सन्दर्भ: धान दिवस

दिवसमा सीमित हुँदै गरेको धानको वृत्तान्त

नेपालमा असार पन्ध्र गतेलाई धान दिवस मनाउने चलन चलाइएको छ । दुर्लभ तथा विशेष घटना वा वस्तुका नाममा दिवस, पर्व वा समारोह अयोजना गरेर त्यसको विविध पक्षबारे सर्वसाधारणलाई जानकारी गराउने चलन छ । सन् असीको दशकसम्म नेपालले मनग्गे धान निर्यात गर्थ्यो, त्यसपछि आयात गर्ने गरेको छ । आधुनिक नामको विकासले नेपालमा धानको विस्तारलाई संकुचित पारेको छ । जमिन अतिक्रमित भएको छ, पानीका मुहान सुकेका छन्, वातावरण बिग्रेको छ भने कृषि श्रमिकको अभाव खड्किन थालेको छ । धान खेतीका लागि काठमाडौं उपत्यका र तराईको भूभाग उपयुक्त छन् तर तराईमा डुबानको चर्को समस्या थपिएको छ भने काठमाडौं उपत्यकामा घरहरूको जङ्गलले जमिन नासिएको छ ।

कृषि प्रधान भनिने देशमा सिंचाइ र मलखादको समस्या नै टाउको दुखाइको विषय बनेको छ ।  कृषिलाई जिउने अधार बनाउने कृषकहरूलाई धान दिवस मनाउने चटारो देखिन्न । किनभने कृषि किसानको दिनचर्या हो । उनीहरूमा संगालिएर रहेको पीडाको बोझलाई दिवसको हर्षले हलुङ्गो बनाउन पनि सक्दैन तर शहरमा कोच्चिएका सुकिलाहरुलाई भने धान दिवस मनाउन निक्कै चटारो देखिन्छ । सभा, सम्मेलन र प्रदर्शन गरेर सामाजिक संजालमा पोष्ट गर्ने, समाचारमा छाउने क्रम बढेको छ जसको कृषि उत्पादकत्वसँग कुनै साइनो छैन । खाद्य सुरक्षाका हिसावले धान जति महत्वपूर्ण छ त्यो भन्दा धेरै असुरक्षित हुनपुगेको छ । समय सापेक्ष सुरक्षाका उपाय नअपनाउने हो भने धान त लोप हुनसक्छ, त्यसअतिरिक्तखाद्यवस्तुको अभावलेमानिसको अस्तित्व पनि संकटमा पर्न सक्छ ।

धान के हो ?

धान जलीय वा पर्याप्त सिंचाइ सुविधा पुगेको भौगोलिक वातावरणमा उब्जनी हुने अन्न हो । परालको बालामा झुत्ती लागेर फल्ने भुस सहितको गेडालाईधान भनिन्छभने भुस (हुस्क) फ्याँकेपछिको खानयोग्य गेडालाई चामल भन्ने गरिन्छ । फ्रेन्च भाषाको ‘रीस ‘बाट राइस (धान)को नामाकरण भएको हो भने इण्डो-आर्यन भाषामा धानलाई व्रीहि भनिएको छ । धानको मुख्य परिकार भात हो । धानको उत्पत्ति चीनमा ‘ओरीजा सतीभा’  नामको घाँसबाट भएको हो ।यसलाई ‘एसियन राइस’  पनि भनिन्छ । यो घाँस आठ-नौ हजार वर्ष पहिले चीनको याङत्जे नदी किनारबाट संकलन गरेर कृषि प्रयोगमाल्याइएको विश्वास छ ।अफ्रिकन धानलाई ‘ओरीजा ग्लबेरिमा’  भनिन्छ ।

धानको जीवन चक्र

धानको जीवन चक्रलाई तीन चरणमा- रोप्नु पहिले (प्रि-प्लाण्टिङ), वृद्धि (ग्रोथ) र उत्पादनपछि (पोष्ट प्रडक्सन)विभाजन गरिएको छ । रोप्नु पहिलेका चार उप-चरण छन्- धानको प्रकार, बीउ, क्यालेण्डर र जमिनको छनोट। वृद्धिकोचरण अन्तर्गत पाँच उप-चरण रोपाइँ, सिंचाइ, मल, गोडमेल र किराको विनाश पर्छन् । त्यस्तै उत्पादनपछिको चरणमा काटने, सुकाउने, भण्डारण गर्ने र कुटने-पिसने अथवा उपभोग गरिन्छ । तीन चरणमा तेह्र उपचरण पार गरिसकेपछि धानको जीवन चक्र समाप्त हुन्छ।

धानमा पौष्ठिक तत्व

धानले पेट भर्नेमात्र गर्दैन बरु यो पोषण तत्वको स्रोत पनि हो । धानमा सबैभन्दा धेरै पाइने तत्व कार्बोहाइड्रेड हो । धानमा ६८ प्रतिशत पानी र ३ प्रतिशत प्रोटिन रहेको हुन्छ । प्रत्येक १०० ग्राम चामलमा १३० क्यालोरीउपलब्ध हुन्छ । कार्बोहाइड्रेडका कारण मोटोपन बढन जाने भएकोले मधुमेह र मुटु रोगका लागि चामलको अधिक प्रयोग स्वस्थ्यकर नमानिए पनि युवा, वालवालिका र महिलाहरूको शारीरिक वृध्दिका लागि धानको उपभोग महत्वपूर्ण छ ।

नेपालमा धानको सांस्कृतिक महत्व

आर्थिक हिसाबले महत्वपूर्ण मानिएको धान सांस्कृतिक र सामाजिक मान्यताका कारण पनि त्यति नै महत्वपूर्ण रहेको पाइन्छ । पीन्स्ट्रप-एण्डरसन (२००९) को भनाइअनुसार खाद्य वस्तुको प्राथमिकतालाई सांस्कृतिक मान्यताले पनि निर्धारण गर्दछ । प्रत्येक समाजमा धर्म, सांस्कृति र सामाजिक मान्यताअनुसार खान हुने, नहुने र नभइ नहुने कृषि उत्पादन हुन्छन् । नेपालमा धानप्रतिको सामाजिक मान्यता र विश्वास बडो गजबको छ । वालक जन्मेको छ महिनामा चामलको भात खुवाएर अन्नप्राशन गरिन्छ । दशैंमा चामलको टीका र जमरा (मकै र जौमा मिसाएर), तिहारमा चामलको पिठोको सेल रोटी, पितृको श्राद्धमा भातको पिण्ड, मङ्सिरमा नयाँ धानका चामलको न्वागी, धर्म-कर्ममा धान चामलको हवन गर्ने चलन छ । यसरीपूजापाठमा धान चामल नभईनहुने तत्व बनेर रहेको छ । नेपालमा प्रचलित सांस्कृतिक मान्यताले पनि धानको उत्पादन, उपभोग र विनिमयलाई अपरिहार्य बनाएको छ ।

सिद्धान्त र व्यवहार

नाफा पूँजीवादी आर्थिक मान्यताको सबैभन्दा केन्द्रमा रहने लक्ष हो । नाफाको दर कृषिबाटभन्दा गैरकृषि क्षेत्रबाट अत्यधिक हुन्छ । खासगरी प्राकृतिक स्रोतको दोहन सस्तो तर मुनाफाकारी हुने भएकैले दोस्रोविश्व युध्दपछिको आर्थिक वृद्धिकालागि कृषि क्षेत्र प्राथमिकतामा परेन । तुलनात्मक हिसावले त्यतिखेर जनसंख्या कम भएकोले खानेकुराको अभाव पनि भएन । डब्लु.  डब्लु. रोस्टोले सुझाएको आर्थिक वृद्धिका पाँच चरणमध्ये आमउपभोगको शिखरमा पुग्न प्राकृतिक स्रोतको दोहनलाई औद्योगिकीकरण र शहरीकरणको नाममा तीब्र पारियो, जुन निरन्तर छ । अहिले आएर विकासको त्यस्तो मान्यता गलत थियो भनेर विकल्पका वारेमा सोच्न थालिएको छ ।नाफा केन्द्रीत विकास प्रयासबाट नेपालमा पनि कृषि क्षेत्रले धेरै चुनौतिको सामाना गर्नुपरेको र खाद्य असुरक्षाको अवस्था सिर्जना भएको छ ।त्यसलाई पुनरावलोकन गर्न अति आवश्यक छ । अतः मानवीय कल्याणको पक्षमा परिणाम निस्कनेगरी विकासको केन्द्रमा मानिस, प्रकृति र कृषि रहनु पर्छ ।

नेपालमा धान

नेपालमा करिव पाँच सय वर्षअघि बारा जिल्लाको सिम्रौनगढमा धान पाइएको थियो र यही धान नेपाल र भारतमा क्याराभानको रुट हुँदै फैलिएको विश्वास छ । धान १ देखि १.८ मिटरसम्म अग्ला हुन्छन् र धानको गेडा फल्ने बाला १२ देखि २० इन्च लामा हुन्छन् । धानको डाँठलाई पराल भनिन्छ ।

मौसमका हिसाबले वर्षे र हिंउदेगरी दुईथरिका धान रोपिन्छ । चैते वा ताइचिन जातको धान हिंउदे हो भने वर्षे धान मनसून सूरूभएपछि असार-साउनमा रोपेर मंसिर-पुसमा थन्क्याइन्छ । खेती र व्यावसायका हिसाबले वर्षे धानको स्थान ठूलो छ ।त्यसैगरी भौगोलिक हिसाबले पनि होचो जमिन (लो ल्याण्ड) र शिखरमा हुने धान (अप ल्याण्ड) भनेर छुट्याइको छ । तराईमा हुने धानलोल्याण्ड अन्तरगत पर्दछ जसलेधान खेती हुने कुल जमिनमध्ये ६९.६ प्रतिशत ढाकेको छ भने पहाडी २५ प्रतिशत र हिमाली ४.४ प्रतिशत जामिनमा फल्ने धानलाई अप ल्याण्ड मानिएको छ । अप ल्याण्डमा हुने धानलाई धेरै पानीको जरुरत पर्दैन, सुख्खामा पानि लगाउन सकिन्छ । हर्दिनाथ-२, सुख्खा-१,२,३ प्रजातिका धान नेपालको अप ल्याण्ड (पहाडी र हिमाली भाग) मा लगाइन्छ । तरलो ल्याण्ड (तराई) मा लगाइने धानका लागि भने सिंचाइ नभई हुँदैन, यो मुलतः मनसुनी वर्षामा निर्भर रहन्छ।जुम्लामा पाइने धानअप ल्याण्ड अन्तरगत पर्दछन् ।

कृषि प्रधान देश मानिने नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले २६ प्रतिशतभन्दा धेरै योगदान दिँदै आएको छ। कुल कृषि उत्पादनमा धानको योगदान२० प्रतिशत छ ।नेपालले सन् १९८१-८२ सम्मधाननिर्यात गर्थ्यो, आत्मनिर्भर थियोतर सन् १९८७-८८ देखि आयात गर्न थालेको छ, परनिर्भर भएको छ । गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन गरेकोभए पनि सो परिमाणले आन्तरिक मागलाई धान्न सक्ने देखिदैन । आधुनिक कृषिको संरचना,सिँचाइ र मल-बीउकोराम्रो व्यवस्था गर्नअझैनसकिएकोले उत्पादकत्व बढने त कुरै भएन। साथसाथै जनसंख्या पनि बढन गएकोले धानको माग र पूर्तीविच असन्तुलन देखिएको छ ।त्यसैगरी कृषि रहरको पेशा नभएर जीवन निर्वाहको वाध्यता बनेको छ । विविध कारणले कृषि क्षेत्र अति महत्वयोग्य छ तर यही क्षेत्र सीमान्तकृत, उपेक्षित र निरीह रहँदैआएको छ ।

नेपालमा कृषियोग्य जमिनको प्रयोगका सम्बन्धमा सन् २०१७ मा गरिएको एउटा अध्ययनले पछिल्लो तीन दशकमा काठमाडौंउपत्यकाको शहरीकरण ४१२ प्रतिशतलेवृद्धि भएको देखाएको छ ।शहरीकरणको विस्तार सन् १९८९ देखि २००९ को विचमा तीब्र भएको देखिन्छ । यसबाट कृषियोग्य जमिनमाथि अनियन्त्रित अतिक्रमण सर्वथा अनुचित छ भन्ने बुझ्न कठिन छैन । मुलतः आर्थिक उदारिकरण अर्थात् नव-उदारवादको समयमा जमिनमाथिको अतिक्रमण अति नै तीब्र भएको देखाएको छ ।

काठमाडौं उपत्यकाकोआवास क्षेत्र (रातो) र कृषियोग्य जमिन (हरियो) । स्रोतः इश्तियाक समेत (२०१७)

बहुदलीय व्यवस्थाको पुनर्स्थापनासँगैनेपालले दीर्घकालीन कृषि योजना (एग्रिकल्चर परस्पेक्टिभ प्लान १९९५-२०१५) पूरागरी २०१६ देखि २०३५ सम्मको लागि कृषि विकास रणनीति (एग्रिकल्चर डीभलपमेण्ट स्ट्राटेजी) लागु भइरहेको छ । सहस्राब्दीविकास लक्ष (२०००-२०१५) पूरागरी दिगो विकास लक्ष (२०१५-२०३०) कार्यान्वयनको चरणमा छ । सत्रवटा लक्ष भएको दिगो विकासले ‘कोहीपनि पछाडि नपारिउन्’ भन्ने नारासहित कृषिलाई गरिबी निवारण र भोकमरी अन्त्यको आधार विन्दु मानेको छ ।दिगो विकास लक्ष (२०१५-२०३०) को तर्जुमा गर्ने कार्यमा नोवेल पुरस्कारले सम्मानित विद्वान अमरत्य सेनद्वारा प्रतिपादित मानवीय कल्याण र ‘क्यापाविलिटी थ्योरी’ को सैध्दान्तिक मान्यतालाई उपयोग गरिएको तथ्य उल्लेखनीय छ । त्यसैले कृषिको महत्व अगाडि आएको हो ।नेपालले पनि आफ्ना सबै योजनालाई दिगो विकास लक्ष (२०१५-२०३०) को कार्यक्रम र उपलब्धिसँगै समाहित गरेको छ तर कृषिको अपेक्षित विकासको लागि आशा गर्नलायक कार्यक्रम भने देखिएको छैन ।

प्रजातन्त्रमा लविङ र बार्गेनिङले आफ्नो पक्षमा निर्णय गराउन बलियो काम गरेको हुन्छ । त्यसका लागि पेशागत संगठनको भूमिका उल्लखनीय रहन्छ तरनेपालमा किसानकोसंगठन कमजोर छ, उनीहरु आवाज विहीन छन् । जनसंख्याको सबैभन्दा ठूलो यो हिस्सालाई सुनियोजित तरिकाले आवाज विहीन पारिएको छ । किसानमा रहेको चरम गरिबी र अज्ञानताका कारण उनीहरूले आफ्नो वर्गीय संगठनलाई आत्मा र शक्ति दिन सकिरहेका छैनन् ।लविङ गर्न नसकेर पनि नेपालमा किसानहरु पछाडि परेका छन् । सरकार अनुदान कटौती गर्ने, बैंक वित्तीय संस्था जोखिम देखाएर कृषि र किसानलाई ऋण पनि दिन नमान्ने, गाउँका मुखिया तमसुकेहरूले चक्रवृत्तिमा चर्को ब्याज असुल्ने, जोत्नको जमिनमाथि स्वामित्व नहुनेअवस्थाले किसानमाथि निरन्तर दबाब सिर्जना गरेको छ ।विश्व व्यापार संगठनको नीतिका कारण कृषिमा विगतदेखि दिइँदै आएको अनुदान कटौती गर्न थालिएकोले पनि किसानलाई मर्का परेको हो ।

विश्वमा कृषिमा ७० प्रतिशतसम्म विमा गर्ने गरिएको पाइन्छ तर नेपालमा विमाको अवधारणा मान्यतामा मात्रसीमित रहेको छ । पढेलेखेका मानिसहरु कृषि पेशालाई हेयको दृष्टिले हेर्छन् । कुनैपनि किसानले आफ्ना सन्ततिलाईकिसान नबनोस् भनेर आशिष दिने गर्छन् । मानसिक रुपमा पनि कृषि कमजोर पेशा बनेको छ ।संघीय गणतन्त्रको डोजरे विकासले गाउँका जमिनलाई प्लटिङ गर्दै घडेरीमा परिणत गरेर छिटो धनी हुनेगलतकार्य थालिएको छ । यसले पानीका मुहान सुकेका छन्, कृषियोग्य जमिन सकिएको छ, वातावरण विनाशभएको छ ।काठमाडौं उपत्यकाका वाग्मती र विष्णुमती नदीत्यसको ज्वलन्त उदहारण हो । यसरी आमरुपमा धानको लागि चाहिने वातावरण बिग्रँदै गएको छ । राजनीतिक इच्छा शक्ति पनि कृषि विकासको लागि कारक मानिन्छ तर नेपालमा राजनीतिक अस्थिरता र कुशासनको नालिवेली डर लाग्दो छ । यतिसम्म कि सन् १९९० देखि २०१७ सम्मको २७ वर्षमा सत्ताइसै पटक प्रधानमन्त्री बदल्ने काम भएको छ ।राजनीतिक अस्थिरता र कुशासनले सरकारको आँखामा पट्टी लगाइ दिएको छ जसले वास्तविक समस्याको पहिचान नै गर्न सक्दैन । वास्तवमा नेपालको कृषिले आमुल सुधारका कार्यक्रम अपेक्षा गरेको छ ।

भविष्यको बाटो

सन् २०१६ देखि २०३५ सम्मका लागि ‘कृषि विकास रणनीति’ कार्यक्रम लागु भइरहेको छ । कोरोना पछिको माग र विगतको कृषि विकासका कमजोरीलाई सुधार गर्नसक्ने क्षमता कृषि विकास रणनीति२०१६-२०३५ मा देखिदैन । नेपालले रिजिलियण्ट, स्मार्ट कृषि प्रणालि लागु गर्न कत्तिपनि ढिलो गर्नुहुन्न ।रिजिलियण्ट स्मार्ट कृषिले राजनीतिक स्थिरता,सुशासन, किसानको हित, प्राकृतिक स्रोत, पुर्वाधार, बजार लगायात माटोको पौष्टिक र जैविकीय तत्व समेतको एकीकृत योजना बनाएर कार्यान्वयनको तहमा लैजान्छ ।

बृहद धान प्रणालि (सिस्टम राइस इन्टन्सिफिकेसन, जसलाई छोटकरिमा एसआरआइ पनि भनिन्छ) को चयन गरेर धानलाई अझ रिजिलियण्ट बनाउन सकिन्छ । रिजिलियण्ट सिस्टमले घटनापछिको धानको अवस्थालाई कम क्षति र छोटो समयमा पूर्ववत अवस्थामा फर्काउने क्षमता राख्दछ ।

नेपालको अहिलेको धान खेतीको अवस्था, त्यसको सरोकारवाला समुह, तिनीहरूको परफरमेन्सलाई तलको तालिकामा समाहित गर्दै भविष्यमाधान खेतीको पद्धतिलाई रिजिलियण्ट र स्मार्ट बनाउन आवश्यक सिध्दान्तहरु पनि दिइएको छ । रिजिलियण्ट सिस्टमका सातवटा सिध्दान्तहरु छन् जुन अहिलेको नेपालकोधान खेतीमा अवलम्बन गरेको देखिएन।

स्रोत: लेखकको पूर्व अनुसन्धान (२०१८) र अन्य स्रोत

नेपालको धान खेतीलाई भविष्यमा उपयोगी र उत्पादकीय बनाउन रिजिलियण्ट स्मार्ट कृषिको अवधारणा अगाडि सार्दै ठोस कार्यक्रमको प्रस्ताव गर्न सकिन्छ ।अहिलेको धान खेतीपरम्परागत, जीवन निर्वाह, श्रमप्रधान, सीमान्तकृत र स्रोतहीन अवस्थाबाट गुज्रेको छ । त्यसका सरोकार समुह अर्थात् कर्ताहरू सरकार, किसान र गैरराज्य पक्षमध्ये कसैको सहभागिता पनि सन्तोषजनक देखिएको छैन, अपर्याप्त छ । यदि न्यून (ग्याप) देखिएका सबै पक्षलाई रिजिलियण्ट सिस्टमका सातवटा सिध्दान्तहरु मार्फत् पूर्तीगर्न सकियो भने आशा राख्न सकिन्छ कि नेपालको समुल कृषि प्रणालिमै आधारभूत सुधार आउनुको साथै धान लगायत खाद्य उत्पादनमा नेपाल आत्मनिर्भरको दिशामा अघि बढन सक्छ ।

कार्यक्रम तर्जुमा गर्नुमात्र ठूलो कुरा होइन त्यसको सफल कार्यान्वयन अति आवश्यक छ । विगतका कतिपय  कार्यक्रम राम्रा छन् तर कार्यान्वयनको पक्ष कमजोर देखिएको छ । राज्यकासबै पक्षको व्यवस्थापन गर्ने दायित्व सरकारको हो तर नेपालमा विगतका सरकार अस्थिरमात्र होइन दिशाहीन भएका धेरै आधार छन् । धान दिवस मनाउन शोख गर्नेहरुले आफ्नो सहभागितालाई उत्पादकीय बनाउन इमान्दारीपूर्वक मन, वचन र कर्मले समर्पित हुनु पर्छ । अन्यथा नेपाल भविष्यमा ठूलो खाद्य संकटको सामना गर्नु पर्ने वाध्यताको चौबाटो उन्मुख देखिन्छ ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्