प्रदेश अस्पताल सुर्खेतका मेसु डा. डम्बर खड्कासँग अन्तर्वार्ता

‘कोरोना नियन्त्रणमा अहोरात्र खटिएका छौँ तर तत्काल गम्भीर संक्रमितको उपचारमा चुनौती हुनेछ’

वीरेन्द्रनगर – कोरोना महामारीको चपेटाबाट कर्णाली प्रदेशलाई माथि उठ्न निकै समय लाग्ने देखिन्छ।

खासगरी भारतबाट आफ्नो क्षेत्रमा आउने नेपाली नागरिकको वास्तविक तथ्याङ्कको अभिलेख राखेर उनीहरुको व्यवस्थापनका लागि पूर्वतयारी नगर्दा कर्णालीले हाल आएर मुल्य चुकाउनु परेको छ।

नागरिकलाई सुरक्षित राख्ने दायित्व एकातिर छ। अर्कोतिर राजधानी सुर्खेतमा सञ्चालित कोरोना भाइरस परीक्षण गर्ने मेसिन चारदिनदेखि बिग्रिएपछि चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला प्राविधिकहरुको मात्रै स्वाब संकलन गरिएको छ ।

त्यो परीक्षणका लागि बाँके पठाउन थालिएको छ। मेसिन बिग्रिएपछि हाल ९५० स्वाब प्रयोगशालामै ‘होल्ड’ गरिएको छ। पछिल्लो समय विकसित परिस्थितिले सबैभन्दा ठूलो दबाब प्रदेश अस्पताल सुर्खेतको कोरोना विशेष अस्पताललाई परेको छ।

हाल ६० जना संक्रमतिको उपचार गरिरहरेको अस्पतालको समग्र व्यवस्थापनबारे र चुनौतीबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले देश सञ्चारसँग बताएका छन्। डा. खड्कासँग लिइएको अन्तर्वार्ताको संक्षिप्तरुप।

कोरोना विशेष अस्पतालमा संक्रमितको उपचार र व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

संक्रमितको उपचार र व्यवस्थापन अहिले हरेक अस्पताललाई चुनौतीको विषय बनेको छ। त्यस्तो चुनौती हामीसँग पनि छ।

तर हामीले आफ्नो पूर्वयोजनाका आधारमा तयार पारेको अस्पतालको भवनमा संक्रमितलाई राखेर उपचार गर्ने अवसर पायौँ। हामीलाई ठाउँको कुनै समस्या छैन।

बेड र क्याबिनको व्यवस्था पनि राम्रो छ। बिरामीले हालसम्म गुनासो गर्ने मौका पाएका छैनन्। उनीहरुका लागि खाने, बस्ने व्यवस्था पनि राम्रो छ। हाल ६० जनालाई हामीले उपचार गरिरहेका छौँ।

संक्रमितको क्षेत्रमा कार्यरत चिकित्सक, परीक्षणमा संलग्न भइरहेका प्राविधिकहरु संक्रमित हुनेक्रम बढेको छ। चुनौती थप्यो नि?

पक्कैपनि त्यो हाम्रो लागि चुनौतीको विषय बनेको छ। धेरैजसो प्रयोगशालामा कार्यरत प्राविधिकहरु संक्रमित हुन पुग्नुभयो।

स्वाब संकलन गर्ने, लिन जाने, ल्याउनेहरु कर्मचारीहरु यसबाट प्रभावित हुनु भएको छ। समुदायस्तरबाट आएका, जो आईसीयुमा हुनुहुन्थ्यो उहाँहरुबाट संक्रमण फैलिएको आशंका छ।

२० दिन जति भयो सेवामा खटिनुभएकोहरुमा पनि संक्रमण फैलिन थालेको। प्रयोगशालाका ६ जना, एक्सरेको एक जना, २ जना चिकित्सक र एक जना हेल्थ असिष्टेन्टमा फैलिएको थियो।

हेल्थ असिष्टेन्टलाई निको भएर पनि काममा फर्किसक्नु भयो। बाँकी ९ जना आइसोलेसनमा हुनुहुन्छ। यस अस्पतालमा कार्यरत केही चिकित्सकहरु प्रदेशका अन्य जिल्लामा खटिनुभएको छ। उहाँहरुको पनि हामीलाई आवश्यकता परिसकेको छ।

कोरोनाका कारण फेरि ओपीडी सेवा बन्द गर्नुभएछ किन?

बाध्य भएर हामीले ओपडी बन्द गर्नुपरेको छ। एक त हामीसँग थोरै जनशक्ति छन्। संक्रमित बढिरहेका छन्। सबैलाई हेर्नुपर्ने भयो। जोखिम पनि बढ्यो। त्यसकारण ओपीडी सेवा केही समयका लागि बन्द गरेका हौँ।

गहिरिँदो संकटमा केन्द्र र प्रदेश सरकारबाट कत्तिको सहयोग प्राप्त भएको छ?

केन्द्रबाट जति हुनुपर्ने थियो त्यति भएको छैन। तर प्रदेश सरकारबाट भने अपेक्षाअनुसार सहयोग गर्नुभएको छ। उहाँहरुले हामीलाई जे चाहिन्छ त्यो सहयोग प्राप्त हुन्छ, काम गर्नुहोस् भन्नुहुन्छ। त्यसले गर्दा हामी २४ सैँ घण्टा लागि परेका छौँ।

यस्तो महामारीका बेला संघीय मन्त्रालयले नै सुरक्षा सामग्रीलगायत स्रोतसाधनमा बढ्ता सहयोग गर्नुपर्ने थियो। त्यस्तो सहयोग भने धेरै प्राप्त भएन। सबै कुरा प्रदेशस्तरमा काम गर्नुपर्ने अवस्था आएपछि तनाब पनि भयो। त्यसमा समय पनि लाग्यो।

तयारी गर्दागर्दै बाहिरबाट आउनुपर्ने नागरिकहरु आए। खासगरी भारतबाट नागरिकहरु धमाधम आउन थाल्नु भयो। उनीहरुको व्यवस्थापनमा अर्को चुनौति थपियो। संक्रमणको परीक्षण र संक्रमितको व्यवस्थापन अर्को चुनौति बन्यो।

संक्रमितलाई तत्कालै आईसीयुमा राखेर उपचार गर्नुपरेमा के गर्नुहुन्छ?

तत्कालै त त्यसमा हामीलाई समस्या नै छ। तर करिव एक महिनाभित्र भने हामी त्यसमा सक्षम हुनेछौँ। सामना ल्याउन दिनरात प्रयास गरेका छौँ। तर यो लकडाउनका बेला भने जस्तो सजिलै सामग्री पाउन गाह्रो छ।

एउटै प्रदेश भएर पनि बाहिरी जिल्लाका संक्रमितलाई उपचारका लागि नलिइएको भन्ने आरोप छ नि?

स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार हामीले त्यसो गर्न खोजेका हौँ। तर पनि आवश्यक बिरामीलाई हामीले उपचार गरिरहेका छौँ। त्यसमा बाहिर र भित्र भनेर विभेद गरेका छैनौँ। केन्द्र सरकारले लक्षण नदेखिएकालाई घरमै राख्नु भन्ने मापदण्ड बनाइसकेको छ।

कर्णाली प्रदेशमा संक्रमितलाई घरमा राख्ने वातावरण छ?

त्यस्तो वातावरण यहाँ कमै छ। शिक्षित परिवारले त बुझ्नु होला। तर अशिक्षित परिवारको हकमा त्यो लागू हुन सकिरहेको छैन। कि त सरकारले कानुन कडा बनाउनु पर्छ।

जरिवानाको प्रावधान राख्नुपर्छ। जनचेतनाको कमी भएको यो प्रदेशमा यो विषयमा मानिसलाई सहमत गराउन गाह्रो नै छ।

सुरुसुरुमा हामीले दैलेखनै पुगेर संक्रमितलाई यहाँ ल्याएका थियौँ। अहिले हजारौँ संक्रमित भइसकेका छन्।

जसलाई समस्या छ उनीहरुलाई अस्पताल राख्ने हो। जसलाई समस्या छ, संक्रमण मात्रै पुष्टि भएको छ भने उहाँहरुलाई घरमै आइसोलेसनमा राख्ने हो। जनतालाई हामीले बुझाउन सकेका छैनौँ। यसमा हाम्रो कमजोरी छ।

अर्कोतिर हाम्रो समुदायको अवस्था कस्तो छ, परिवार कस्तो र कति संख्यामा छन्रु त्यसमा पनि बिचार गर्नुपर्छ।

अस्पतालको तयारी नपुगेको गुनासो पनि छ?

चीनमा कोरोना भाइरसको संक्रमण देखिए लगत्तै हामीलाई आआफ्नो अस्पतालमा एउटा कोठामा दुई वटा वेड राखेर आइसोलेसन तयार पार्न संघीय स्वास्थ्य मन्त्रालयबाट पत्र आएको थियो।

पत्रअनुसार हामीले हाम्रो काम गरेका थियौँ। प्रदेश अस्पताल सुर्खेतमा पनि हामीले त्यसअनुसार आइसोलेसन तया पारेका थियौँ।

त्यो बेला नेपालमा संक्रण पुष्टि भइसकेको थिएन। तर पनि हामी सचेत थियौँ। परिपत्रहरु बाख्लिन थालेपछि हामीले अस्पतालका लागि निर्माण गरिएको नयाँ भवनलाई कोरोना विशेष अस्पतालकारुपमा विकास गरेका थियौँ।

प्राम्भिक चरणमा हामीलाई केन्द्र सरकारले ६० लाख रुपैयाँ छुट्याई दिनुभयो। हरेक दिन सूचना निकालेर सामाना झिकाएर कोरोना विशेष अस्पतालको रुप दिन हामी सफल भएका थियौँ। बेडदेखि सबै सामग्री गुणस्तरीय झिकाउने हाम्रो प्रयास छ।

प्रदेश अस्पताललाई तीन सय बेड पुर्‍याउने योजना भएको सुनिन्छ। सम्भव छ?

सुरुमा हामीले एक सय ५० बेडको अस्पताल बनाउने योजना हो। तर कोरोना विशेष अस्पताल बनाउने सिलसिलामा ३०० सय बेडको अस्पताल बनाउने तयारी छ हाम्रो। सम्भव भएरै हामीले काम अघि बढाएको हो।

अबको दुई सातामा ३०० बेड तयार हुनेछ। र त्यसमा आवश्यक परे हामी कोरोना भाइरस संक्रमणका बिरामीलाई राखेर उपचार गर्न सक्षम हुने छौँ।

३०० बेडमा २५ आईसीयु बेड हुनेछ। १५ एनआईसीयु बेड हुनेछ। हाल हामीले ४ वटा आईसीयु बेड चलाइरहेका थियौँ। पाँच वटा एनआईसीयु बेड चलाइरहेको हाल हामीले।

आईसीयु बेडा पहिले हामीले १० मात्रै थप्ने योजना बनाएका थियौँ। कोरोनाका कारण १० बेड थप्ने भएको थियौँ।

५ वटा आईसियु बेड र ५ वटा भेन्टिलेटर काँग्रेसका पूर्व सांसद राजिव शाहीेले दान गर्नु भएको छ। उहाँले कर्णाली प्रदेशलाई १ करोड बराबरको सामग्री दान गर्नु भएको छ।

त्यसमा ७० लाख प्रदेश अस्पताल सुर्खेत र बाँकी अन्य जिल्ला अस्पताललाई आवश्यकता अनुसार उपलब्ध गराउनु भएको छ।

बच्चाका लागि दुई वटासहित हामीसँग १० वटा भेन्टिलेटर छन्। तत्कालै २०० जना संक्रमितलाई राख्न सकिन्छ।

यो तयारीले मूर्तरुप कहिले पाउँछ?

आवश्यक पर्ने सामग्र झिकाउन कुनै कठिनाई नभएमा सम्भवत एक महिनामा हामी २५ बेडको आईसियुसहित ३०० बेडको अस्पताल तयार पार्ने छौँ।

यस्तोखालको अस्पताल सम्भवत नेपालमा पहिलोपटक सञ्चालनमा आउँछ जस्तो मलाई लाग्छ। अन्त ठाउँ अभावको समस्या छ।

यो अस्पताल पूर्णरुपमा सञ्चालनमा आएमा कर्णालीबासी उपचारका लागि बाहिर धाउन पर्दैन।

अस्पताल मात्रै तयार पारेर मात्रै बिरामीको उपचार सम्भव छैन। आवश्यकता अनुसार जनशक्ति जुटाउन सकिन्छ ?

सबैभन्दा ठूलो चुनौती भनेकै जनशक्तिकै हो। मैले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेको साढे चार वर्ष भयो। मैले यो जिम्मेवारी लिनेबेला १५ जना चिकित्सक थियौँ। सिनियर चिकित्सक जम्मा साढे चार जना थियौँ।

हाल आएर ३० जना मेडिकल अफिसरहरु छन्। २५ जना विशेषज्ञ चिकित्सक छन्। ५५ सिनियर र जुनियर गरी ५५ जना चिकित्सकको टोली यो अस्पतालमा खटिएको छ। तर स्थायी जम्मा दुई जना छन्। फिजिसियन ३ जना मात्रै हो।

एनेस्थेसोलोजिष्ट एक जना मात्रै हुनुहुन्छ। एक जनाले २५ वटा आईसीयु बेड सम्हाल्न कति सम्भव होलरु ३०० जना बिरामी राख्नेगरी अस्पताललाई तयार पार्ने हो धेरै नै चिकित्सकको आवश्यकता पर्छ । त्यसका लागि हाम्रो गृहकार्य पनि अघि बढाएका छौँ।

भएका जनशक्तिलाई पनि तालिमका लागि केन्द्रमा पठाएर सशक्त बनाउने हाम्रो योजना छ। स्टाफ नर्सहरुको आवश्यकता परेको कुरा प्रदेशको सामाजिक विकास मन्त्रालयलाई जानकारी

पनि गराएको र मन्त्रालयले त्यसका लागि प्रक्रिया अघि बढाएको अवस्था छ। कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यो प्रक्रिया अघि बढ्न पाएको छैन।

लोकसेवा आयोगका विषय टुंगि नसकेकाले स्थायी जनशक्ति राख्नलाई पनि समस्या देखिएको छ।

यस्तो बेला जनशक्ति परिचालन कसरी भइरहेको छ?

रोटेसनमा राख्दा तीन जना मेडिकल अफिसर, दुई जना नर्स, दुई जना कार्यालय सहयोगीलाई परिचालन गरिरहेका छौँ। दुई सिफ्टमा चलाएका छौँ।

१४ दिन काम गरेपछि १४ दिन होटल क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएका छौँ। बाँकी घरमा आराम गरेर फेरि डियुटीमा आउने नियम बनाएका छौँ।

सिनियर चिकित्सक ‘अनकल’मा बस्ने गरेका छौँ। प्रयोगशाला कर्मचारीलाई पनि त्यसैगरी परिचालन गरेका छौँ।

हरेक दिन दुई हजारका दरले उहाँहरुलाई होटलमा बस्ने व्यवस्था मिलाएका छौँ।

अस्पतालको आर्थिक अवस्था कस्तो छ ?

आर्थिक समस्या तत्कालै पर्छ जस्तो लाग्दैन। तुरुन्तै चाहिने सामग्री कसरी खरिद गर्ने भन्ने सवालमा हामीलाई थोरै चिन्ता छ। बिरामी बढ्न थाले भने बजेटको पनि समस्या पनि आउन सक्छ कि भन्ने चिन्ता हो। किट लगायत खरिद गर्नुपर्ने छ।

दुई महिनामै कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो?

मेसिनको हार्डवेयरमा समस्या आएको छ। चार दिन भयो मेसिन बिग्रिएको। दिनमा करिव चार सय सम्म स्वाब परीक्षण गर्दै आएको हो। करिव एक हजार स्वाब हाल थुप्रिएका छन्। अत्यावश्यक व्यक्तिको मात्रै स्वाब संकलन गर्न हामी बाध्य भएका छौँ।

यस्तो बेला विकल्प के छ रु यो मेसिन कहिले बन्छ?

विकल्पमा हामीले यहाँ संकलन गरेको अत्यावश्यक स्वाब परीक्षणका लागि बाँके पठाउन थालेका छौँ

प्रदेश सरकारसँग अर्को मेसिन पनि थियो। त्यो किन प्रयोग नगरेको ?

त्यो मेसिनको गुणस्तरमा प्रश्न उठ्यो । हामीलाई प्रयोगमा नल्याउनु भनेर केन्द्रबाट चिठी आयो। हामीले पनि सञ्चालनमा ल्याएनौँ।

नयाँ मेसिन खरिद प्रक्रिया कहाँ पुग्यो?

नयाँ मेसिनका लागि खरिद प्रक्रिया अघि बढेको छ। अमेरिकाबाट नयाँ मेसिन आउँदैछ। तर समय लाग्छ। करिव १५ दिन लाग्ने हाम्रो अनुमान छ।

अस्पतालले नै खरिद गरेको हो त्यो मेसिन। स्वास्थ्य निर्देशनालयबाट हुँदै आएको खरिद पनि यसपाली हामी आफैले जिम्मा लिएका छौँ।

करिव २५ लाखमा हामीले नयाँ मेसिन किन्न लागेको हो।

प्रदेश सरकारबाट कोरोनाका लागि अस्पताललाई कति सहयोग आएको छ?

प्रदेश सरकारले यो अस्पतालका लागि डेढ सय बेडका लागि सहयोग गरेको छ। त्यसका लागि साढे २ करोड रुपैयाँ दिएको छ।

त्यो रकमबाट हामीले समग्र व्यवस्थापन र किट, मेसिन लगायत सामग्री खरिद गरिरहेका छौँ। हामीले सबैभन्दा पहिले ५० लाखको किट किनेका थियौँ।

फेरि किट खरिद प्रक्रिया अघि बढेको छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू