अमेरिकीसहित नेटोमा रहेका सैनिकको हत्या गरे रुसले बिद्रोहीलाई पैसा दिने प्रस्ताव गरेको खबरपछि विवाद चर्कियो

अफगानिस्तानमा अझै पनि झण्डै १३ हजार अमेरिकी सैनिक रहेका छन्।

नेटो अन्तर्गत रहेका अमेरिकी तथा अरु पश्चिमा देशका सैनिकको हत्या गरेमा तालिबान सम्बद्ध बिद्रोहीलाई ‘पुरस्कार’ रकम दिने प्रस्ताव गरिएको भन्ने आरोप आधारहीन रहेको भने रुसले खारेज गरेको छ ।

अमेरिकी पत्रिकार द न्यूयोर्क टाइम्स र द वासिङ्गटन पोस्टले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसी सैन्य गुप्तचर इकाइले गएको वर्ष बिद्रोहीलाई त्यस्तो प्रस्ताव गरेको खबर प्रकाशित गरेका थिए।

अमेरिकामा रहेको रुसी दूतावासले आधारहीन दाबीका कारण कूटनीतिज्ञमाथि जोखिम बढेको बताएको छ।

तालिबानले पनि रुसी गुप्तचरसँग त्यस्तो कुनै सम्झौता वा सहमति नभएको बताएको छ।

अफगानिस्तानमा विगत १९ वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताको प्रयास भइरहेका बेला आएको विवादास्पद खबरले अवस्था तनावग्रस्त बनाएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार रुसीले तालिबान सम्बद्ध बिद्रोहीलाई अमेरिकीसहित नेटोमा रहेका सैनिकको हत्या गरेमा पैसा दिने प्रस्ताव गरेको बारे गएको मार्च राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ब्रिफिङ्ग भएको थियो । तर ह्वाइट हाउसले भने सो कुरा अस्वीकार गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकनेनीले भनेकी छन्, ‘राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई यसबारे कुनै किसिमको ब्रिफिङ्ग भएको छैन ।’

न्यूर्योक टाइम्सले नाम उल्लेख नगरेका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसी आर्मीको गुप्तचर निकायले तालिबान सम्बद्ध बिद्रोहीलाई नेटो सेनामाथि हुने सफल आक्रमणका लागि मोटो रकम दिने प्रस्ताव गरेको उल्लेख गरेको छ ।


अमेरिकामा रहेको रुसी दूतावासले शृङ्खलाबद्ध ट्वीट गरी न्यूर्योक टाइम्सले ‘फेक न्यूज’ लाई बढावा दिएको आरोप लगाएको छ ।

सन् २०१९ मा अफगानिस्तानमा १९ अमेरिकी सैनिकको ज्यान गएको थियो । तर कुन घटनाका लागि रुसले बिद्रोहीलाई पैसा दिएको भन्ने स्पष्ट नभएको न्यूयोर्क टाइम्सको दाबी छ ।

अफगानिस्तानमा अझै पनि झण्डै १३ हजार अमेरिकी सैनिक रहेका छन् ।

असार १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्