मलको अभावकाबिच प्रदेश १ मा झण्डै २२ प्रतिशत रोपाइँ

मोरङ – सिचाईँ अभावसँगै यसपटक मलखादको व्यवस्थापन सहज हुन नसक्दा मोरङका कृषकलाई रोपाइँ गर्न समस्या भएको छ ।
सोमबार असार १५, राष्ट्रिय धान दिवस मनाइरहँदा प्रदेश १ मा भने रासायनिक मलको अभावका कारण कृषकले अपेक्षाकृत धान रोपाइँ गर्न सकेका छैनन् ।

मोरङ सुनवर्षी नगरपालिका ३ का केदार बस्नेतले विगत झैँ यसपटक पनि मलको जोहो गर्न नसक्दा सोचे जस्तो धान रोपाइँमा उत्साह नभएको बताउँछन् । घर–घरमा सिंहदरबारको नारा दिएर कृषिलाई प्रदेश सरकारले प्राथमिकतामा राखे पनि व्यवहारतः त्यो नदेखिएको गुनासो बस्नेतको छ । अहिले युरिया मलको अभाव कायमै रहेको उनको भनाई छ ।

त्यसैगरि सुनवर्षी नगरपालिका ३ का कृषक तोर्णबहादुर कट्वाल सरकारले कृषिलाई विशेष प्राथमिकता दिएको जनाए पनि त्यसअनुसार काम नभएको बताउँछन् । लकडाउन र कोभिड–१९ का कारण थप एक महिना मल अभाव हुने अनुमान गरेका कट्वालले अहिले बजारमा कालोबजारी र महंगोमा मल खरिद गरेर छर्कनु परेको बताए ।

प्रदेश १ मा मल खाद आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग लिमिटेडमा रोपाइँको समय युरिया मल समेत सकिएको छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयका सूचना अधिकारी नवरत्न गौतमका अनुसार धान रोपाइँ सुरु भइसक्दासमेत युरिया मल आउनेमा ढुक्क हुनसक्ने अवस्था छैन । त्यसैगरि, साल्ट ट्रेडिङ्ग विराटनगरसमेत युरिया मलको मौज्दात सकिएको छ ।

तर धानको सिजनका लागि डिएपी मलको अभाव नहुनेमा दुवै संस्था विश्वस्त रहेका छन् । हाल साल्ट ट्रेडिङ्गमा करिब एक हजार टन डिएपी मौज्दात रहेको र कम्पनीमा भारतबाट ४ हजार ५ सय टन मल आउने क्रममा रहेको छ ।

धान खेतीका क्रममा ५० प्रतिशत डिएपी र ५० प्रतिशत युरिया मिसाएर लगाउने गरिन्छ।

प्रदेश १ मा अहिलेसम्म २१.४८ प्रतिशत धान रोपाइँ भइसकेको विराटनगरस्थित कृषि निर्देशनालयकी सूचना अधिकृत सरस्वती श्रेष्ठले जानकारी दिएकी छन् ।

उनका अनुसार सिचाँइको सुविधा नपुगेको क्षेत्रमा समेत कृषकले आकाशे पानी र बोरिंग पानीको भरमा खेती गरिरहेका छन् ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्