राजु सदाको घटनामा छानविन गर्न प्रदेशसभामा अध्ययन विशेष समिति गठन

जनकपुरधाम- प्रादेशिक अस्पतालमा उपचार अभावमा राजु सदाको मृत्यु भएको घटनाको विषयमा छानविन गर्न अध्ययन विशेष समिति गठन गरिएको छ।

आइतबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा प्रादेशिक अस्पतालमा भएको घटनालाई छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरिएको हो । समितिमा प्रदेशसभा सदस्य रविन्द्र बैठा, चमेली देवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य रहेका छन्।

सभामुखको निर्देशनमा रही समितिले आवश्यक्ता अनुसार विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्ने, अनुगमन वा निरिक्षण गर्न सक्ने, विभिन्न मन्त्रालय वा कार्यालयबाट आवश्यक कागजात माग गर्न सक्ने र पदाधिकारीहरु सँग छलफल गर्न सक्ने समितिको कार्यविधि बनाइएको सभामुख सरोज यादवले बताए।

समितिले ५ दिन भित्र आफ्नो प्र्तिवेदन बुझाउनु पर्नेछ।कोरोना लागेको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाको हंसपुर नगरपालिका वडा नं। ७ प्रसाही बस्ने १६ वर्षीय राजु सदाको मृत्यु भएको थियो। सदाको मृत्यु भएपछि उनका परिवारजनले अनुसन्धानको माग गर्दै आई रहेको छ।

भारतबाट आएर हंसपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सदालाई प्रादेशिक अस्पतालमा जेठ २८ गते भर्ना गरिएको थियो। कोरोना नभइ अन्य रोगबाट ग्रसित भएका सदालाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो तर अस्पतालमा कोरोनाको आशंका गर्दै बेवास्ता गरेपछि ९ गते विहान उनको मृत्यू भएको थियो।

भारतको मदरासमा मजुदुरी गर्दै आएका सदा कोरोनाको कारण लकडाउन भएपछि बेरोजगार भएपछि भारतबाट स्वदेश फर्केका थिए। यस घटनको छानविन गर्न प्रदेश सरकारले समेत तीन सदस्यीय समिति बनाएको छ।

असार १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्