प्रदेश-२मा १५ प्रतिशत धान रोपाइँ, बजारमा मलको अभाव

जनकपुरधाम-नेपाल कृषि प्रधान देश भनेर चिनिन्छ र नेपालको अर्थतन्त्रको मुख्य आधार पनि यही हो। तर पछिल्लो समय नेपाल कृषि जन्य सामग्रीमा समेत अन्य देशमा निर्भर भएको छ। तर यस पटक भने नेपालको अर्थ तन्त्र थला परेको समयमा धान उत्पादनले अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

यस वर्ष धानको खेती गर्ने योग्य मौसम समेत रहेकोले यस वर्ष पछिल्लो वर्षको तुलनामा धानको उत्पादनमा समेत बढोतरी हुने अनुमान गरिएको छ। नेपालमा उत्पादन हुने खाद्यान्यमा सबैभन्दा बढी योग्दान प्रदेश २ कै रहदै आएको छ।

नेपालमा हुने कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन प्रदेश दुईमा नै हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक रहेको छ। पछिल्लो वर्ष प्रदेश दुईमा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पान भएको थियो।

देशभर आज राष्ट्रिय धान दिवस मनाई रहँदा प्रदेश दुईमा अहिलेसम्म १५.४ प्रतिशत धान रोपाई भएको प्रदेश दुईको भूमि व्यवस्था कृषि तथा ससहकारी मन्त्रालयले जनाएको छ।

प्रदेश २ मा ४ लाख १ हजार ९ सय ६ हेक्टर खेती योग्य जग्गा रहेकोमध्ये अहिलेसम्म प्रदेश दुईमा ६१ हजार ९ सय २० हेक्टर जग्गामा धान रोपाई भएको प्रदेश दुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकार अविनाश झालले जानकारी दिए।

मन्त्रालयका अनुसार प्रदेश दुईमा अहिलेसम्म सबै भन्दा बढी पर्सा जिल्लामा धान रोपाई भएको छ। पर्सामा कुल ४६ हजार ६ सय ९७ हेक्टर जग्गामध्ये १३ हजार ८ सय हेक्टर जग्गामा धान रोपाई भएको छ। यो कुल खेती योग्य जग्गाको २९.६ प्रतिशत हो।

त्यस्तै सप्तरी जिल्लामा १३.४ प्रतिशत धान रोपाई भएको छ। सप्तरीमा कुल ५२ हजार २ सय ४१ हेक्टर जग्गा मध्ये ७ हजार हेक्टरमा धान रोपाई भएको सूचना अधिकारी झाले जानकारी दिए।

सिरहामा कुल ५० हजार १ सय ९७ हेक्टर खेती योग्य जग्गामा मध्ये ५ हजार मा अर्थात ८.५ प्रतिशत, धनुषामा कुल ६३ हजार १ सय १२ हेक्टर जग्गामध्ये ५ हजार ४ सय हेक्टर अर्थात ८.५ प्रतिशत, महोत्तरीमा कुल ४० हजार १ सय २४ हेक्टर जग्गा मध्ये ५ हजार ६ सय २० हेक्टर अर्थात१४ प्रतिशत धान रोपाई रहेकोे मन्त्रालयले जनाएको छ।

सर्लाही जिल्लामा कुल ४८ हजार ७ सय ६९ हेक्टर जग्गामध्ये ७ हजार २ सय अर्थात १४.७ प्रतिशत, रौतहटमा कुल ३९ हजार ५ सय १९ हेक्टर जग्गा मध्ये ७ हजार ७ सय अर्थात १९.५ प्रतिशत र बारा जिल्लामा कुल ६१ हजार २ सय ४७ हेक्टर जग्गा मध्ये ११ हजार २ सय अर्थात १८.३ प्रतिशत धान रोपाई भएको मन्त्रालयले जनाएको छ।

मौसम अनुकुल भएपनि मलको अभाव

यस वर्ष समयमै पानी परेकोले किसानको खुसीको ठिकाना छैन्। मौसम खेती योग्य रहेकोले यस कोरोना समयमा धानको राम्रै उत्पादन हुनेमा किसानहरु आशावादी छन् । तर मौसम किसानको पक्षमा भएपनि सबैकुरा किसानको अनुकुल छैन्। धान रोप्ने समय खेतमा दिइने मलको अभाव रहेको छ।

प्रदेश दुईमा सिंचाईको अभाव रहेको समयमा जसो तसो धान रोपाई गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित बनाएको छ।

नगराईन नगरपालिका वडा नम्बर ५ मा बसोबास गर्दै आएका चन्दर महराले यस वर्ष मौसम राम्रो भएपनि मलको अभाव भएको बताए।
उनले भने, ‘प्रत्येक वर्ष झै यस वर्ष पनि मल पाइरहेको छैन् । मल भेटे पनि महगोमा भेटछ । प्रत्येक वर्ष कृषि सामग्री कम्पनि लिमिटेड धनुषामा जाँदा मल नपाएर रित्तै हात फर्किन्छौँ, यस पटक पनि त्यसो नहोला भन्‍न सकिन्‍न।’

खेतमा धान रोपेलगत्तै डीएपी मल आवश्यक पर्छ तर प्रत्येक वर्ष ‘डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेका छौँ तर प्रत्येक वर्ष रित्तै हात फर्किनु परेको’ अर्का किसान उपेन्द्र साहले भने।

त्यस्तै महोत्तरीको गौशाला नगरपालिका वडा नं. २ का किसान रामबाबु महतोले अन्य वर्षमा नेपाल भारतको सिमा खुल्ला रहेकोले त्यहाँबाट पनि मल ल्याएपनि यस वर्ष बन्द सिमाको कारण मल नै नपाएको बताए।

उनले भने, ‘म यस क्षेत्रमा रहेको हरेक मलको पसलमा गए तर कुनै ठाउँमा मल नै छैन् अब के गर्ने ?’ खेती पनि गर्नु छ र मल पनि समयमा भेटदैन्। यसमा सरकारले पनि कुनै चासो नलिएको उनको गुनासो छ।

मल खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गर्दै आएको छ। आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरु सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको किसानहरुको गुनासो छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू