अमेरिकामा महामारीको नयाँ ‘हटस्पट’ बन्दै फ्लोरिडा र टेक्सास

फ्लोरिडामा गएको मे मा रेस्टुरेन्टहरु खुला गर्न दिइएको थियो, तर संक्रमण पुनः बढ्न थालेपछि अहिले फेरि बन्द गरिएका छ ।

अमेरिकाको फ्लोरिडा र टेक्सास राज्य कोरोना भाइरस महामारीको नयाँ ‘हटस्पट’ बन्दै गएका छन्। ती राज्यमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । जसका कारण पुनः राज्यमा लकडाउन लागु गर्नु परेको छ ।

फ्लोरिडामा शनिबार एकै दिन ९ हजार पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार राज्यमा झण्डै ९ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

फ्लोरिडाले जस्तै टेक्सासले पनि शुक्रबार लकडाउनमा कडाइ गरेको थियो । फ्लोरिडा र टेक्साससहित अमेरिकाका दक्षिणी राज्यहरुमा पछिल्लो समय संक्रमण तीव्र गतिमा बिस्तार भइरहेको छ ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख भन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या २५ लाख सात हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख २५ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

विश्वभर संक्रमितको संख्या एक करोड पुग्न लागेको छ । अहिलेसम्म ९९ लाख ४९ हजार भन्दा बढीमा संक्रमण भएको छ । विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख ९७ हजार भन्दा धेरै पुगेको छ ।

असार १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्