इयुले तयार पार्‍यो यात्रा स्वीकृतिका लागि १४ सुरक्षित देशको सूचि, अमेरिका, ब्राजिल र चीन अटाएनन्

युरोपियन युनियन भित्रका देशमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रु (इयु बाहेकका देश) माथिको प्रतिबन्ध जुलाई १ देखि फुकुवा हुँदैछ ।

इयुले यात्राका लागि स्वीकृति पाउने १४ ‘सुरक्षित’ देशको सूचि सार्वजनिक गरेको छ । महामारी विश्वका विभिन्न क्षेत्रमा अहिले पनि तीव्र गतिमा फैलिरहेको छ । युरोपमै पनि अवस्था नियन्त्रणमा आइसकेको छैन, तर संक्रमण नियन्त्रणमा आउने क्रममा भने देखिएको छ ।

इयुले यात्राका लागि ‘सुरक्षित’ भनि तय गरेका १४ देशको सूचिमा महामारीबाट सबैभन्दा बढी प्रभावित भएका अमेरिका, ब्राजिल र महामारीको उद्गमथलो चीन भने छैनन् ।

१४ देशको सूचिमा अस्ट्रेलिया, क्यानडा, जापान, मोरक्को र दक्षिण कोरिया भने अटाएका छन्।

इयुका अधिकारीहरुले जुलाईमा यात्रा खुला गर्दा भ्रमणका लागि स्वीकृति दिइने ‘सुरक्षित’ देशहरुको अन्तिम सूचि सोमबारको बैठकबाट तय गरेका हुन् ।

यात्राको स्वीकृति पाउने देशको सूचिमा चीनलाई पनि राख्न इयु तयार थियो, तर त्यसका लागि युरोपेली यात्रुलाई पनि चीन भ्रमणको स्वीकृति दिइनु पर्ने शर्तमा चीन सहमत भएन । सोही कारण चीन १४ देशको सूचिमा अटाएन ।

इयु भित्रका यात्रुका लागि यसअघि नै सीमा खुला गरिएको थियो । बेलायतका नागरिकलाई पनि आउँदो डिसेम्बर ३१ सम्म इयुका नागरिकसरह व्यवहार हुने छ ।

युरोप भ्रमणका लागि सुरक्षित देशको सूचिमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख भन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या २५ लाख ८६ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख २६ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

विश्वभर एक करोड दुई लाख ६८ हजार भन्दा बढीमा संक्रमण भएको छ । विश्वभर ज्यान गुमाउनेको संख्या पाँच लाख चार हजार भन्दा धेरै पुगेको छ ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्