एसिड आक्रमणमा परेका यी पीडित पुरुष जसमाथि सरकारको आँखा परेको छैन

एसिड आक्रमणमा परेका यी पीडित पुरुष जसमाथि सरकारको आँखा परेको छैन

एसिड आक्रमणमा परेका रामराजा थापा। तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- फागुन २५ गते दिनभर नारीको हक हितका लागि ठाउँ–ठाउँमा नाराहरु घन्किए। दिन थियो, ‘नारी दिवस’ को। महिलाको हितमा लागि आवाज उठाइरहँदा धेरैलाई लाग्न सक्छ, ‘नारीका लागि हामीले केही गरिरहेका छौँ। उनीहरुमाथि भइरहेका हिंसा विरुद्ध लड्न सिकाइरहेका छौँ।’

नारीका लागि बुलन्द आवाज उठेकै दिन राति करिब १२ बजे पुरुषमाथि हिंसा भयो। मध्य रातमा गहिरो निन्द्रामा थिए, उनी।

उनको अनुहारमा एकाएक कसैले पानी छ्यापे जस्तो भयो। अनुहारमा छ्यापिएको तरल पदार्थले पोल्न थालेपछि उनले पानी नभएको थाहा पाए। अनुहार भतभती पोलिरहेको थियो। पाल्दै गरेका आँखा चिमचिम पर्दै खोल्ने प्रयास गर्दै थिए।

कसैले बत्तीको स्वीच अन गरेको आवाज आयो। स्वीचपछि फेरि कसैले ढोकाको चुक्कुल खोल्यो।

पोलाइ असह्य हुँदै गयो। बेस्सरी कराए। आँखा चिम्म गरे, अलिकति खोलेर यता उता हेरे श्रीमती (प्रतिमा) र सानो छोरा बाहेक कसैलाई देख्न भ्याएनन्, नुवाकोटका २४ वर्षीय रामराज थापाले।

पीडाले छटपटाउँदै उनी कोठाबाट बाहिर निस्किँदै चिच्याए। भिनाजु (रामराजा) को अस्वभाविक चिच्याहाटले अर्को कोठामा सुतेका दुई सालाहरु आए।

लड्नै लागेका रामराजालाई समाए। बाथरुममा लगि धारामा राखिदिए। पोलिरहेको ठाउँमा पानी पर्दा रामराजालाई केही राहत भयो, तर दुखाईको कुनै सीमा थिएन ।

रामराजाले सालासँग अस्पताल लैजान आग्रह गरे। नजिकै पर्ने गोंगबुको विनायक अस्पतालमा पुर्‍याए। अस्पतालले जटिल केस भएको भन्दै शिक्षण अस्पताल रिफर गरिदियो।

भिडियाे:

शिक्षण अस्पतालमा उपचार सुरु भएपछि मात्र रामराजाले थाहा पाए, आफूमाथि एसिड प्रहार भएको रहेछ। अहिलेसम्म उनको चारवटा शल्यक्रिया भइसकेको छ। एसिडले पोलेको घाउ निको हुँदै गएको छ, तर मनको घाउ झन चहर्‍याउने बनेको छ ।

जसरी अनुहार अनि शरीरमा परेका घाउका माम्रा उम्कने क्रममा छन्, उसैगरी उनले मनलाई अझै दह्रो बनाउँदै गइरहेका छन्।

उनको अनुहार र एउटा कान पूरै जलेको छ। हात र खुट्टा पनि उस्तै जलेका छन्। उनलाई शरीर जल्दाको पोलाइभन्दा पनि आफ्नै श्रीमतीले घात गरेको पीडाको पोलाइले थाम्न नसक्ने भएको छ ।
तर पनि उनमा केही गर्ने आँट पलाएको छ। मनलाई अझ दरिलो बनाएका छन्। घटना भएको दिनदेखि भन्दै आएका छन्, ‘मेरो आँखा केही नभइदियोस्, अरु त म जे काम गरेर भएपनि गर्न सक्छु।’

शायद उनको प्रार्थना भगवानले सुने छन्। एसिडले उनका आँखालाई क्षति पुर्‍याएकाे छैन। तर अनुहारको सबै भाग जलेका कारण आँखा झिम्काउन सक्दैनथे। दिन–रात आँखा खुल्लै हुन्थे।

केही दिन अगाडि आँखाको ढक्कनीको शल्यक्रिया गरिएको छ। शल्यक्रियाको पट्टी फुकालेपछि आँखा झिम्क्याउन मिल्ने डाक्टरले बताएका छन्।

राति सुत्नु भन्दा अगाडि…

आफू ओछ्यानमा जानु भन्दा अगाडि झ्याल ढोकाको चुक्कुल राम्रोसँग बन्द गरे। सानो बच्चा भएका कारण अरु बत्ती बन्द गरे र डिम लाइट बाले।

बेडको कुनामा बच्चा, बीचमा श्रीमती र छेउमा आफू ढुक्क भएर सुते।

ढुक्क भएर बच्चा र श्रीमतीसँग सुतेका रामराजा बिहान ढुक्क भएर उठ्न पाएनन्। उनीमाथि सोच्दै नसोचेको घटना घट्यो। सुरक्षाका लागि बन्द गरिएको कोठाभित्रै एसिड आक्रमण भयो।

आफ्नालाई शंका गर्नु पर्ने उनको बाध्यता बन्यो।

किनभने रामराजाका अनुसार आफूले झ्याल ढोका राम्रोसँग बन्द गरेको र एसिड नै प्रहार गर्ने गरी कसैसँग मनमुटाव भएको थिएन।

एसिड प्रहारमा कस्को हात?

शंकाको घेरमा प्रतिमा परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो। प्रहरीले अनुसन्धान सुरु गर्‍यो। प्रारम्भिक बयानमा प्रतिमाले आरोप अस्वीकार गरिन्। तर काखको शिशु र सुत्केरी नउत्रिएका कारण केरकार अघि बढाउन प्रहरीको हात बाँधिएको हुँदा प्रतिमा धरौटीमा छुटेकी छन्।

प्रतिमा धरौटीमा छुटे पनि अहिलेसम्म जीवन मृत्युको दोसाँधमा लडिरहेका श्रीमानलाई भेट्न न अस्पताल पुगेकी छन्, न एक कल फोन नै गरेकी छन्।

रामराजा श्रीमतीलाई भन्दा पनि ६ महिनाको छोरालाई सम्झिरहन्छन्।

श्रीमतीले जे गरेपनि बाउको मन न हो। आफ्नो रगतलाई कसले बिर्सन सक्छ र? घरीघरी छोरालाई सम्झिरहन्छन्। ऊ जन्मेको दिन याद गर्दै औला भाँचिरहन्छन्।

के गर्थे रामराजा?

सुरुमा उनी बालाजु, सामाखुसी, रत्नपार्क रुटको २३ नम्बर माइक्रो चलाउँथे। यही रुटको माइक्रो चलाउने क्रममा धादिङकी प्रतिमा न्यौपानेसँग उनको भेट भयो। बिस्तारै रामराजा र प्रतिमा एक अर्काको प्रेममा परे। प्रतिमा रामराजा भन्दा उमेरले केही जेठी थिइन्। केही समय पछि उनीहरुले प्रेमलाई बिहेमा परिणत गरे।

तर रामराजाको बिहेलाई लिएर परिवार खुशी थिएनन्। उनका आमा, दाइहरुलाई लागेको थियो, ‘उमेरमा जेठी त्यसमा पनि पहिलाको घरबार टुटेकीसँग भाइले बिहे नगरिदिए हुन्थ्यो।’

बिहे भएको थाहा पाएपछि रामराजाको घर परिवारले भन्यो, ‘राम्रो गर्नू, सधैँ खुशी हुनू।’

रामराजासँग प्रतिमाको दोस्रो बिहे थियो। त्योभन्दा अघि उनको धादिङमै विवाह भइसकेको थियो। पहिलो श्रीमानका तर्फबाट उनको एउटा छोरा छ।

रामराजा र प्रतिमाको दाम्पत्य जीवन ठीकठाक चलिरहेको थियो। मङ्सिरमा छोरो जन्मियो। उनीहरु झन दङ्ग परे।

उनी माइक्रो चलाउन छोडेर पूर्वका लागि रात्रि बस चलाउन थालेका थिए।

उपचार खर्च र कानून

यो चार महिनाको अन्तरालमा उनको उपचारमा पाँच लाखभन्दा बढी खर्च भइसकेको छ। चारवटा शल्यक्रिया भइसकेका छन्। आफ्नै शरीरको एक ठाउँमा छाला काटेर जलेको ठाउँमा सारिएको छ। यसले गर्दा रामराजा अलि बिसेक भए जस्तो भइरहेका छन्। तर उनको उपचार पूर्ण रुपमा सकिएको छैन। पटक पटक शल्यक्रिया गर्नु पर्छ। औषधि पनि उस्तै।

कानून अनि समाजले अझै पनि एसिड पीडितहरुको पीडालाई महसुस गर्न सकेको छैन।

कानुनले तेजाबजस्तो जघन्य, हिंसा र मृत्युपर्यन्त बोकेर हिड्नु पर्ने दागलाई सामान्य रुपमा लिने गरेको छ।

विदेशमा रहेका थापा परिवारका आफन्त–साथीभाइले रामराजाको उपचारका लागि केही रुपैयाँ सहयोग गरे। केही थापा परिवारले आफैँले खर्च गर्‍यो।

तर अब भने उनका उपचारका लागि पैसाको जोहो गर्न हम्मेहम्मे भइरहेको छ। यो भन्दा अगाडि एसिड आक्रमणमा परेका युवती तथा महिलालाई केन्द्र सरकारले तीन लाख दिएको थियो। यस्तै गत वर्ष भदौ २० गते एसिड आक्रमणमा परेकी मुस्कान खातुनले प्रदेश सरकारको तर्फबाट पाँच लाख र केन्द्रबाट तीन लाख रुपैयाँ पाएकी थिइन्।

तर रामराजाको हकमा भने सरकारले कुनै पनि सहयोग गरेको छैन। सरकारले रामराजालाई केही सहयोग गर्न सके उनको उपचार खर्चका लागि उनको परिवारलाई केही राहत मिल्ने थियो।

एसिड बिक्री तथा वितरणमाथिको नियन्त्रण फितलो भएका कारण समाजमा एसिड आक्रमणका घटना बढिरहेको रामराजाका साइँला दाइ सागर थापाले बताए। उनले भने, ‘एसिड बिक्रीमा रोक लगाउनु सक्नु पर्छ। ज–जसलाई अत्यावश्यक पर्छ उनीहरुका लागि परिचय खुने कागजातको प्रतिलिपि देखाएर मात्रै लिन मिल्ने बनायो भने मात्र यसलाई केही हदसम्म रोक्न सकिन्छ।’

समाजको हेराइ

रामराज आफैँ पीडामा छट्पटिरहेका छन्। उनले परिवारबाहेक अरु कसैको पनि साथ पाएका छैनन्। गल्ती गरे पनि पुरुष गलत, गल्ती नगरे पनि पुरुष नै गलत देख्ने समाजको प्रवृत्तिमा केही फरक नभएको अस्पतालमा रामराजाका कुरुवा बसिरहेका दाइ सागरले बताए।

उनले भने, ‘समाजको दृष्टिकोण परिवर्तन भएको छैन। जे हुँदा पनि समाज महिलाकै पक्षमा उत्रिँदो रहेछ। गल्ती भए पनि नभए पनि दोषी केटालाई नै ठहर्‍याइँदो रहेछ।’

के छ मुलुकी ऐनमा?

मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा कसैले तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ।

कसुर गरेको हकमा सजायः कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना।

त्यसैगरी शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना।

नेपालमा कानूनी व्यवस्था कमजोर हुँदा यस्ता अपराधिक घटना भइरहेको सरोकारवालाले बताएका छन्।

असार १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्