दुबईबाट आएकी २२ वर्षीया युवतीमा कोरोना ‘पोजिटीभ’

दुबईबाट आएर विराटनगरको क्वारेन्टाइनमा बस्दै आएकी एक युवतीमा कोरोनाभाइरस कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ।

विराटनगर महानगरपालिकाले ब्यवस्थापन गरेको एक क्वारेन्टाइनमा बस्दै आएकी २२ वर्षीया युवतीको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको हो।

संक्रमित युवती विराटनगर ७ निवासी हुन्। महानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख रमेश कार्कीका अनुसार असार ९ गते दुबईबाट आएकी युवतीको आइतबार थ्रोट स्वाब नमूना संकलन जनस्वास्थ्य महाशाखा प्रदेश १ मा परिक्षण गरिएको थियो।

महानगरले महिलाहरुको लागि अलग र छुट्टै क्वारेन्टाइनको ब्यवस्था गरेको छ । महानगरले संकास्पद र विदेशबाट आएकाहरुलाई राख्नका लागि विभिन्न ५ स्थानमा ब्यवस्थित क्वारेन्टाइनको निःशुल्क ब्यवस्था गरेको छ।

यद्धपी, त्यसबाहेक अलग बस्न चाहनेहरुको लागि निश्चित रकम राखेर महानगरले होटलमा क्वारेन्टाइन बनाएको छ । हाल महानगरका विभिन्न क्वारेन्टाइनमा २४ महिला र ६८ पुरुष गरि कुल ९२ जना रहेका छन्।

यससंगै महानगरपालिकामा ६ महिलासहित ४ पुरुष गरि कुल १० जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमा ३ महिला र १ पुरुष गरि ४ जना भने सफल उपचारपछि डिस्चार्ज भइसकेका छन्।

त्यसैगरि, ३ महिला र ३ पुरुष गरि ६ जना कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत रहेको महाशाखा प्रमुख कार्कीले बताए।

महानगरपालिकाले हालसम्म १ हजार ८० जना संकास्पदको नमूना संकलन गरिसकेको छ। जसमा १ हजार २४ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको महानगरले ४६ वटा पीसीआर रिर्पोट आउन बाँकी रहेको उल्लेख गरेको छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्