जीवन र मृत्यु

हामी डाक्टरहरु मुटुको चाललाई जीवनसँग जोडेर हेर्छौ ।

मुटु ढुकढुक गर्छ – जीवन छ, मुटु रोकिन्छ – मृत्यु ।

मुटु चलेन भने श्वासप्रश्वास रोकिन्छ, दिमाग सुन्न हुन्छ । मेडिकल भाषामा “कार्डियो पल्मोनरी फेलियर” अर्थात् “द एण्ड” ।

म त चिकित्सक हुँ – मलाई त मुटुका बारे थाहा छ, दिमागका बारे थाहा छ।

हृदय भनेको मुटु मेरा लागि ।

मुटुमा ४ वटा कोष्ठ छ अनि प्रत्येक कोष्ठमा रगत ल्याउन र लैजान धमनीहरु । फोहर रगत भेनाकेभाबाट मुटुमा आइपुग्छ अनि पल्मोनरी आर्टरीबाट फोक्सोमा । रक्त प्रवाह हुँदै फोक्सोमा पुगेपछि फोक्सोबाट अक्सिजन तान्छ । फोक्सोबाट सफा रगत पल्मोनरी भेनबाट मुटुमा आउँछ अनि एओर्टाका माध्यमबाट शरीरका सम्पूर्ण अवयवहरुमा पुग्छ । धमनीहरुबाट दिमागमा रगत पुगेपछि अक्सिजन युक्त रगतले हाम्रो चेतना, श्वास प्रश्वास र मुटुको चाललाई समेत नियन्त्रण गरेको हुन्छ । मैले जानेको मुटु त त्यस्तै हो ।

मुटु एक मिनेटमा झण्डै सत्तरी पच्चहत्तर पटक धड्किन्छ । धड्कन शायद हिन्दी शब्द हो । नेपालीमा त ढुकढुक गर्नु भनिन्छ ।

डाक्टरले हेर्दा व्यक्तिको नाडी चलेको छैन, श्वासप्रश्वास छैन, आँखाको नानी प्रकाशको उज्यालोले संकुचन हुँदैन भने मृत्युको प्रमाण पत्र दिन सकिन्छ ।

आध्यात्मिक र पौराणिक ग्रन्थहरुले भन्दा रहेछन् – प्राण ब्रह्मरन्ध्रबाट पस्छ अनि त्यहीँबाट निस्कन्छ रे । अनौठो लाग्यो ।

प्राण भनेको के हो ? अनि बह्मरन्ध्र नि ? कसरी निस्कन्छ, अनि कहाँ जान्छ ?

हामीले चिकित्सा बिज्ञानमा त यस्तो पढेनौं ।

यो कुरा बुझ्न मैले धेरै इन्टरनेट चाहारेँ । अद्धैत वेदान्तका गुरुहरुले केही कुरा प्रष्ट पारिदिनु भयो । मलाई न्यूयोर्क स्थित वेदान्त समाजका स्वामी सर्वप्रियानन्दको प्रवचन साह्रै मन पर्‍यो । उहाँ स्वामी विवेकानन्दका अनुयायी हुनुहुँदोरहेछ ।

बह्मरन्ध्र भनेको “फन्टानेल” रे । बच्चा जन्मिँदा टाउकोको माथि अगाडिपट्टि रहेको नरम भाग । दुईवटा “प्येराइटल” र दुईवटा “फ्रन्टल” हड्डीहरुको जोड भएको ठाउँ । चौबाटोको बीचको चोक जस्तो ।

हामी ठूलो हुँदा त फन्टानेल पुरिइसकेको हुन्छ, कडा हुन्छ (हाड जस्तै) । कसरी त्यहाँबाट आत्मा निस्कने हो ?

सानो छँदा मैले रामकृष्ण परमहंशका “कथाहरु” सुनेको थिएँ । तर मैले ती कुराहरुलाई आफ्नो र आफ्नो दौंतरीहरुको जीवनसँग जोडेर हेर्न सकेको थिइन । ती मेरा लागि दन्त्य कथा सरह थिए – सुन्ने र रमाउने या रोमाञ्चित हुने, तर यथार्थमा ग्रहण गर्न नसकिने । “अटोबायोग्राफी अफ ए योगी” भन्ने किताब हाम्रो घरमा थियो । स्वामी विवेकानन्दको बारेमा मैले बाल्यावस्थामा नै सुनेको थिएँ, तर बिज्ञानको बिद्यार्थी भएकोले होला अध्यात्मतर्फ धेरै रुचि भएन ।

तर जीवनको ६ दशक पार गरिसक्दा, जीवन र जगतको ज्ञान र अनुभवले खारिँदै जाँदा र अहिले कोभिड–१९ को प्रभावमा घरमा थन्किएर बस्दा मलाई स्वामी सर्वप्रियानन्दका प्रवचनहरुले पुनः एकपटक मेरो बाल्यकालका सुनाइहरुलाई मनन् गर्ने अवसर दिएको छ । रामकृष्ण परमहंशका अनुयायी स्वामी बिबेकानन्दले उपनिषद्हरुका सारलाई पश्चिमा देशहरुमा व्यापक प्रचार प्रसार गर्नुभयो, र बिभिन्न देशहरुमा संस्था खोलेर अद्धैत बेदान्तका ज्ञानलाई निरन्तर बिस्तार गराउनु भयो । तीमध्ये धेरैले दिने ज्ञानहरु यूट्यूबमा यथेष्ट पाइन्छन्, र मलाई मनपर्ने स्वामी सर्बप्रियानन्दका प्रवचनहरु पनि मैले यूट्यूबबाट नै सुनेको थिएँ ।

म फर्कन्छु आजकै मितिमा मार्च २९, २०२० छ लाख चौसठी हजार छ सय एक्काइस संक्रमित, ३०८९२ मृत्यु, एकलाख ४२ हजार ३ सय अठसठ्ठी निको भैसके । (याे लेख प्रकाशित हुँदा जुन २७ सम्म ९९ लाख ३५ हजार ३६१ पुगिसकेको छ भने ४ लाख ९७ हजार ५५३ को ज्यान गुमिसकेको छ। ५३ लाख ८३ हजार ८१९ निको भएका छन्।)

केही बिदेशमा रहेका नेपालीहरु पनि परेका छन् । उनीहरुलाई कति गाह्रो भयो होला देशबाट टाढा, आफ्नो परिवारबाट टाढा । उनीहरुले पनि बरफको चिसोमा नै अन्तिम बिदाइ पाए होलान् । आफ्नो परिवारजनका बीचमा, आफ्नै धार्मिक स्थलमा अन्त्येष्टि गर्न सकिएको भएपनि अलि शान्ति हुन्थ्यो होला ।

कस्तो बिडम्बना । कस्तो दुःखद ।

बालकृष्ण समले कविता लेख्दा यस्तो दिनको त कल्पना पनि गरेका थिएनन् । उनी भन्थे –

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युशैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे–जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।

हुनत सबै मृत्यु दुःखदायी हुन्छन् तर यी कोभिड–१९ मृत्युहरु अझ पीडादायी छन् । मृतकहरुसँग उनीहरुको मृत्यु हुन अघि कोही आफन्त थिएनन् । बिरामीहरु आइसोलेसनमा थिए, उपचारमा थिए । स्वास्थ्यकर्मी बाहेक अरुले भेट्न नपाउने गरी मृत्यु पश्चात पनि उनीहरुका आफन्तले शव बुझ्ने, सद्गत गर्ने आ–आफ्ना धर्म संस्कृति अनुरुपका विधिहरु गर्न पाएनन् – संक्रमणको डरले ।

पूर्वीय दर्शनले जीवन र मृत्युलाई कसरी हेरेको छ भनेर मैले बुझ्न खोजेँ ।

मेडिकल साइन्सले हाम्रो शरीरको संरचना (एनाटोमी), कार्य (फिजियोलजी) मा आधारित रहेर प्रणालीहरुको व्याख्या गरेको छ, जस्तै कार्डियोभास्कुलर सिस्टम (मुटु र धमनीहरुको प्रणाली), डाइजेस्टिभ सिस्टम (पाचन प्रणाली) न्यूरोलजिकल सिस्टम (स्नायु प्रणाली) आदि ।

तर प्राचीन हिन्दु ग्रन्थहरुमा स्थूल शरीर, सुक्ष्म शरीर र कारण शरीर भनेर व्याख्या गरिएको रहेछ । कारण शरीरबारे त्यति धेरै व्याख्या मैले भेटिन – यस बिषयमा गहिरिएर अध्ययन गर्ने थप ग्रन्थहरु या सन्दर्भ सामग्रीहरु मसँग छैन, अनि इन्टरनेटमा भेटिएका संस्कृतमा छन् ।

हुन त सबै मृत्यु दुःखदायी हुन्छन् तर यी कोभिड–१९ मृत्युहरु अझ पीडादायी छन् । मृतकहरुसँग उनीहरुको मृत्यु हुन अघि कोही आफन्त थिएनन् । बिरामीहरु आइसोलेसनमा थिए, उपचारमा थिए । स्वास्थ्यकर्मी बाहेक अरुले भेट्न नपाउने गरी मृत्यु पश्चात पनि उनीहरुका आफन्तले शव बुझ्ने, सद्गत गर्ने आ–आफ्ना धर्म संस्कृति अनुरुपका विधिहरु गर्न पाएनन् – संक्रमणको डरले ।

मेरो संस्कृत ज्ञान धेरै प्रारम्भिक चरणमा छ । इन्टरनेटमा अंग्रेजीमा व्याख्या सहित आएका संस्कृत वाक्यहरुलाई बुझ्ने र मनन् गर्ने प्रयास गर्छु, तर जटिल संस्कृत त अझै पनि मेरा लागि “कालो अक्षर भैंसी बराबर” सरह हुन्छ ।

सोच्छु सायद हाम्रो “जेनेटिक संरचना” लाई कारण शरीर भनिएको होला ।

मानिसको कारण शरीर 46XY, पैतालिस जोडी “अटोसोम” र एक जोडी “सेक्स क्रोमोजोम” – बाबु र आमाबाट प्राप्त । रुखमा लहरा बेरिए जस्ता एक आपसमा बेरिएर रहेका “स्ट्रान्ड” तन्तुहरु । अंग्रेजी अक्षर ATCG लाई अनगिन्ति कम्बिनेशनमा लेखे जस्तैगरी एडिनोसिन (A), थाइमिन (T), साइटोसिन (C)  र गुआनिन (G)  पार्टिकलमा ६४ थरिका संरचना ।

अहिले विश्वमा खैलाबैला मच्चाइरहेको कोभिड–१९ महामारीको कारण शरीर (Body) शायद SARS-COVID 2019 भाइरस । राइबोन्युक्लिइक एसिडको स्ट्रान्ड, लिपिडको खोल ओढेको, माइक्रोस्कोपले मात्र देख्न सकिने । टेलिभिजनका पर्दाहरुमा घोच्ने काँडा भएको भकुण्डो जस्तो आकृति देखाइएको “पार्टिकल” ।

कुरा नबुझ्नु सायद नराम्रो नहोला, बुझेको छैन भन्ने सोचियो भने बुझ्ने इच्छा जाग्रित हुन्छ र सिकिन्छ । तर जे पनि मै जान्ने भन्ने सोचियो भने अरुको अहित हुन बेर लाउँदैन । आईसक्रिम खानु र नखानुसँग भाइरसको कुनै साइनो छैन, तर हामी आफ्नो “बुद्धिमानी” देखाउँदै आइसक्रिम नखाएर कोरोनाबाट बच्ने सल्लाह दिन्छौं ।

कति नेपालीले आइसक्रिम खान पाएका छन् ? अनि त्यो पनि लकडाउनको बेलामा ?? हामी आफ्नै स्वप्नील संसारमा बाँचेका रहेछौं कि ??

कति धेरै कुरा अझै जान्न बाँकी छ, बुझ्न बाँकी छ – शायद म बिषयान्तर हुन लागें ।

सुक्ष्म शरीरले जीवनभर आर्जेका अनुभवहरुलाई अर्थात् मनले सोचेका, बुद्धिले बुझेका, हृदयले स्पर्ष गरेका र अन्य इन्द्रियहरुले आर्जन गरेका सम्बेदनाहरु सबै तटस्थ भावले हेरिरहने “आत्मन्” या “आत्मा”, यी सबै अनुभवहरु सहित मृत्यु पश्चात अर्को नयाँ शरीरमा प्रबेश गर्छ रे ।

कस्तो अचम्म ।

कसरी आत्माले नयाँ शरीर खोज्ने अनि पाउने होला । यसको के प्रमाण छ ?

कि यो पौराणिक ग्रन्थहरुमा लेखिएका दन्त्य कथाहरु मात्र हुन् ?

यो दन्त्य कथा होइन, सत्य हो भनेर प्रमाण स्वरुप ग्रन्थहरुले भनेका रहेछन् – एकै घरमा एकै आमाबुबाबाट जन्मिएका, उस्तै प्रकारले पालन पोषण, शिक्षा दिक्षा दिएका दुई दाजुभाइ या दुई दिदीबहिनी बीच पनि कति धेरै अन्तर हुन्छ । उनीहरुको डि.एन.ए. संरचनाको फरक भन्दा पनि धेरै भिन्न । किन ? कसरी ?

यो उनीहरुको पूर्वजीवनको “फल”को असरले – आत्माद्वारा वर्तमान शरीरले आर्जन गरेका गुणहरु । सद्गुरुले यसलाई “प्रारब्ध” भनेर व्याख्या गर्नु भएको छ । कतिले यसलाई “कर्मको फल” पनि भनेका छन् ।

पूर्व जन्ममा राम्रो कर्म – अहिलेको जीवनमा राम्रो फल ।

अहिलेको जीवनमा राम्रो कर्म – पुनर्जीवनमा राम्रो फल ।

कविशिरोमणि लेखनाथ पौड्यालले काल महिमामा लेख्नु भएको थियो –

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
इन्द्रै विन्ति गरुन् झुकेर पदमा, त्यो विन्ति मान्दैन त्यो ।
थुप्रोमा उधिनी मिठो र नमिठो छुट्याइ छान्दैन त्यो
खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।।

राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो
आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो ।
लाखौँ औषधि, अस्त्र–शस्त्र–महिमा देखेर डर्दैन त्यो
व्याधा–तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।।

आँशुका दहमा नुहाउँछ, चिसो पानी रुचाउन्न त्यो
सुक्खा जर्जर अस्थिपञ्जर विना शया बनाउन्न त्यो ।
मैलो भस्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो
हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ।।

जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।
जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो
यै चलासित कल्प कल्प कहिल्यै खाई अघाउन्न त्यो ।।

यसैगरी सृष्टि चक्र चलेको छ र चल्ने छ । हो नि, कोरोनाले शक्तिशाली राष्ट्र बेलायतका महारानी, युवराज, प्रधानमन्त्री समेतलाई संक्रमण गरी छोड्यो । धन्न उनीहरु बाँचे, तर बिश्वका अन्य प्रख्यात व्यक्तिहरुको मृत्यु भएको छ ।

इटालीमा मात्रै, अप्रिल ९ तारिखसम्म, बिरामीहरुको सेवा गरी उनीहरुलाई मृत्युको मुखबाट बचाउने कार्यमा लागेका १०० चिकित्सक र ३० नर्सलाई कोभिड–१९ को रुपमा आएको कालले लगिसकेको छ ।

बिज्ञानले स्थूल शरीर र सुक्ष्म शरीरका बीच लिंक दिन सकेको छैन ।

अध्यात्म भन्छ हाम्रो स्थूल शरीर भित्र सुक्ष्म शरीर छ । स्थूल शरीर देख्न सकिन्छ तर सुक्ष्म शरीर देख्न सकिदैन । यी व्यक्तिका भावना, सम्बेदना, सम्झना, इच्छा, आकांक्षा इत्यादि हुन् ।

अनि कारण शरीर यी दुवै शरीरको कारण हो, जसको संरचना जटिल हुन्छ । मान्छेको मृत्यु हुँदा स्थूल शरीरको मृत्यु हुन्छ । जसरी मान्छेले पुरानो लुगा फुकालेर नयाँ लुगा लगाउँछ त्यसैगरी मृत्यु पश्चात व्यक्तिको आत्माले पनि नयाँ शरीर ग्रहण गर्छ । सुक्ष्म शरीरको मृत्यु हुँदैन – यो आत्मासँग नयाँ शरीरमा जान्छ ।

आगो तातो हुन्छ, दुध सेतो हुन्छ भनेको जस्तै व्यक्तिको पनि केही आ–आफ्नै गुणहरु हुन्छन् । यो निर्विकार, अविनाशी हुन्छ । तर केही गुणहरु व्यक्तिले अरुबाट ग्रहण गरेका हुन्छन् । जस्तै आलु उमाल्दा आलुले पानीबाट तातो लिन्छ, पानीले तातो भाँडोबाट र भाँडाले आगोबाट । यस्तो बाहिरबाट प्राप्त हुने गुण, जुन तत्वबाट प्राप्त भएको हो, सो रहेसम्म मात्र रहन्छ । जस्तै आगो रहेसम्म मात्र आलु तातो रहन्छ ।

सदुगुरु जग्गी बसुदेव भन्नुहुन्छ- मान्छे मरेको देखिएपनि उसकोे “पूर्ण मृत्यु” भइसेकेको हुँदैन । उहाँ भन्नुहुन्छ- मृत शरीर बिभिन्न ४ चरणबाट गुज्रिएको हुन्छ । सबैभन्दा पहिले श्वास प्रश्वास रोकिन्छ प्राण वायुले शरीर त्याग्छ, त्यसपछि उडान, समन आदि हुँदै भएर रक्त संचार रोकिन्छ । तान्त्रिकहरुले यो अन्तिम अवस्थामा शरीर नपुगुन्जेल ब्युँताउन सक्छन् रे ।

बन्दाबन्दीको चौथो दिन चैत्र १४ गते ‘सेतोपाटी’मा चकमन्न आर्यघाट, खाली ब्रह्मनाल शीर्षकमा समाचार छापिएको थियो । दैनिक २५ जसो शव जल्ने आर्यघाटमा दिनको २–३ वटा मात्र शव दाहसंस्कारका लागि आइपुग्नु सुखद समाचार झैं लाग्यो ।

मृत्यु कम हुनु त राम्रो हो, तर मृत्यु नै कम भएको हो, या शव पशुपति आइनपुगेका हुन् । बन्दाबन्दीको कारण पशुपति ल्याउनुको सट्टा काठमाडौं उपत्यकाका बिभिन्न ठाउँमा रहेका घाटहरु मध्ये घर पायक ठाउँमा दाह संस्कार गरिएको हुन सक्ने अनुमान गरेका रहेछन् ।

साथै बन्दाबन्दीका कारण सवारी दुर्घटनाबाट हुने मृत्यु कम भएको हो कि भन्ने अनुमान पनि रहेछ।

अनि अर्को अनुमान देशका बिभिन्न भागबाट कडा रोग लागेका बिरामीहरु उपचारका लागि काठमाडौं आउँछन् र ती मध्ये केहीको काठमाडौंमा नै मृत्यु भएर आर्यघाट आईपुग्छन् । यी दुबै कारण बारे थप छलफल हुनु जरुरी छ ।

मैले यो लेखिरहँदा सम्ममा स्पेनमा ४० हजार संक्रमित र २६९६ मृत्यु भैसेकेको थियो । शव व्यवस्थापन गर्न गाह्रो भएर स्केटिङ्ग खेल्ने बरफको रिङ्कमा अल्पकालीन व्यवस्थापन गरिएको रहेछ । पछि कसरी व्यवस्थापन गर्ने हुन् थाहा छैन ।

मलाई बिभिन्न धर्मावलम्बीहरुले कसरी मानिसको देहान्त पछि क्रियाकर्म गर्छन् भनेर जान्न मन लाग्यो ।

हिन्दु धर्मावलम्बीहरुको क्रियाकर्म बारे त हामी धरैलाई जानकारी छ । लासलाई आगोमा जलाइन्छ र अस्थिलाई नदीमा बगाइन्छ, अनि दैनिक श्राद्ध, पिण्ड आदि गरेर मृत व्यक्तिको आत्मालाई मोक्ष होस् भन्ने कामना गरिन्छ । किरिया पुत्रीहरु चोखो र आफन्तहरुले ल्याइदिएका खानेकुरा आफै पकाएर खान्छन्, सिलाइ नभएको एकसरो लुगा लगाउँछन् र अलग्गै सुत्छन् ।

गरुड पुराण सुनेर मानिसको जीवनमा गरेका कामहरुले मरण पछि आत्मालाई मुक्त हुन कति सजिलो या अप्ठ्यारो हुन्छ भनी कथाहरु सुनाउँछन् । यी प्रयासद्वारा मानिसलाई सत्कर्मका लागि प्रेरित गरिन्छ र मतात्माको मोक्षको कामना गरिन्छ ।

१३ औं दिनमा मलामीलाई भोजन गराउने चलन छ । प्रत्येक महिना श्राद्ध गरी ४५ दिन, ६ महिना र बर्ष दिनमा बिशेष दान दक्षिणा दिइन्छ ।

बौद्ध धर्मावलम्बीहरुले मृत शरीरलाई गाड्ने या जलाउने दुबै गर्न सक्छन् । हिन्दुले जसरी किरियापुत्रीहरुले अलग्गै बस्नुपर्छ भन्ने छैन तर गुम्बा या बिहारहरुमा पूजा पाठ गर्ने, आफन्तहरुलाई भेट्ने आदि गरिन्छ । तिब्बत तिरका बौद्ध धर्मावलम्बीहरुमा लासलाई टुक्रा टुक्रा पारेर गीद्ध र कागहरुलाई ख्वाउने चलन रहेछ । यो प्रथालाई दानहरु मध्ये उच्चतम र करुणाको अभिव्यक्ति भन्ने रहेछन् ।

इस्लाम धर्मावलम्बीहरु मृत शरीरलाई जलाउँदैनन् । लासलाई सफासंग धोइपखाली नयाँ सेतो वस्त्रमा बेरिन्छ र जमिनमा गाडिन्छ । नकुहियोस् भनी उनीहरुको समाधि जमीनबाट अलिकति उठाएर राखिन्छ तर छाती र चेहराको भागलाई माटोले मात्र छोप्नु पर्छ, कंक्रीटले ढलान गरेर बन्द गरिंदैन । इस्लाम धर्मावलम्बीहरु पनि पुनर्जन्ममा विश्वास गर्छन् र अल्लाहको फैसलाको दिन कुर्छन्।

क्रिश्चियन धर्मावलम्बीहरु लासलाई राम्रोसंग सिंगारेर कफिनमा हालेर गाड्छन् । तर अचेल जलाउने पनि गर्न थालिसकिएको छ । क्रिश्चियन धर्मभित्र पनि क्याथोलिक, प्रोटेस्ट्यान्ट र इभान्जेलिकलहरु बीच केहि भिन्नता छ । उनीहरु पुनर्जन्ममा विश्वास गर्दैनन् । परिवारको दुःख कम गराउने र मृत व्यक्तिको गुणहरुको वर्णन गरी सम्झना गर्ने फ्युनरलको मुख्य प्रयोजन हो ।

यी सबै धर्महरुमा परिवारलाई सान्त्वना र मृतकलाई सम्मानले प्राथमिकता पाएको छ ।

आभाषको कविता पढें । कोभिड–१९ का कारण बियोग भएका प्रेमीले प्रेमिकालाई यसरी नै सम्झने त होलान नि भनेर मेरो हृदय द्रवित भयो ।

“मलाई सम्झना छन् मृगका जस्ता त्यसका आँखा र तिनबाट मैले चियाएका दृश्य ।

सम्झना छन् त्यसका सुकोमल औंला र तिनबाट पाएका स्पर्श

त्यो थिई सायद मलाई झुक्याउन आएकी प्रेयसी

मभित्र छन् त्यसका केही अंश ।”

(डा. सुधा शर्माले लकडाउनका बीच लेख्नुभएका आलेख नियमित रुपमा देशसञ्चारमा प्रकाशित हुनेछन्।) 

यो पनि पढ्नुहोस्

असार १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्