‘ऋण थपियो, निन्द्रा लागेन’ भन्दै ट्याक्सी व्यवसायीको प्रदर्शन

काठमाडौँ – भाडाका ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै ट्याक्सी व्यवसायीहरुले आन्दोलन थालेका छन्।

मंगलबार बिहानदेखि बानेश्वरस्थित यातायता व्यवस्था विभाग अगाडि प्लेकार्डसहित व्यवसायीले प्रर्दशन गरेका हुन्।

लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल भएको र मासिक किस्ता बुझाउन नसकिएकाले अब ट्याक्सी चलाउनु पाउनुपर्ने माग व्यवसायीहरुले गरेका हुन्।

ट्याक्सी व्यवसायी विशाल लामाले लकडाउन अवधिभरको किस्ता ६ महिनापछिका लागि सार्नुपर्ने माग आफूहरुको रहेको बताए।

निजी सवारी साधन चल्न दिएको अवस्थामा ट्याक्सीलाई रोक्नु अन्यायपूर्ण भएको व्यवसायीको भनाई छ।

उनीहरुले ‘ऋण थपियो, निन्द्रा लागेन’,  ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, ‘घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’ भन्ने नारा लगाएका छन्।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्