नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, गोली चल्दा १८ जना घाइते

जनकपुधाम – सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ३ मा आइतबार साँझ नेकपा र कांग्रेसको झडपमा गोली चल्दा गोलीको छर्रा लागेर १८ जना भन्दा बढी घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमनी पोखरेलले जानकारी दिए ।

गत असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ताहरुले मसाल जुलुश निकालेको समयमा दुवैपक्षबीच झडप भएको हो ।

झडपमा घाइते भएकाहरुको उपचार मलंगवाको अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

उनले दुवै पक्षबीच झडप हुँदा घाइते भएकाहरुको अवस्था सामान्य रहेको जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धनकौलकै एकजनालाई नियन्त्रणमा लिएको छ । तर उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

हत्याको विरोधमा धनकौल बजारमा जुलुश निकालेकै समय कांग्रेसको कार्यकर्ताहरुले हतियारसहित आक्रमण गरेको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।

यता कांग्रेसका रणधीर रंजन बर्माले आफू बजारबाट तरकारी लिएर घर अगाडि बसिरहेको समय नेकपाका कार्यकर्ताहरुले कुटपिट गरेको बताएका छन्।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू