एसिडपीडित युवतीको कथा

मुस्कान खातुनको फर्किएको मुस्कान

मुस्कान खातुन। तस्बिरहरु: बर्षा शाह

‘पढाइ।’

‘स्कुल।’

‘किताब।’

‘कापी अनि कलम।’

यिनै चिजसँग उनको गहिरो ‘प्रेम’ बसेको थियो। यिनकै प्रेममा लिप्त थिइन्। कहिलेकाहिँ कल्पनाको संसारमा हराउँथिन्। अनि सपना देख्न थाल्थिन्, ‘डाक्टर’ बन्ने।

१५ वर्ष टेकेकी उनी अन्य कुरामा चासो देखाउँथिन्। उनीमा केही चासो थियो त सिर्फ पढाइ–लेखाइको मात्रै। बुवा–आमाको दुःख बुझेकी जागिर गरेर उनीहरुलाई खुसी राख्न चाहन्थिन्। उनी सधैँ आफ्ना बुवालाई भन्ने गर्थिन्, ‘बुवा म धेरै पढेर जागिर गरेर तपाईँहरुलाई राम्रोसँग पाल्छु। तपाईको हात बटार्छु।’

उनको यस्तो कुराले बुवा–आमा दंग पर्थे। उसो त तराई त्यसमा पनि मुस्लिम परिवारमा छोरीलाई नपढाएर सानै उमेरमा बिहे गरिदिने चलन छ। उही मुस्लिम समुदायमा हुर्किरहेकी उनका लागि पनि बिहेको कुरा नआएको नआएको होइन। तर उनको परिवारले छोरीलाई पढाएर समाजमा परिर्वतन ल्याउन खोजे। तर त उनी छोरी भए पनि उनलाई धेरै पढाउने सपना बोकेका थिए, उनका बुवा–आमाले।

तर भदौ २० गते बिहान स्कुल जाँदा उनले देखेका ‘सपना’ माथि धक्का लाग्यो। एकाएक अप्रत्यासित घटना घट्यो। दिनको सुरुवातसँगै स्कुल जाँदै गरेकी उनीमाथि ‘एसिड’ प्रहार भयो।
अनुहारमा छ्यापिएको ‘एसिड’ सँगै उनले देखेका सपना ‘छताछुल्ल’ भए।

९ कक्षामा पढ्दै गरेकी मुस्कान खातुनले कक्षामा शिक्षकले पढाउदा एसिडको बारेमा पढेकी थिइन्। एसिडले जल्छ भन्ने मात्र थाहा पाएकी थिइन्। किताबमा पढेको भए पनि मुस्कानले आफू माथि खनिएको एसिड हो भनेर थाहा पाउन सकिनन्।

उनलाई लाग्यो ‘छिल्लिएका’ केटाहरुले अनुहारमा तातो पानी खन्यादिए। पानी जस्तो तरल पदार्थ उनको अनुहार, घाँटी, हातमा पर्ने बित्तिकै भत्भति पोल्न थाल्यो। जुन पोलाई उनलाई असह्य भयो।

भुईँमा बज्जारिइन्। छट्पटाउँदै चिच्याउन थालिन्।

उनीसँगै स्कुल जान बाटोमा हिँडिरहेका साथीले मुस्कानलाई अस्पताल पुर्‍याए।

वीरगञ्जको नारायणी अस्पतालमा प्राथमिक उपचारपछि मुस्कानलाई काठमाडौँ रिफर गरियो। काठमाडौँको कीर्तिपुरस्थित काठमाडौँ मोडेल अस्पताल पुगेपछि मात्र मुस्कानलाई थाहा भयो, आफू माथि एसिड आक्रमण भएको रहेछ।

यसरी मानिसमाथि नै एसिड छ्यापिनु उनका लागि नौलो कुरा थियो। योभन्दा अगाडि मुस्कानले एसिड आक्रमणको घटना न कतै देखेकी थिइन्। न कतै सुनेकी नै थिइन्। थिइन, त केवल विज्ञान किताबमा पढेकी मात्र।

किताबका पानामा पढेको कुरा आफै माथि पर्दा उनलाई पत्याउनै गाह्रो भयो। उनले आफूलाई सम्हाल्न सकिनन्। उनी रोइन्। चिच्याइन्। कराइन्। तर बिस्तारै उनी सम्हालिँदै गइन्।

एसिड आक्रमणमा परेपछि उनलाई धेरै चिन्ता लाग्न थालेको थियो। चिन्ता उनलाई उनलाई आफ्नो स्वरुप बिग्रियो भन्ने होइन, आफ्नो पढाइ छुट्ने चिन्ता थियो। त्यसैले त उनी बेहोसीमा पनि स्कुल, किताब–कापी भनेर बर्बराइरहन्थिन्।

बेहोसीमा पढाइको जिकिर गर्दै बर्बराइरहेकी मुस्कानको टाउकोमा हात राख्दै उनका बुवा रसुल अन्सारीले सबै कुरा ठिक हुन्छ भन्ने ढाडस दिइरहन्थे। रसुललाई बालिका छोरीको यस्तो हाल गराउनेहरु प्रति प्रतिशोधको भावना उत्पन्न भइरहेको थियो। बदलाभन्दा पनि पहिला छोरीको उपचार अत्यन्तै महत्पूर्ण भएको रसुललाई लाग्थ्यो। उनी आइसियूको बेडमा सुतिरहेकी छोरीलाई छिन–छिनमा ढोकाबाट चिहाइरहन्थे।

आमा सहनाज खातुन आइसियू वार्डको बाहिर बसेर छट्पटाइरहन्थिन्। नर्सले ढोकाबाट बोलाउने बित्तिकै मुस्कानलाई खुवाउन केही झोलिलो खाने कुरा प्लास्टिकको गिलासमा समातेर वार्डभित्र छिर्थिन्।

छोरीको पीडामा छटपटिरहेका उनै बुवा–आमालाई मुस्कान बारम्बार सोधिरहन्थिन्, ‘मेरो अनुहारमा के भएको छ? मलाई यति धेरै मान्छे भेट्न किन आइरहेका छन्। म निको भएर कहिले स्कुल जान्छु।’

मुस्कानको यस्तो प्रश्नले रसुल र सहनाजलाई कमजोर बनाइरहेको थियो।

मुस्कान कुनै गल्ती बिना यस्तो पीडाबाट गुज्रनु परेको देख्दा रसुलको रिसले सिमा नाग्थ्यो। उनको मनमा आगो दन्किन्थ्यो। उनी यताउता भौँतारिन्थे र दोषीलाई कडा भन्दा कडा सजाय होस् भन्ने चाहन्थे। तर रसुलले सोचेजस्तो भएन, दोषीलाई बालक ठहर्‍याइयो र बाल–सुधार गृहमा पुर्‍याइयो। दोषी युवकहरुलाई बाल–सुधार गृह पुर्‍याइएको कुरा रसुललाई रत्तिभर पनि चित्त बुझेकै छैन। उनी पटक–पटक भन्ने गर्छन्, ‘ती नाबालक भएको भए, मेरी छोरीलाई एसिड खन्याउने सोच कहाँबाट आयो? नाबालकले यस्तो अपराधिक योजना कसरी बनाउन सक्छ?’

उता अपराधीलाई सुधार गृह लगियो भने यता मुस्कानले देखेका सपना उनको मनमै थन्किए। न त मुस्काले सोचेकी थिइन्, न त उनका बुवा–आमाले नै उनीमाथि यो बज्रपात आइपर्ला भनेर। बिहानै स्कुल हिडेकी छोरीमाथि एसिड छ्यापिन खातुन परिवारको कल्पना बाहिरको कुरा थियो जुन घटनाले उनीहरुलाई विक्षिप्त बनायो।

अझै पनि त्यस दिन अर्थात गत भदौ २० गतेको घटाना मुस्कानको मनसपटलमा ताजै छ। एसिडबाट बनेका घाउ अझै सुकेका छैनन्। एसिडले छोएको मुस्कानको अनुहारको दायाँपट्टि र घाँटीका खाटा सुक्ने क्रममा छन्।

सुक्नै लागेको अनुहारको घाउलाई खुल्लै छोडेपनि मुस्कान औषधी लगाउँछिन् अनि ‘इन्फेक्सन’ नहोस् भन्नका लागि घाउ छोपेर राख्छिन्।

यसो गर्दा उनको घाउ ‘इन्फेक्सन’ हुनबाट जोगिन्छ।

घाउ छोप्नका लागि घाँटीमा लपेटिएको सलको फेरो घुमाउँदै भनिन्, ‘घाँटीमा धेरै पोलिएको थियो, पेटको छाला काँटेर घाँटीमा ‘अप्रेशन’ गरिएको छ।’

उनलाई सबै भन्दा पीडादायी क्षण त्यही हो जुन दिन उनको शरीरको एक ठाउँको छालालाई कटेर अर्को ठाउँ राख्ने गरिन्थ्यो।

एसिड आक्रमण उनको जीवनको नमिठो क्षण भएपनि उनले यो घटनालाई एउटा पाठको रुपमा लिएकी छन्। उनी अगाडि बढ्न थालेकी छन्।

तर त्यस दिनको घटनालाई उनी यसरी सम्झिन्छिन्, ‘बाटोमा उभिइरहेका दुई जना केटाले मलाई मुस्कान, ओए… मुस्कान यो पानी खान न भन्दै थिए। मैले तिमीहरुले दिएको पानी किन खाने भनेर आफ्नो बाटो हिँडे। मैल नखाएर हिँडेपछि उनीहरुले मलाई पछाडि फर्केर हेर्न भनेर धेरै पटक बोलाएपछि पछाडि फर्किदा फर्किदै खान भनेको पानी मेरो अनुहारमा फ्याँकिदिए। एसिड खुवाउने सोच रै’छ उनीहरुको मैले खान नमाने पछि अनुहारमा फ्याकिदिए।’

परबाट फ्याँकिएका तरल पदार्थ अनुहारमै पर्ने भएपछि मुस्कानले स्कुल ब्यागले छेक्ने कोशिस गरिन्। तर ब्यागले पूरै छेक्न सकेन। एसिडले उनको घाँटी, हात र अनुहारको दायाँ भागमा प¥यो।
एसिडको पोलाईको असिमित पीडा थियो। त्यही असिमित पीडालाई उनले आफ्नो शक्ति बनाएकी छन्।

‘मुस्कुराउन’ थालेकी छन्।

अब यो भन्दा बढी बुवा–आमालाई दुखी बनाउनु हुँदैन भन्ने कुराको आभास उनले गरिसकेकी छन्। मुसुक्क मुस्कुराउँदै उनले भनिन्, ‘म दुखी भए, बाबा–मम्मी दुखी हुनुहुन्छ। त्यसैले अब खुसी हुने हो। राम्रो गर्ने हो।’

आफू कमजोर हुनु भनेको अपराधीहरुलाई हौसला दिनु सरह रहेको उनी बताउँछिन्। आफूलाई यस्तोे हालतमा पुर्‍याउनेहरुका अगाडि जीन्दगीमा केही गरेर देखाउनु पर्छ भन्ने दृढता उनीमा पलाएको छ।

‘मेरो जीवनमा एउटा नराम्रो दुर्घटना घटेको थियो। जसलाई मैले पछाडि छोडेर आगाडि बढिसकेकी छु’, उनले थपिन्, ‘मलाई मेरो ‘पाष्ट’ भन्दा पनि ‘फ्यूचर’को धेरै चिन्ता छ। त्यसैले यही घटनामा अल्झेर म अब बस्दिन।’

पीडाले विक्षिप्त भएकी मुस्कानलाई नेपाली तथा इण्डियन कलाकारहरुले हौसला प्रदान गरे। उनको आत्मबल बढाउन सघाए। उनै कलाकारको आत्मबल अनि हौसालकै कारण आफूमा परिर्वतण आएको मुस्कानले सुनाइन्।

अझै सबै भन्दा ठूलो ‘सपोर्ट’ परिवारको हुनु पर्छ भन्ने उनलाई लाग्छ। उनले भनिन्, ‘म पीडामा भइरहेका बेला सबै भन्दा धेरै मलाई मेरो परिवारले साथ दियो। हामीलाई भन्दा धेरै पीडा बुवा–आमालाई हुन्छ। तर पनि उहाँहरु हाम्रा लागि आफ्नो दुःख नदेखाएर हामीलाई हौसला प्रदान गरिरहनु भएको हुन्छ। त्यसैले त मेरा लागि उहाँहरु सबथोक हुनुहुन्छ।’

आफूले जे भोग्नुपर्‍यो, त्यो अरुले भोग्नु नपरोस् भन्नले लाग्छ उनलाई।

‘म त भन्छु, मेरो बुवा–आमले जस्तो पीडा अरु कुनै पनि बुवा–आमाले भोग्नु नपरोस्’, बोल्दै गरेकी उनी एक छिन टक्क रोकिइन्।

पहिलेकी र अहिलेकी मुस्कानमा धेरै कुरा परिवर्तण आएको छ। भविष्यमा केही गर्नु पर्छ भन्ने दृढता बढेको छ। आफ्नो लक्ष्य हासिल गर्नका लागि अझै बलियो आँट पैदा भएको छ। जिन्दगीलाई सफल तरीकाले सोच्न थालेकी छन्। बुवा–आमाको अनुहारमा मुस्कान ल्याउन खोज्छिन्।

मुस्कुराउँदै गरेकी मुस्कानल शरीरका बस्दै गरेका ती खाटालाई हेर्छिन्। बिनागल्ती पाएको सजाय भन्ने सोच्छिन्, र मनलाई अझ दरिलो बनाउँछिन्।

जलेको भाग शल्यक्रिया गर्दा होस् वा ड्रेसिङ् गर्दाको त्यो पीडा असह्य हुन्छ। तर पनि उनी चुपचाप भएर सहन्छिन्। बेला बेला अस्पताल पुग्ने गर्छिन्। तर अन्य एसिड पीडित जसरी मुस्कान अस्पताल होस् वा बाटोमा बोस् सामाजिक रुपमा बिचराको पात्र आजसम्म बन्नु परेको छैन। किनकि मुस्कान अस्पताल जाँदा बुर्का लगाएर निस्कने गर्छिन्। तर बुर्का पहिरिनु उनको यो नयाँ अनुभव हो। यो भन्दा अगाडि उनले कहिल्यै बुर्का लगाएकी थिइनन्।

बुर्का लगाएर बाहिर हिँडेको यो आफ्नो पहिलो अनुभव भएको मुस्कानले बताइन्। ‘बाहिर हिँड्दा घाउको इन्फेक्सन नहोस् भनेर बुर्का लगाएर अस्पताल जान्छु। नत्र त मलाई आफ्नो अनुहार लुकाएर हिँड्न मन छैन’, उनले भनिन्,‘मैले अनुहार लुकाएर हिड्दा मलाई एसिड छ्याप्नेहरुलाई मैले ठिक गरे छु भन्ने लाग्न सक्छ।’

अनुहार लुकाएर हिँड्दा अपराधीलाई प्रोत्साहन गरेजस्तो लाग्ने उनले बताइन्। ‘अनुहार लुकाउने हिँड्न त्यसले पर्छ जसले ममाथि एसिड छ्यापेको थियो, उनीहरुलाई लाज लाग्दैन’, उनले थपिन्, ‘अनि म किन अनुहार लुकाएर हिँड्नु?’

यही घटनाका कारण उनको पढाइ बीचमै रोकियो।

तर अब उनी चाँडै पढाइ सुरु गर्ने छन्। आफ्नो डाक्टर बन्ने सपनालाई पूरा गर्न लागि पर्ने छन्। उनलाई लागि पढाइलेखाइ भन्दा ठूलो केही छैन्। भन्नेहरु भन्दै गर्छन्, ‘म आफ्नो सपना पूरा गर्न लाग्ने छु’, उनले भनिन्।

अनि फेरि मुसुक्क मुस्काइन्, नामजस्तै।

असार १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्