देशभर बदली, केही स्थानमा ठूलो पानी पर्ने

काठमाडौँ – देशभरको मौसम सोमबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा पानी परेको छ।

नेपालमा अहिले अरेबियन सागरबाट आएको दक्षिण–पश्चिमबाट बहने मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । यस्तै नेपाल नजिकै रहेको मनसुनी न्यून चापीय रेखा पनि प्रभाव छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्य बदली रही केही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्