राजेश हमालले सुरु गरे हाम्रो नमस्ते अभियान

काठमाडौँ- नेपाली रजतपटको दुनियाँमा एकछत्र राज गरेका महानायक राजेश हमालले विपदको बेलामा आफ्नो घर फर्किरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई दुई हात जोडी नमस्ते गरेर स्वागत गर्न सबैमा आव्हान गरेका छन्।

कोरोना भाइरसको सन्त्रासले विश्व नै त्रसित भइरहेको अहिलेको अवस्थामा हजारौंको संख्यामा विदेशमा रहेका नेपालीहरु सुरक्षित हुने आशाका साथ आफ्नै घर फर्किरहेका छन्। यसरी फर्किरहेका नेपालीहरुलाई विभेदपूर्ण व्यवहार नगर्न उनले अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘ढोका उभिएको छ जोडेर यही हात, नमस्ते गर्दै बारम्बार गरिरहन्छ स्वागत, जब घर बसाल्ने मनमा आउँछ कुरा एकताद्वारा मात्र हुनेछ सो सपना पूरा ।’

यतिमात्र नभई उनले कोभिड १९ लाई लक्षित गरेर आफ्नो हात सफा राख्न र परिवारको लागि स्वच्छ मन राख्न पनि आग्रह गरेका छन्।

युनिसेफ नेपाल र युनिलिभर नेपालको सहकार्यमा सञ्चालित हाम्रो नमस्ते अभियानका सद्भावना दूत महानायक राजेश हमाल रहेका छन्।

उनको यो सहभागिता र आव्हानले नेपालीहरुमा आपसी भाइचारा, सद्भाव र सह्रृदयताको भावना सञ्चार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

यस्तो छ राजेश हमालको आह्वान:

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्