हाम्रो आवाज पनि सुन्नुहोस्- १३

कसलाई भनूँ मेरो पीडा?

मेरो नाम सबिना सिंह हो। मेरो जन्मस्थान नेपालगन्ज बाँके हो। म सानो हुँदा कान सुन्ने नै थिएँ तर विस्तारै उमेर बढ्दै जाँदा, यस्तै १२ वर्षको उमेरमा मलाई टाइफाइड भएको थियो। त्यसको कारणले गर्दा मेरो कान धेरै नै कराउने, कानभित्र मौरी कराए जस्तो आवाज आउने हुन थाल्यो। जसले गर्दा कान सुन्न गाह्रो तथा चिडचिडाहट हुने गर्दथ्यो। साथै ठूलो आवाजमा बस्दा कान धेरै नै दुख्ने हुन्थ्यो।

एकैचोटी कान कम सुन्ने समस्या त देखिएन तर विस्तारै विस्तारै कान सुन्न कम हुने लक्षण देखिन थालेको रहेछ। म आफै र परिवारलाई पनि मलाई कान कम सुन्ने समस्या भएको छ भने बुझ्न धेरै समय लाग्यो। सुरुसुरुमा अरुहरूले ठूलो आवाजले बोल्दा रिस उठ्ने अनि बिस्तारै बोल्दा जिस्काएको जस्तो लाग्थ्यो। बोल्न इच्छा नै लाग्दैन थियो। ड्याडीले कानको चेकअप गराउन लगेपछि रिपोर्ट आउँदा बल्ल हामी सबैलाई मेरो कानमा समस्या छ भन्ने थाहा भयो। 

त्यसबेला मैले धेरै चुनौती र समस्याको सामना गर्नु पर्‍यो। त्यो समयमा ‘हेरिङ एड’ को त्यति  चासो रहेन किनकि कानको लागि औषधिहरु पनि धेरै दिएको कारणले मलाई औषधिले नै सन्चो हुन्छ होला भन्ने लाग्यो। औषधि खाएको बेलासम्म केही सुधार भएको जस्तो हुन्थ्यो तर औषधि छोड्दा फेरि त्यहि कान कराउने र दुख्ने समस्या हुन्थ्यो।

क्लासमा सधैं साथीहरू र टिचरहरूको सहयोगले पढाई गरियो तर सधैं एकनास भएन। कहिले बुझिन्थ्यो भने कहिले बुझिन्न थियो। बेलाबेलामा मन खिन्न त भयो तर पनि साथी, टिचर र परिवारको सहयोग तथा आफ्नै मेहनतले गर्दा एम. बि. एस.सम्मको अध्ययन पनि पूरा गरियो। तर पढाई पूरा गर्न त्यति सजिलो कहाँ थियो र! धेरै कुराको संघर्ष र समस्याहरुको सामना गर्नु पर्‍याे। जस्तै कि, कहिलेकाहीँ हाँसोको पात्र झै बनेँ, कहिले महत्वपूर्ण नोट नै नबुझ्ने, कहिलेकाहीँ अरुसँग सोध्दा जवाफ नै नआउने, तर पनि मैले पढाई गर्न छोडिनँ। आफूभन्दा ठुलाहरू र साथीहरू साथै ममीको माया र सहयोगले गर्दा जीवनमा अघि बढ्न सफल भइयो। 

समयको परिवर्तनले अर्कै मोड लियो। औषधि खाँदाखाँदा वाक्क भइयो। लगातार औषधिको सेवनले पनि धेरै असर गर्न सुरु गर्‍यो। त्यस समयमा नेपालगन्जमा कानको ब्रिनोज अस्पताल भर्खरै खुलेको थियो। ममीले धेरै ठाउँहरुमा मेरो कानकाे चेकअप गराइसक्नु भएको थियो तर एकपटक भए नि ब्रिनोजमा चेक गराउने सोचका साथ त्यहाँ गयौँ।

त्यहाँ चेकअप गराउँदा मलाई औषधि नखान सल्ल्लाह दिनुभयो। साथै ‘हेरिङ एड’ प्रयोग गर्न सल्लाह दिनुभयो। साथसाथै ‘हेरिङ एड’ लगाउँदैमा सुनिन्छ भन्ने हुँदैन। ‘हेरिङ एड’ मा बानी बस्न पनि अलि समय लाग्छ भन्नेबारे डाक्टरले जानकारी दिनुभयो। त्यही सल्लाह अनुसार ‘हेरिङ एड’ प्रयोग डाक्टरले भने झैं गरियो। सुरुमा अलि गाह्रो पनि भयो तर पनि प्रयोग गर्न थालेँ।

करिब एक हप्ता लगातार लगाएपछि मलाई ‘हेरिङ एड’ मा बानी बस्न थाल्यो। समय समयमा ‘हेरिङ एड’को सेटिङ मिलाउन अस्पताल गइराखेँ। डाक्टर तथा प्राविधिकको सहयोगले केही सुन्नमा सुधार भयो साथै उहाँहरुसित पनि राम्रो सम्बन्ध राखी धेरै नयाँ कुरा सिक्ने मौका पाइयो। सुन्न अलि सजिलो पनि भयो तर पूरै सुन्न चाहीँ सकिनँ। तर पनि ‘हेरिङ एड’ लगाउँदा सुन्नलाई सजिलो हुन्छ। ‘हेरिङ एड’ प्रयोग गर्न लागेको पनि अहिले ३ वर्ष जति हुन लागेछ। साथै हाल प्रयोग गर्ने ‘हेरिङ एड’भन्दा पनि अझ राम्रो डिजिटल ‘हेरिङ एड’ प्रयोग गरेँ भने अझ राम्रो सुन्नेछु भने विश्वास छ। 

यो लकडाउनमा त झन् समस्या मात्र थपिएको छ। मात्र आँखाले जे देखिन्छ त्यहि नै हो भनी घरमा बन्दाबन्दी भएर बस्न बाध्य छौँ। कहिलेकाहीँ सुस्त श्रवण साथीहरूले केही अवसर छ कि भनी सोध्छन्।

एउटा राम्रो काम गर्ने अवसर पाउनका लागि म जस्तो सुस्त श्रवणहरुलाई त्यति चासो नदिँदा रहेछन्। समयअनुसार कुरा बुझ्दै जाँदा सुस्त श्रवणहरुलाई न वार न पार झै हुँदो रहेछ। म धेरै ठाउँहरुमा कामको लागि अन्तर्वार्तासम्म पुगेँ तर त्योभन्दा माथि जान सकिनँ। कारण एउटै थियो सुस्त श्रवण भएकोले। तर पनि कोशिस जारी नै छ।

यसैगरि समय बित्दै जाँदा श्रीमान्‌को चिनाजानीले गर्दा नै मलाई अपांगता क्षेत्रमा सम्पर्क गर्ने अवसर मिल्यो। यही अवसरले गर्दा मलाई श्रुति (सुस्त श्रवणहरूको संगठन)का सदस्यहरुसित चिनजान भयो। उहाँहरुको सहयोगमा नेपालगञ्जमा एउटा कार्यक्रम गरियो। जसबाट नेपालगञ्जको सुस्त श्रवण समूहको लागि संयोजकको रुपमा काम गर्ने मौका मिल्यो। जसले गर्दा सुस्त श्रवणको बारे धेरै कुरा को जानकारी पाएँ।

अरु सुस्त श्रवणहरुसगँ सम्पर्क भई उहाँहरूको बारेमा धेरै कुराहरू र समस्याहरू बुझ्दै आएँ। सुस्त श्रवणहरूको अभिभावकहरुसँग कुरा गर्दा त्यति खुलेर कुरा गर्न नचाहने रहेछन्। सुस्त श्रवणहरूको समस्या बुझाउनुभन्दा पनि समाजको डरको कारणले गर्दा होला सकेसम्म घरमा छोपेर राख्ने र बाहिर जान अनुमति नदिने गरेको पाइयो। यसरी नै एक–एक गरी सकेसम्म धेरै सुस्त श्रवणहरूसित भेटेँ। धेरै जनाहरूका समस्याहरु उस्तै–उस्तै थिएँ, के गर्ने हो केही थाहा छैन।

साथै विस्तारै बुझ्दै जाँदा सुस्त श्रवणहरूलाई अपांगता परिचय पत्र दिन पनि सरकारले सजिलै नमान्ने रहेछ। मलाई पनि सुरुमा अपांगता परिचयपत्र दिन मानेको थिएन। किनकि म झट्ट हेर्दा कान कम सुन्ने हो भन्ने लाग्दैन थियो। तर पनि लामो समयदेखिको छ्लफल र कुराकानीले पहेलो वर्गको अपांगता परिचय पत्र दिइयो। सबैले यो कुरा पनि बुझ्नु पर्‍याे कि सुस्त श्रवणहरुलाई आँखाले हेरेर अपांगता हो भनी छुट्याउन सकिँदैन। यो अदृश्य अपांगता हो। अरु–अरु अपांगता जस्तो दृश्य हुँदैन, तर यसको समस्या निकै गम्भीर छ। 

लामो समयदेखि अरू सुस्त श्रवणहरुले अपांगता परिचयपत्र प्राप्त गरेका थिएनन्। उनीहरुलाई पनि लामो समयदेखि नै अपांगता परिचय पत्र दिनको लागि अस्वीकार गरिएको रहेछ। सुस्त श्रवणको परिचय पत्र लिएर राज्यको सुस्त श्रवणको तथ्याङ्कमा समावेश हुन सकेमा हामीहरुलाई पनि अपांगता मानी भविष्यमा केही राज्यको कार्यक्रमहरू तथा सुविधाहरू आउनेछ भनि फेरि हामी उहाँहरूको अपांगता परिचय पत्र बनाउन गयौँ तर फेरि अस्विकार गरियो।

यसबारे आवाज पनि उठाइयो तर यस्तो जवाफ आयो– तपाईलाई के भएको छ? हेर्दा राम्रो हुनुहुन्छ, यस्तो अपांग नै हुँदैन, सुन्नु पनि हुन्छ अलिअलि, यति नम्बर पुगेन कार्ड बन्नलाई, आदि आदि। सुन्दा–सुन्दा पनि दिक्क पनि लाग्यो। सुस्त श्रवणको बारे न त केही सहयोग छ न त केही चासो नै छ। यस्तै नै हो भने सुस्त श्रवणहरुको सपना कसरी पूरा हुने? दोधारको जिन्दगी जस्तै छ। फेरि जान लकडाउनले गर्दा अहिले सबै काम बन्द छ। 

अझ यो लकडाउनमा त झन् समस्या मात्र थपिएको छ। मात्र आँखाले जे देखिन्छ त्यहि नै हो भनी घरमा बन्दाबन्दी भएर बस्न बाध्य छौँ। कहिलेकाहीँ सुस्त श्रवण साथीहरूले केही अवसर छ कि भनी सोध्छन्।

समस्या त धेरै नै छन् तर भनेर नै सकिँदैन। भनेँ नि कहाँ कसलाई भनु जस्तो हुन्छ। समाचार तथा सरकारका सूचनाहरू पनि बुझिँदैन। सरकारसगँ क्याप्सनिङको माग बारम्बार गरिराखेका छौँ। त्यसप्रति त्यति चासो लिएको जस्तो पनि लागेको छैन। सरकारले यो पनि बुझ्नु पर्‍यो कि देशमा सुस्त श्रवणहरु पनि छ्न्। 

(लेखिका सुस्त श्रवण समूह नेपालगञ्जको संयोजक हुनुहुन्छ)

यो पनि पढ्नुहोस्

असार १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्