका छौं ।’नमुना (पाइलट) जनगणनामा खटिएका जनशक्तिलाई स्यानिटाइजर, मास्क र पंजा पर्याप्त मात्रा उपलब्ध गराइएको छ।

उनीहरूले उत्तरदाताको घरभित्र पस्न नहुने, खुला ठाउँमा रहेर प्रश्नावली भर्नु पर्ने, कुनै पनि सामान छुन नहुने, अनावश्यक गफ गर्न नहुने भनिएको उनले बताए।मकवानपुरमा नमुना (पाइलट) जनगणनामा संलग्न जनशक्तिमध्ये सुपरीवेक्षक १ जना, गणक ४ जना लगायत कार्यालयका समेत कर्मचारी खटिएका छन्।

मकवानपुर जिल्ला अन्तर्गत छनोटमा परेका ४ वटा गणना क्षेत्रको घरपरिवार सूचीकरण फाराम अनुसार कूल घरसंख्या ६३८ र कूल घरपरिवार संख्या ८६७ को पूर्ण जनगणना भइरहेको छ। शुक्रबारसम्म १२ दिनको अवधिमा ५ सय ४३ घरपरिवारहरुको जनगणना भएको तथ्याङ्क अधिकृत दासले जनाकारी दिए।

मकवानपुरमा भईरहेको पाईलट जनगणना अन्र्तगत हेटौंडा उप-महानगरपालिकाको गणना क्षेत्रमा २ वटा ट्याबलेट प्रयोग गरिएको छ भने इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकामा छापा प्रश्नावलीमा लिखित रूपमा विवरण भरिने कार्य भइरहेको छ।

नमुना (पाइटल) जनगणना असार १५ गतेभित्र सकिने विभागिय निर्देशन भएता पनि अबिरल वर्षा, पहाडी भेगमा गएको पहिरो र बाटो निर्माण लगायतका कार्यले बाटो अवरुद्घ भएको कारण बढीमा ३ दिन सम्म ढिलो हुन सक्ने कार्यालयका खरिदार राजकुमार वि.क.ले बताए ।नमुना पाइलट जनगणनामा सोधिने प्रश्नावलीलाई ‘ए’ र ‘बी’ गरी दुई खण्डमा समेटिएका छन्।

परिचयात्मक खण्डमा प्रदेश, जिल्ला, गाउँपालिका÷नगरपालिका, वडा, गाउँ÷बस्ती÷टोल, परिवारमूलीको नाम÷थर र सम्पर्क टेलिफोन नम्बर उल्लेख गरिएको छ।परिवारका सदस्यहरुको संख्या, अक्सर बसोवास गर्ने (६ महिनाभन्दा बढी बस्ने), अनुपस्थित (स्वदेश वा विदेशमा) रहेको सदस्यसमेत उल्लेख हुनेछ।

पारिवारिक खण्डमा परिवारले प्रयोग गरेको घरको स्वामित्व, घरको जग, बाहिरी गारो, छानाका किसिम, घरको भुइँ, खानेपानीको मुख्य स्रोत सोधिनेछ। त्यसैगरी परिवारमा खाना पकाउन प्रयोग हुने इन्धन, बत्तीको स्रोत, चर्पी, महिलाको नाममा रहेको घररजग्गा, कृषि बाहेक कुन मुख्य साना घरेलु व्यवसाय र त्यसको संचालक उल्लेख गरिने छ।

घरायसी सुविधा तथा साधन अन्तर्गत टेलिभिजन, इन्टरनेट, मोबाइल, ल्यान्डलाइन टेलिफोन, कम्प्युटर र ल्यापटप, साइकल, मोटर साइकल, गाडी, साइकल, रेफ्रिजेरेटर, वासिङमेसिन, माइक्रोवेभ ओभन पर्दछन्। त्यसैगरी प्रत्येक परिवारले पालेको पशु र पंक्षी, घरेलु व्यवसाय लगायतको लगत लिइने छ ।त्यसैगरी बितेको १२ महिनामा कुनै परिवारको सदस्यको मृत्यु भएमा मृत्युको कारण सहित खुलाउने व्यवस्था प्रश्नावलीमा छ।

मृतक १५ देखि ४९ वर्षको महिला भए मृत्यु हुँदाको अवस्था समेत उल्लेख हुनुपर्नेछ ।व्यक्तिगत विवरणअन्तर्गत परिवारमा अक्सर बसोवास गर्ने व्यक्तिको नाम र थर, परिवारमूलीको नाता, लिंग, जन्म मिति, जात–जाति, पहिलो भाषा (मातृभाषा), दोस्रो भाषा र पुर्खाको भाषा, धर्म, वैवाहिक स्थिति उल्लेख हुनेछ ।
त्यसैगरी शैक्षिक विवरण, पढाइको क्षेत्र, बसाइँसराई, प्रजनन, अपांगता सम्बन्धी विवरण समेटिनेछ ।नेपालमा १९६८ साल (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो। त्यसयता प्रत्येक दश–दश वर्षमा जनगणना हुँदै आएको छ।

पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार देशको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ। अब हुने १२ औ जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना हुनेछ।

असार १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्