चट्याङ्गबाट कसरी जोगिने, कस्ता सावधानी अपनाउने?

काठमाडौँ – देशभर अहिले मनसुनी गतिविधि सक्रिय रहेको छ । यो बेला लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहन्छ ।
त्यससँगै अर्को विपदको नाम हो चट्याङ्ग । बर्खा याममा चट्याङ्गका कारण मानवीय क्षतिका खबर प्रायः दैनिक आउँछन् ।
मौसमविदका अनुसार मनसुन भन्दा प्रि–मनसुनको समयमा चट्याङ्गको जोखिम बढी रहन्छ । तर यसो भन्दैमा मनसुन सुरु भएपछि चट्याङ्गको जोखिम हुँदैन भन्ने होइन । यो समयमा पनि जोखिम रहन्छ ।
चट्याङ्गबाट जोगिनका लागि के गर्न सकिन्छ त?
कसैमाथि चट्याङ्ग परेमा तत्काल अस्पताल लैजानु पर्छ । चट्याङ्ग लागेका मानिसलाई छुँदा अरु व्यक्तिलाई केही पनि हुँदैन ।
चट्याङ्ग लागेर ढलेको व्यक्तिको नाडी विचार गर्नु पर्छ र प्राथमिक उपचार दिन सकिन्छ भने दिनु पर्छ । चट्याङ्ग लागेका व्यक्तिमा प्रायः दुई भागमा जलेको हुन्छ, पहिलो चट्याङ्ग लागेको र दोस्रो निस्किएको भागमा ।
चट्याङ्गका कारण व्यक्तिको हड्डी भाँच्चिएको पनि हुन सक्छ । यस्तै श्रवण शक्ति र दृष्टि पनि गुम्न सक्छ, त्यसको जाँच गरिनु पर्छ ।
चट्याङ्ग परेलगत्तै घर बाहिर निस्कनु हुँदैन । बादल मडारिएको वा आँधी आएको ३० मिनेटपछिसम्म पनि चट्याङ्ग पर्छ र त्यसले क्षति गर्छ ।
बादल लागेको छ र गड्याङ्ग गुडुङ्ग गरेको छ, तपाईँको शरीरमा काँडा उम्रिएको (रौँ ठाडा भएको) भने भने त्यो चट्याङ्ग पर्ने शंकेत हो । यस्तै अवस्थामा निहुरी परेर बस्नु पर्छ । हात घुँडामा राखेर टाउको दुई गोडाको बिचमा राख्नु उपयुक्त हुन्छ ।
छाता या मोबाइल फोनको प्रयोग गर्नु हुँदैन । धातु मार्फत चट्याङ्ग शरीरमा घुस्न सक्छ।
एकै ठाउँमा दुई वा त्यो भन्दा धेरै पटक पनि चट्याङ्ग पर्न सक्छ