सर्लाहीमा व्यक्तिगत झगडाले कसरी लियो पार्टीगत झडपको रुप?

जनकपुरधाम– सर्लाहीमा भएको झडपमा आपसी विवादलाई पार्टीगत रुप दिइएको २ नम्बर प्रदेश प्रहरीले जनाएको छ । आइतवार साँझ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच झडप हुँदा तीनजना प्रहरी हित २१ जना घाइते भएका छन् ।

जिल्लाको धनकौल गाउँपालिका वडा नं. २ पेट्रोलपम्प नजिक स्थानीय १६ वर्षीय राजिब कुमार साहले आफ्नो ट्याक्टर नहरमा धुन जाँदा त्यसै स्थानका ३० वर्षीय धमेन्द्र साहसहित ७ जनाले बाटो छेकी राजिवलाई कुटपिट गरी सामान्य घाइते बनाउँदा सोही झगडालार्ई पार्टीगत रुप दिइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

घाइते पक्ष नेकपा र कुटपिट गर्ने पक्ष नेपाली कांग्रेस पार्टीका समर्थक बीच करिब १५० जनाको संख्यामा झडप हुँदा यो घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।

उक्त झडपमा ढुङ्गा हानाहान भएको र गोली पडकेको आवाज समेत सुनिएको प्रदेश प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रण गर्न पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी मध्ये तीनजना प्रहरीसहित २१ जना घाइते भएका छन् ।

झडपमा प्रहरी नायव निरीक्षक राज कुमार यादव, प्रहरी हवल्दार रामबाबु साह र प्रहरी जवान तिलक मगर घाइते भएका छन् । त्यस्तै गोलीको छर्रा लागेर १५ जना घाइते भएका छन् । घाइतेमा नेकपा पक्षका संजिव यादव, राकेश कुमार सिंह, रामबिनय पासवान, सुनिल कुमार साह, नितेश कुमार सिंह, बिजय कुमार साह, बिलासि राय, रामचन्द्र हजारी, अरुन कुमार राय, मोहमद शेख, बिजय सिंह, महबुब हनसारी, सुरज कुमार सिंह, सुनिल महतो र नागेश्वर सहनि रहेका छन् ।

त्यस्तै कांग्रेस तर्फ लक्ष्मण साह, रणधिर राजन बर्मा र बैधनाथ सहनी रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए । यस घटनामा सर्लाहीको धनकौल गाउँपालिका वडा नं. २ का २९ वर्षीय मुकेश साहलाई नियन्त्रणमा लिएको र कुटपिट गरेर फरार रहेका व्यक्तिहरुको खोजतलास भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू