उन्नत जातको धानको बिउ प्रयोग गर्ने वातावरण अझै बनेन: विज्ञ

खुमलटारमा धान रोपाइँ गर्दै किसानहरु । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइँदैछ । ललितपुरको खुमलटारमा कृषि विभाग, कृषि अनुसन्धान परिषदले औपचारिक कार्यक्रम आयोजना गरी रोपाइँ महोत्सव मनाएको छ ।

कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबिच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा उपस्थित हुुभएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतीको विकासका लागि उन्नत जातको धानको बिउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेको बताए । उनले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाइँ भइरहेको बताए । उनले कृषि अनुसन्धान र किसानबिचमा ठूलो खाडल रहेकाले उन्नत जातको बिउ किसानले पाउन नसकेको बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बिउमा अनुदान दिने व्यवस्था गरिएको बताए । उनले जोखिम न्यूनिकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताए । उनले कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबिच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको बताए ।

नेपाल कृषि अनुसन्धान परिषदका कायएकारी निर्देशक दीपक भण्डारीले नेपालमा विकास भएका धानको बिउको प्रयोग बढाउनुपर्ने बताए । नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने बताए । उनले परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने बताए ।

नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानीका निर्देशक हरिकृष्ण उप्रेतीले यस वर्ष असार १५ सम्म २२ प्रतिशत जमिनमा धान रोपाइँ सम्पन्न भएको जानकारी दिए । उनले उच्च पहाडि क्षेत्रमा करिब ३५ प्रतिशत, पहाडि क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा धान लगाउन सुरु गरिएको बताए ।

निर्देशक उप्रेतीले सलह किराबाट धानको बिउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्ने लगायतका काम गर्न किसानहरुलाई सुझाव दिए ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू