युवकमाथि ‘जबर्जस्ती’को झुठो आरोप लगाउने युवतीलाई एक महिना कैद, ६३ हजार जरिवाना

चितवन जिल्ला अदालत

काठमाडौँ– करणी उद्योग मुद्दामा होस्टाइल भएपछि एक युवतीलाई चितवन जिल्ला अदालतले सजाय सुनाएको छ।

आफूमाथि करणी उद्योग (प्रयास) भएको भन्दै प्रहरी समक्ष झुठा किटानी जाहेरी दिएको र पछि अदालत समक्ष आफूमाथि कुनै अपराधजन्य कार्य नभएको भन्दै बकपत्र गरेपछि प्रतिवादीलाई सफाइ दिँदै जाहेरवाली युवतीलाई सजाय तोकेको हो।

न्यायाधीश हेमन्त रावलको एकल इजलासले युवतीलाई एक महिना कैद र ६३ हजार रुपैयाँ क्षतिपूर्ति प्रतिवादी विवेक पंगेनीलाई भराइ दिन आदेश दिएको छ।

जहेरवाली परिवर्तित नाम ‘३५ भरतपुर ३३’ भएकी कक्षा १२ पढ्ने वर्ष १९ कि युवतीले निर्दोष व्यक्तिलाई अनाहकमा अभियोग लगाई शारिरीक, मानासिक कष्ट दिइ सामाजिक प्रतिष्ठामा समेत आँच आउने कार्य गरेको फैसलामा उल्लेख छ।

युवतीको गतल कार्यका कारण सरकारी स्रोत साधनको अपव्यय भएको र फौजदारी न्याय प्रणालीप्रति नै आम नागरिकको विश्वास घट्ने कार्य गरेकाले युवतीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) (क) र (ख) बमोजिम एक महिना कैद र क्षतिपूर्ति तिराउनु परेको ठहर गरेको छ।

अदालतको फैसलामा उल्लेख गरिएको छ, ‘अतः प्रभाव र परिणामको विचारै नगरी जबर जस्ती करणीको उद्योग जस्तो व्यक्तिको चरित्र र व्यक्तित्वमाथि गम्भीर असर पर्ने प्रकृतिको झुठो आरोप लगाई झुठो जाहेरी दिने र अदालतमा आइ त्यस प्रतिकुलको बकपत्र गर्ने जाहेरवालाको झुठो जाहेरीले फौजदारी न्याय प्रणालीको दुरुपयोग भएको अवस्था र यसले न्याय व्यवस्थामा पारेको प्रतिकुल प्रभावले निर्दोष व्यक्तिले अनाहकमा दुख पाएको अवस्था र झुठो जाहेरीका कारण अनुसन्धान र अभियोजनका क्रममा सरकारी स्रोत, साधन, समयको अपव्यय हुनुका साथै न्याय प्रणालीप्रति नागरिकको भरोसा र विश्वासमा समेत प्रतिकूल असर पुगेको देखिने अवस्था हुँदा।’

अदालतले युवतीको जाहेरीका कारण युवक २०७६ मंसिर २ गतेदेखि २१० दिन नगरेको नबिराएको कसुरमा थुनामा बस्नु परेकाले प्रति दिन ३०० सयका दरले हुन आउने ६३ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

‘निजले दिएको सोही जाहेरीको आधारमा पक्राउ परेका प्रतिवादी विवेक पंगेनी हालसम्म जाहेरवालाकै भनाइ बमोजिम नगरेको नबिराएको भनिएको कसुर अपराधमा निजले कारागारमा रहनु परेको अवस्था र सो अवस्थाले निजको सामाजिक प्रतिष्ठामा पुग्न गएको क्षति निजलाई पर्न गएको मानसिक तनाव र असर समेतका दृष्टिले जाहेरजवाले दिएको झुठो जाहेरीलाई जाहेरीको उल्लेखित परिणाम समेतका कारणले सहज र सामान्य मान्न सकिएन, फैसलामा लेखिएको छ।

भएको के हो?

पोखरा घर भएका विवेक पंगेनी २०७६ कात्तिक २४ गते देखि सौराहाको नमुना भिलेज रिसोर्टमा कोठा लिई बसेका थिए।

२१ वर्षे पंगेनीले कात्तिक २७ गते सुरुमा फेसबुकबाट चिनजान भएको र भेटघाट हुँदै आएकी युवती ‘३५ भरतपुर ३३’ लाई पुन भेटघाटका लागि बोलाए।

उनले बोलाएपछि जाहेरवाली युवती आफ्ना दुई साथीहरु अनिशा र अन्जनासहित आएका आएकी थिइन्। उनीहरु सबै जना विवेककै गाडीमा नमुना रिसोर्टसम्म पुगे। ननिशा र अन्जना त्यही दिन फर्के पनि युवती भने २७ गते राति विवेकसँगे रिसोर्टमा बसिन्। उनीहरु भोलिपल्ट बिहानाको खाना खाएर त्यहाँबाट छुटे।

नमुना रिसोर्टको एउटै कोठामा राति सँगै खानपिन गरेर सुते पनि जरबजस्ती करणी नभएको युवकले प्रहरी र अदालतमा बयान दिएका छन् भने युवतीले अदालतमा बकपत्र गर्दा मात्र उक्त कुरा उल्लेख गरेकी छिन्।

दुवै जनाले त्यो रात एउटै कोठामा बसे पनि फरक फरक पलङमा सुतेको उल्लेख गरेका छन्।

त्यसको केही दिन लगत्तैपछि युवतीले विवेकले आफूलाई होटलमा लगी करणी प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। उक्त जाहेरीका आधारमा विवेकलाई मंसिर २ गते पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्दा चलाइएको थियो।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू