हालसम्म नेपालबाहिर २६ हजार २ सय २७ नेपाली कोरोना संक्रमित, १ सय ३० ले ज्यान गुमाए

फाइल तस्बिर

सिड्नी – गैरआवासीय नेपाली संघले हालसम्म देशबाहिर कोरोना संक्रमित नेपालीको सङ्ख्या २६ हजार २ सय २७ रहेको जनाएको छ । तीमध्ये करिब १८ हजार ७ सयभन्दा बढी निको भइसकेका छन् भने १ सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।

गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समितिद्वारा जारी गरिएको विज्ञप्तिमा सो तथ्याङ्क उल्लेख गरिएको छ । विज्ञप्तिमा हालसम्म कतारमा संक्रमित करिब ९२ हजारमध्ये २० प्रतिशतको हाराहारीमा नेपाली प्रभावित भएको उल्लेख छ ।

गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता पहिलोपटक दक्षिण अफ्रिकामा रहेका ५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अफ्रिकी अन्य देशसहित सो क्षेत्रमा १० जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो । त्यसैगरी बंगलादेशमा रहेका १५ जना नेपाली तथा भारतमा रहेका १ सय ५० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको उक्त स्वास्थ्य समितिले जनाएको छ ।

नेपालका सङ्क्रमितसहित हालसम्म विश्वभरका ३७ देशमा ३८ हजार ५ सय ३६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको समितिको तथ्याङ्क छ ।

११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्किए

गैरआवासीय नेपाली संघका अनुसार जेठ २२ देखि असार १३ गते सम्म भारतबाहेक तेस्रो मुलुकबाट ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्किसकेका छन् ।

तीमध्ये सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । त्यसैगरी युएईबाट २ हजार १७, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बगंलादेशबाट ८ सय १५, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट, ६ सय ४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्याण्डबाट ३ सय २६, ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरियाबाट २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायत २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना रहेका छन्।

गैरआवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

८७ शव नेपाल ल्याइयो

विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको एनआरएनएले जनाएको छ । तीमध्ये हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ ।

त्यसैगरी साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको एनआरएनएद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संघका अनुसार अझै विदेशमै रहेका करिब १ सय २० वटा शवलाई नेपाल ल्याउन नेपाल सरकारको पटकपटक ध्यानाकर्षण गरिसकिएको छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्