रिहाइपछि माला पहिरिएर अदालतबाट निस्किएका विप्लवका दाजु गेटबाटै पक्राउ परे

दाङ- विप्लव नेतृत्वको नेकपामा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज ५९ वर्षीय चन्द्रबहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय दाङले पुनः पक्राउ गरेको छ ।

संगठित अपराधसम्वन्धि मुद्दामा जिल्ला अदालतबाट १५ हजार धरौटीमा हिरासतमुक्त हुनु भएका चन्दलाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै पक्राउ गरी लगेको हो ।

उनलाई संगठित अपराधकै मुद्दा दोहोर्‍याएर पक्राउ गरी काभ्रे जिल्ला लगिएको छ ।

यसअघि राप्ती व्यूरोस्तरीय बैठक बसीरहेको बेला दाङको राजपुर गाउँपालिका–४ मंग्रैठा जंगलबाट ०७६ असोज ३० गते चन्दसहित २१ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले ०७६ पुस ४ गते संगठित अपराधलगायतका मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०७६ पुस ७ गते जनही १५ हजारका दरले धरौटीमा छोड्न आदेश दिएको थियो । पुनः पक्राउ गर्न थालेपछि चन्द्रबहादुर चन्दले धरौटी नबुझाई अहिलेसम्म तुलसीपुर कारागार बसेका थिए ।

परिवारजनले सोमबार जिल्ला अदालतमा १५ हजार धरौटी बुझाएपछि जिल्ला अदालतले छोडेका चन्दलाई प्रहरीले पुनः पक्राउ गरी काभ्रे लगेको हो । उनी संग गत असोज ३० गते पक्राउ परेका अन्य ३० जना अदालतको आदेशमा देशका विभिन्न अदालतबाट रिहा भइसकेका छन ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू